चिडियाको सकसको अन्त्य

चिडियाको सकसको अन्त्य 

आज सबै सकसको अन्त्य भयो ।  सबै पीडाको अन्त्य भयो ।  आफ्नै मनले सम्म धोका  दिएको संसारमा सबै दु:ख र पीडाको इती श्री  भयो ।  चिडियाको अमर तर अकथित  आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ ।  चिडियाको पार्थिब शरीरबाट दिक्क भएर ।   उर्जाबिहिन मन र तङ्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद ।  त्यसैले प्राणवायु खिचेर तानेर आँफैसँग लग्यो ।  र छुट्कारा पायो १२७ औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसनपस्चात ।  चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्साशास्त्रका सबै प्रयासहरु बिफल हुन पुगे ।  ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त्य भयो ।  यस्ता त समाजमा हजारौ पात्र होलान् ।  

सम्झना छ अझै मलाई ।   ४ महिना अगाडि एमर्जेन्सि ड्युटिमा  ” एउटा बेड छ ।  कसलाई लिएर जाम ।” भनेर भन्दै थिएँ ।  त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो  “ चिडियालाई लिएर जानुस् ।  “    एमर्जेन्सिमा आफ्नै होस् गुम्नेजस्तो भिड हुन्छ ।  एउटा कुनाको बेडमा टुसुक्क  बेडमा बसेकी एउटी अन्दाजी ३० बर्षकी  महिला ।  पूरानो मैलो पहिरन, जिर्ण  शरीर ,मलिन चेहरा ,गलेको स्वर ,थकित मन मात्रै      चिडियाका बर्णन गर्न सकिने बिशेषण शब्द होलान् ।  फुल्लेको अनुहारमा कान्ती पूरै उडेको र आशाको त्यान्द्रो मुस्किलले भेटिने त्यो चेहरामा समाजको एउटा पुरै कथा दबिएको  महसुस हुन्थ्यो । साथमा हेरचाह गर्ने चिडियाको श्रीमान भने मायालु देखिन्थे ।  त्यतिखेर पनि आँखा टल्पल थियो उनको र आज पनि उस्तै ।  

पाँचौ दिनमा बल्ल भाग्यले मिचिएको पालो आएको थियो चिडियाको । उनको भन्दिने मान्छे कोही थिएन नि त ! नफुटेको निरिह स्वर सुनिन  पाँच दिन लागेछ ।  न त उनी बोल्न सकिन् । न त उनका श्रीमान नै ।  कोट्सोट लगाएका भए कसैको  दृष्‍टिमा पर्थे  कि ! उनलाई त त्यही यमर्जेन्सी  नै भर्ना गर्ने ठाउँ लागेको रहेछ ।  ठुलो अस्पतालको  भिड मानेका रहेछन् ।  एउटै बेडमा दुई तीनजना   ।  सामाजिक सकस बोकेको सिंगो कथा लुकेको चिडियाजस्तैको लागि सबैले काम गर्नुपर्ने हैन र ।  म त केवल भर्ना मात्रै गर्न सक्थेँ ।  बाँकी बेड संख्याआदिको आयतन बिकास गर्नलाई मेरो हस्तक्षर निरिह थियो ।  आज पनि असमर्थ छ । पावर भएका हास्ताक्षर कुट्निति र राजनीतिमै सकृय छन् शायद । झिनामसिना मानिने हाम्रा ब्यथा कसले चासो दिने र ! 

उपचार त उनको चलेकै थियो । रोग न हो । कुनैले कलेजो समात्छ ।  कुनैले मस्तिस्क त कुनैले किड्नी आदि ।  चिडियाको  भने किड्नी  समातेछ ।  प्रोटिन नअडिने रोग लागेछ ।  पिसाबमा प्रोटिन  चुहिने रोग ।  औषधी उपचार नगरेको पनि हैन ।  औषधी खाँदा पनि बिसेक नभएकोले मन थाकेछ शायद ।  डाक्टरलाई त पिसाबको प्रोटिन जोखेर कम भएपछि ठीक हुँदै गरेको भन्ने लागेको हो ।  चिडियाले त्यो के बुझ्नु र। उनले त फुल्लेको शरीर र फुल्लेको मुख मात्रै बुझ्ने त हो ।  त्यसैले होला आफ्नो सुधार नहुने र खर्चिलो उपचार देखेर इहलीला समाप्त गर्ने प्रयास गरेकी ।  एसिडलाई पिउने आँट गरेर आफूलाई समाप्त गर्ने बिफल प्रयास गर्न पुगिन्  ।  आर्थिक बिपन्नताले निम्त्याएको मनको सकस चिडियाको शारिरिक सकसमा उत्रिन पुगेको थियो ।  आन्द्राको नली साँघुरो हुन पुगेछ ।  खाएको नअडिने  र बान्ता हुने भएर आएकी चिडिया सधैं मलिन र निन्याउरो देखिइन् ।  उपचार त बेसी समाजको अज्ञानता  अशिक्षा र बिपन्नताको हुनु जरुरी देखिन्छ ।  जुन अज्ञानताले चिडिया हेयकी पात्र हुन पुगिन् ।  जुन अशिक्षाले आत्मनिर्भर हुन सकिनन् ।  जुन बिपन्नताले मन कुँडिन पुग्यो ।  पूरानो  भइसकेको नयाँ नेपालमा अाउँदो भबिश्यमा चिडियाका जस्ता मलिन अनुहारहरु   उज्याला अनुहारले स्थान लियोस् ।  कामना बाहेक के गर्न सकिएला र ! 

पहिलो अप्रेसन नै कठिन ।  दोश्रो अप्रेसन उस्तै कठिन हुँदै गयो ।  थाकेको मनलाई चिकित्सकिय उपचारले उर्जा दिन सकेन। मरेको आशामा बाँच्ने प्रेरणा जगाउन सकिएन ।  जिर्ण शरीरले लड्न सकेन रोगसँग ।  उर्जाबिहिन मनले शरीर जिर्ण बनाउँदै लग्यो ।  बिस्तारै आशा मर्दै गयो ।  र इहलीला समाप्त भयो ।  यो सबै नमिठो श्रिँखलाको बिउ धेरै पहिले समाजमा रोपिएको हो ।  अशिक्षा अज्ञानता र बिपन्नताको बिउ ।  रोग कुनै अंगको मात्रै लाग्दैन  रहेछ ।  सँगसङै मनमा पनि लाग्ने रहेछ ।  मनमा उर्जा नभरी औषधीले मात्र काम गर्दैन ।  रोग परास्त पनि हुँदैन ।  समाजको पीडा र सकसको उपचार देशको उपचार पद्धतीको सहजता र सर्वसुलभतामा बढी निर्भर गर्छ । सथसाथै उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल र जाङरमा पनि ।  चिकित्सकलाई कुनाकाप्चामा धकलेर मात्रै  स्वास्थ्य गुणस्तर  सुनिस्चित हुँदैन भन्ने चेतना समयमै भए असन्तुष्टिको बिउ भबिश्यमा उम्रिएर झाङिने थिएन ।  आफूलाई त सधैं कुनै न कुनै रुपको चिडिया  हेर्ने  नियती नै छ ।  

( ओझेलको पात्रहरुको एउटा प्रतिनिधिपात्र ) 




Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा