Desire for white coat

सेतो कोटको रहर ।  

सेतो कोट लगाउने रहरले बिरामीको सेवामा होम्मिएकी छन्  सबिता ।  उनलाई बिरामीको सेवा गर्न कत्ती दु:ख लाग्दैन ।  रहरले  भने पनि भाग्यले भने पनि स्वास्थ्य सेवाको युद्धक्षत्रमा होम्मिएकी सबितालाई अचेल कहिलेकाँही  कुन्ठा जाग्ने गरेको छ ।  नजागोस पनि किन। स्वास्थ्य सेवा हालको अवस्थामा युद्धक्षत्र भएको छ ।  जहाँ सेवा गरेर मेवा पाउने आशा दुर्लभ  भएको छ ।  बिना बन्दुकका योध्हा  भएर युद्ध  लड्नुपरेको छ ।  बिना बन्दुक त युद्धमा सिपाही जाँदैनन्  भने कमजोर सुरक्षा, न्यून प्रोत्साहन, अनुचित पारिश्रमिक र अत्याधिक श्रमको भार बोकाएर बिरामीको सेवामा खटाउने राज्यलाई ति सेता कोटले सालीन देखिने सबिता जस्ता कर्मशील नर्सहरुको कुण्ठित हृदयको सराप त अवस्य लाग्नुपर्छ ।  स्वास्थ्यको पेशा सदैब जोखिममा हुन्छ ।  त्यस्तै सबिता पनि सेतो कोट, मिठो बोली, धैर्यता र आफ्नो सीपले झिनो सुरक्षामा बिरामीको सेवामा तल्लिन छन् ।

ड्युटी त चक्रिय आधारमा बिहान दिउसो राती गर्दै बित्दै जान्छन् ।  अस्पताल बाहिरको दुनियाँलाई त नर्सिङ भनेको अस्पतालमा  सुइ लगाइदिने काम गर्छन् भन्ने लाग्छ ।  सुइ लगाउनु मात्रै  काम होला र ! ड्युटी बुझ्दा बखतमा सम्पूर्ण  भर्ना भएका बिरामीको अवस्था   परीक्षण र उपचारका योजना जान्नुपर्ने हुन्छ ।  औषधी पाएको नपाएको र परिवर्तन गरिएको अर्डर आदिको  हेक्का राख्नुपर्ने हुन्छ ।  सबै रिपोर्ट देखी औषधीको जोहो गर्ने काम हुन्छ । सम्पूर्ण  भर्ना र डिस्चार्ज भएका बिरामीको रेकर्ड राख्ने देखि त्यसलाई रिपोर्ट गर्ने सम्म काम हुन्छन्। ।  जे होस् कामको कमी भने पक्कै छैन भन्दा अतिसयोक्ती नहोला ।  ।  

आज किन हो धेरै भिड्भाड छ अस्पातल ।  शायद आइतबार परेर होला ।  र बन्द खुलेको भएर पनि होला। हुन सक्छ यातायातको सुबिधा गाउँ गाउँसम्म बाटो खोस्रिए लगत्तै पुगेर होला ।  जे होस् आईतवारले  होअोस् वा यतायातले होअोस्  ,ब्यस्त छिन् सबिता ।  यस्तैमा एउटा प्रसुती गराउन भनी महिला अाइपुग्छिन् ।  उनको चेकजाँच गरिसकेपछि रेकर्ड  कार्य पुन: सुरु गर्छिन्  ।  यस्तैमा औषधी दिने समय आउँछ  ।  वार्डमा बिरामी भरिभराउ छ ।  जम्मा जम्मी ३५ जना मात्र ।  ति महिलाको सकेसम्म छिटो प्रसुती  गराउनुपर्ने हुन्छ ।  किनभने स्वास्थ्यसंस्थाबाट २ घण्टा सम्म पनि पूरा   बाटो खुल्दा पनि बच्चा नजन्मिएको कारण प्रेषण    गरिएको रहेछ ।  फोन बिग्रेको पनि ४ दिन भइसकेछ ।  तत्पस्चात डाक्टरलाई   बोलाउन सहयोगी दिदीलाई पठाउँछिन् । डाक्टर आएर जाँचेर हेर्दा अपेरेसन गर्नुपर्ने निर्णय  गरी तयारी गर्न भन्छन्   ।  उता भर्ना भएका बिरामीलाई औषधी दिन लागेकी रिमालाई पनि बोलाउँछिन् ।  औषधी दिंदै गरेका बिरामीलाई छोडेर गएकोमा अल्ल्मल्ल पर्छ्न् बिरामी ।  

बिरामीको औषधी दिने समय १ घण्टाजतिले ढिलो हुन पुग्छ ।  शायद अलिकति अहम भरिएको थियो होला ।  त्यसैले एक घण्टा ढिलो भएकोमा आपत्ति जनाउछन बिरामीको कुरुवा ।  सिस्टरले ढिला गरेकोमा आपत्ति जनाउदै डाक्टरसँग गुनासो गर्छन् ।  डाक्टरले यमर्जेन्सी काम परेर ढिला भएको भनेर बुझाउन खोज्छन् ।  तर शायद चित्त बुझ्दैन होला तिनीलाइ ।  सबैलाई एउटा  नर्स र डाक्टर हरेक पल उपलब्ध हुनुपर्ने सोच ! ! तर बिडम्बनाको कुरा ।  दुई जना नर्स र ३० ३५ जना बिरामी यथार्थमा ।  बिरामीलाई भने आफ्नै कुरो बढी महत्वपूर्ण । सलामी  पानी झुन्ड्याएको बिरामी छ भने नशाबाट रगत सोस्यो भन्दै अाइपुग्छन ।  सकियो भन्दै अाइपुग्छन्  । औषधी के होला भनेर सोध्न आउने नै भए ।  डाक्टर बोलाइदिन भन्दै अाइपुग्छन्। सबैका आफ्नै समस्या ।  केन्द्रबिन्दु भनेको वार्डको स्टेसन ।  सेतो कोट लगाएर स्टेसनमा काम गर्न लाग्यो भने सूचना अधिकारीको काम गर्नु त पर्छ नै । फलानो बिरामी कता फलानो बेड कता ।  त्यसमा बिरामीको कुनै गल्ती छैन ।  उनिहरुलाई आफ्नै चिन्ता लागेको मात्र हो ।  नयाँ ठाउँका स्वाभाबिक लक्षण हुन् ।  जे होस् सूचना अधिकारी देखि सुइ लगाउने औषधी दिने सम्पूर्ण काममा निपुण छिन्  सबिता ।  नारी मस्तिस्क   एकै समयमा धेरै काम गर्न सक्ने क्षमता राख्दछ ।  त्यसैले होला अस्पतालका   वार्डमा  सुसज्जित तरिकाले बिरामीका फाइलहरु राखिएका हुन्छन् ।  मिलाएर राम्रो सँग राखिएका हुन्छन्  ।  त्यही मिलाएका फाइलहरु कसैले हेरेर भताभुंग  पार्दा झिँझो लाग्छ सबितालाई कहिलेकसो ।  

सेवामा संलग्न ओझेलमा परेका पात्रहरुको सानो कथा लेख्ने प्रयासमा शब्दहरु समेत मौन बसेका छन् ।  ईतिहास पनि मौन बसेको छ । शब्द कोर्दिनेको कमी भएको जस्तो लाग्छ मलाई ।  स्वास्थ्य सेवाको तुलना देशको सुरक्षा गरिरहेका आर्मिसँग मात्र गर्न सकिन्छ ।  सुङौली सन्धीपछि शायद आर्मिलाई खटिनुपरेको छैन युद्धमा ।  तर चीकित्सा क्षत्रको युद्ध मैदानमा पौरानीक कालका सुसेनदेखि आजसम्म कैयौँ चिकित्सासम्बन्धी योध्हाहरु खटिएका छन् । सुसेनलाई सुतेको खाट्सहित उठाएर लक्षमणको  उपचारको  लागि हनुमानले लगेका थिए ।  आजपनि हरेक समय कोही न कोही आफ्नो मिठो निद्राबाट उठेका छन् । कसैले न कसैले दसैं तिहारको टीका छोडेका छन् ।  कोही न कोही आफ्नो महत्वपूर्ण काम सारेका छन्  । कोही न कोही हरेक समय  नित्यकर्म पूरा गर्न नपाउँदै दौडेका छन्  ।  कोही न कोही मुखमा हाल्नै लागेको गास छोडेर बिरामी बचाउन दौडेका  छन् ।  कोही न कोही ड्युटिमा खटिएर साथीभाइसंगको रमाइलो त्यागेका छन्  ।  र त यो स्वास्थ्य सेवा टिकेको छ । तर यो पलपल चलिरहेको स्वास्थ्यसेवामा खटिएका ज्ञात अज्ञात ब्यक्तिहरुको बारेमा न सरकारले   चासो राख्छ न त जनताले । चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवालाई सेवाको साथै सुबिधा सहित फड्को मार्ने थियो होला ।  यहाँ त केबल कुर्सीमा बसेर स्वास्थ्य सेवा मुल्याङ्कन गर्नेको थिचोमिचो बड्दो छ। त्यसैले नैरास्यता छाएको छ ।  पलायन मनोबिज्ञान बड्दो  छ ।  बिडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन् ।  अचानाको पिडा खुकुरीले जानोस् पनि कसरी ! 

उही प्रतिनिधि पात्र 
सबिता 



Comments

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।