कोभिड १९ ले देखाएको धरातल ।

कोभिड १९ ले देखाएको हाम्रो धरातल ।

समयले जेष्ठ महिना २०७७ मा टेकेको छ । एउटा सुक्ष्म भाइरसले विस्वलाई जिस्काइरहेको छ । कतै तड्पाइरहेको छ  । कतै आजित बनाएको छ ।  कतै भने  छोड्ने क्रममा छ ।   कोभिड १९ नामक त्यो भाइरस विश्व भ्रमणमा निस्किँएर  नेपालमा पनि प्रवेश गरेको पनि ३ महिना बितिसकेको  छ ।  मान्छेहरुको आवतजावत कम देखिन्छ  बाटोमा । लकडाउन भन्ने गरेका छन् जतासुकै भाइरसबाट बच्नलाई । गाडी चलेका छैनन् । हवाइ  सेवा पनि बन्द छन् ।  हतास देखिन्छन् प्रशासनिक निकायहरु ।  त्रसित देखिन्छन् आम मानिसहरु । लड्दै छन् स्वास्थ्यकर्मी । चुनौतीपुर्ण अवस्था छ सम्पुर्ण विश्वलाई ।

स्वास्थ्यकर्मी पुरै तनावग्रस्त छन् । कतिलाई त भाइरसले  समातिसकेको पनि छ । कोहि अरुको लागि युद्ध गर्दै छन् । कोहि आफ्नै जीवन धान्नका लागि युद्ध गर्दै छन्  आइ सि युमा ।स्वास्थ्यको  विज्ञता  एकै दिनमा खोजेर पढेर सिकेर  ल्याउन सकिने कुरो भएन । जति स्वास्थ्यकर्मी  कार्यरत  छन् त्यो भन्दा रातारात बढी उत्पादन हुने कुरा पनि भएन  । सार्है अभाव खट्किएको छ स्वास्थ्यकर्मीको । हुन त विश्वभर नै अवस्था उस्तै छ । इटली स्पेनमा जस्तै अभाव छ । पहिले पहिले राष्ट्रले स्वास्थ्यकर्मिलाई माया गर्न कहिल्यै जानेन । पेशागत सुरक्षा आदिको कुरामा सधैं नाइनास्ती नै गरिरह्यो ।  माया गरेर राख्न कहिल्यै सकेन। त्यसैले त हो धेरै जना  पलायन भए । कति रहरले त  कति बाध्यताले । देशलाई माया गरे देशले माया गर्छ भन्ने कथन पुराणमा मात्रै रहेछ !

उपलब्ध साधन, श्रोत र ज्ञानले सकेसम्म  स्वास्थ्यकर्मी  अहिले लड्दै छन् भाइरससंग । तर अभाव छ सुरक्षा  सामग्रीको । अभाव छ हस्पिटलको । अभाव छ आइ सि यु ,भेन्टिलेटर आदिको । पहिले पनि अभाव नै थियो । बेड खाली नभएर निजि अस्पतालमा पठाउन पर्दाका हरेक एमर्जेन्सी द्युटी मेरा  स्मृतिमा ताजा नै छन् । मनमनै साइत परेनछ बिरामीको भनेर चित्त बुझाउन पर्यो  ।  दुई चार शब्द कोर्न र लेख्न बाहेक केही गर्न सकिन । त्यो हरेक दिन झेलेका अभावहरु  अहिले कोभिडले छर्लङ्ग पारेको न हो । सम्पुर्ण स्वास्थ्य प्रणाली इतिहासले  कहिल्यै नदेखेको नाङ्गो बनेको छ । कमजोर स्वास्थ्य ब्यबस्थापन र अपरिपक्व बिपत् ब्यबस्थापन सबैसामु उदाङ्ग बनेको छ । सरकारी अस्पताल बाहेक अरु अस्पताल पन्छिने रहेछन् बिपतमा ।  अरु बेला त निजि कलेज सम्बन्धन दिन होडबाजी नै थियो जस्तो लाग्छ हरेक सरकारलाई  ! रष्ट्रलाई समस्या पर्दा मुसो जस्तै दुलोमा पस्ने रहेछन् ।  धर्म नभएका निजि अस्पताल र नियन्त्रण गर्ने खुबी नभएको सरकार भएपछि कसको के लाग्थ्यो र  !  तर पनि   होस खुल्दैन कसैको । सरकारी  अस्पताललाई गाली गर्ने नै हुन् सबैले ।  बेलामौकामा त्यहाँका  समस्यालाई कसैले चासो लिएको भए पो समस्या समाधान हुन्थे । अस्पतालको उपचारात्मक सेवा सधैं कुपोषित नै थियो ।

स्वाथ्यकर्मिको अभाव छ । अस्पताल बेडको अभाव छ । औषधि सलाइन आदिको अभाव छ ।  बाटोमा सम्म उपचार गर्नुपर्ने बाध्यता छ ।  साधनहरुको अभाव छ । PPE को अभाव छ । खाना खाने सामग्रीको अभाव छ । एक शब्दमा भन्नुपर्दा "  अभाव " मात्र छ ।  अभाव नभएको त केवल सामाजिक सन्जालको प्रयोग होला ।

स्वास्थ्यकर्मी आफ्ना घर जान डराएको अवस्था छ । भाइरस घर पुग्ने हो कि भन्ने डर छ उनिहरुलाई ।  उनीहरुका घरमा सबै चिन्तित छन् । मुटु काप्ने गर्छ सधैँ परिवारजनको । एक किसिमले भन्नुपर्दा आँखाले  नदेखिने जीवाणुसंगको युद्धमा पठाइएको मानसिकता छ ।  कसैका श्रीमान , कसैका बाउ ,आमा कसैका छोरा ,छोरी । सबैको मनमा कोभिडको डढेलोको  पिरलो छ ।  अहिल्यै जागिर छोड्न भनी भावनात्मक ब्ल्याकमेल सबैलाई हरेक दिन हुने गर्छ । अग्रपंक्तिमा खटिनुपर्दा भरखरै डाक्टर हुन पुगेका जुझारु डाक्टर पनि आतिएका छन् ।  संसारको क्रूर स्वरुपबाट छिटो अवगत हुँदै छन् ।

घरमा बस्न भनेर लकडाउन गरेपनि अटेरी मान्छे हिँड्न छोडेनन्  । विदेशबाट स्वदेश फर्किनेहरु क्वारेन्टाइनमा बस्न हस्ताक्षर गरेपनि आफ्नो वचन तोडेर समाजमा भाइरस फैलाए । घरमा बस्न अल्छी लागेर बाहिर निस्किने साहासीहरुले भाइरसलाई लिएर घर पुगे। समाजमा सारे । घरमा पनि सारे। सुरक्षासामग्रीको अपुग हुनाले काम गर्ने स्वास्थ्यकर्मीबाट अरुलाई पनि नचाहँदा पनि सर्न पुग्यो । मान्छेहरु घरमा बस्दा बस्दै  आजित भएर लकडाउनको अवज्ञा गर्दै सरकारको बिरोध गर्न थाले। बाटोमा हिड्न थाले । तर के थाहा उनिहरुलाई ? सल्केको  आगोलाई रोकिएन भने  डढेलोको रुप लिन्छ भन्ने कुरा ।

सरकारले पनि लक्डाउनलाई फितलो छोड्यो  । त्यसैले त भाइरसले धेरै भन्दा धेरैको शरीरमा प्रबेश गर्ने मौका पाउँछ ।  कोभिड १९ र सामाजिक दूरि भनेको कुनै नेताको भाषण हैन । बैज्ञानिक सत्यतथ्य हो भन्ने कुरा पनि बुझ्न सकेनन् । एक पछि अर्को गर्दै भाइरस संक्रमितको संख्या जङ्गलमा आगो फैलिएजस्तै फैलियो । अन्त्यमा त्यो डढेलोले देशको  अर्थतन्त्र देखि स्वास्थ्य प्रणाली सबै तहसनहस बनाउन पुग्यो । दिर्घायु आर्थिक मन्दी कति समय हुने हो त्यो अनुमान छैन ।

हरेक दिन सन्क्रमितको संख्या गुणात्मक तरिकाले बढ्दै गएको छ  । मिनेट मिनेटको तथ्यांक बासी हुने गरेको छ । मृत्युु हुनेको संख्या पनि  दिनानुदिन उकालो लाग्दै छ । यो उकालो लागेको संख्याले सामाजिक र आर्थिक स्वास्थ्य  दुबै ओरालो लाग्दै गरेको छ ।  संक्रमणको ग्राफ ओरालो लाग्न नसकेर पुरै देश डिप्रेसनमा छ ।  अब त केवल आशा छ कुनै भ्याक्सिनको कि त प्रकृतिको नियन्त्रणको । समयमा सचेत नहुनाको परिणाम त हो । कर्म अनुसारको फल ।

मास्क पन्जा लगाएर बिरामी जाँच्नुस् र खाना पकाउन पनि PPE  माग्ने मानसिकता छ भनेर वक्तव्य दिने र  राता रात स्वास्थ्यविद हुन पुगेका  जिम्मेवार मानिएका ब्यक्ति  पनि  अहिले पुर्पुरोमा हात राख्दै पाछुताउँदै छन् । तर निकै ढिला भैसकेको छ । हाम्रा आवाजहरु सधैं बेवास्ता गरेका थिए । सधैं प्रशासनले दबाउन खोज्ने मानसिकता मात्रै देखियो । लागेको बानी कत्ति छुट्ने रहेनछ । मास्क खरिदमा पनि राम्रै भ्रास्टाचार गरेको खबर फैलिन्छ । त्यो कुरा सत्य हो भने त कसैले बचाउन सक्दैन । पशुपतिनाथ पनि आफ्नो हात झिक्नेछन् । इटली स्पेन अमेरिकाको अवस्था आउन सक्ने कुरामा दुबिधा हुनेछैन ।

यो सबै भबिस्यको नमिठो सपना मात्रै हो भन्ने आश गर्दै समयमा सबैले आफ्नो योगदान गरौं भन्ने आश छ । व्यापक टेस्ट गरौं । कन्ट्याक्ट त्रेसिङ गरौं । क्वारेन्टाइन बसेर जिम्मेवार नागरिक बनौं । स्वास्थ्य सन्देश पालना गरौँ ।  लकडाउनलाई मजबुत बनाउन सरकार  नडगमगाओस्।  यो युद्ध जित्न राष्ट्र  सफल हुनेछ ।
धन्यवाद ।

Comments

Post a Comment

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा