चिकित्सा पेशामा किन कम हुनुपर्ने आकर्षण ?


चिकित्सक हुनभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ती हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकान्क्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मुल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ ।   जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो । 


त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विस्व जगतमा उठ्ने चिकित्सकिय पेशाका तमाम प्रश्नहरु फगत आलोचना र नकारात्मक चिन्तनबाट उब्जिएका विषयवस्तु हुन् जस्तो लाग्छ  । आफ्नो दैनिकीलाई प्रत्यक्ष प्रभावित नपार्ने घटनाहरुलाई चासो दिने गरिन्न । जस्तै कतै पुल भत्कियो भन्ने समाचारलाई कति महत्वका साथ लिने गरिन्छ भन्ने कुराले आफुलाई  प्रत्यक्ष असर पर्नुपर्यो वा साँच्चै चिन्तित स्वभावको व्यक्ति हुन पर्छ । त्यस्तै चिकित्सकिय विषय पढ्ने ध्याउन्न भएको ठिटा ठिटिले चिकित्सकमाथी हुने दुर्वव्यवहार , न्यून पारिश्रमिक आदि कुरा फगत झुटा हुन् भन्ने लाग्छ ।  

अभिभावकले पनि त्यो यथार्थ बुझ्न १२ वर्ष लाग्छ जब आफ्नो सन्तान सबैका निम्ति वरिष्ठ चिकित्सक भएर काममा त हिड्छ ,तर आफै  घरमा भेट्न पाइन्न ।
यसरी नै बित्छ ६ वर्ष ।  पढेर सकिने बेला हुन्छ । सार्है ठूलो उपलब्धि गरेको महसुस हुन्छ । ६ वर्षको मिहिनेतले ठुलै फड्को मारिन्छ भनेर आशाको बिस्कुन मनमनै सुकाइरहेको बेला वास्तविक कार्यक्षेत्रको दर्शन हुन्छ । एकाएक छतबाट खसेजस्तै हुन्छ ।


सरकारी छात्रवृत्ति पाएर पढेका चिकित्सक दुई वर्षको बन्धन फुकाउन विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा छरिन्छन्। जहाँ कि त समयमा तलब प्राप्त हुन्न । वा कामको चापमा स्थानीयस्तरबाट पेलिएको महसुस हुन्छ । बेला बेला स्थानिय नेता, पत्रकार आदिले थर्काउने अप्ठेरोमा पार्ने कार्यको समचारले हतोत्साहित बनाउन थाल्छ । सुरक्षा सार्है फितलो भएको महसुस हुन्छ । पढ्ने बेला धेरै वास्ता नगरिएको बेलाबेला घट्ने चिकित्सक कुटपिटको घटना बल्ल स्वयं त्यो कार्यक्षेत्रमा कार्य गर्दा अनुभुति हुन्छ । आफुले नखाएको विषले पनि पोल्ने रहेछ । आफ्नो गल्ती नहुदा पनि सबै सामु निरीह हुनुपर्ने रहेछ । आत्मसम्मानमा कति चोट पुग्छ भन्ने कुरा परेपछी र देखेपछी बुझिन्छ ।  कानुन त हाम्रो लागि सुरक्षा दिन बनेकै रहेनछ । अब तलब र सुविधाको ठुलै आश हुन्छ नि पहिले । तर सरकारले दिने तलब त्यही मुस्किलले ५०,००० मात्रै हुन्छ । त्यो पनि नियमित हुन्न ।  पुनः झसङ्ग हुन्छ मन । दुई वर्षको बन्धन सकिएपछी के गर्ने होला भनेर मनमा खेल्न थाल्छ- एम डि गर्छु । त्यसपछी भइन्छ " settle " . तर जति अनुपातमा एम बि बि एस चिकित्सक निस्किने गर्छन् , त्यही अनुपातमा त स्नातकोत्तर तहको सिट हुँदैन । त्यसपछी मन बरालिन थाल्छ ।  दुई वर्ष नसकिदै नाम निस्कियो भने पनि पढ्न दिँदैन सरकारले । पढ्न दिएको खण्डमा त्यो चिकित्सक यहि बसिरहन बाध्य हुने थियो । बन्धन त पछि खापेर पनि त पूरा गर्न सकिन्थ्यो नि । तर सरकार मस्त छ नियम पालना गराउन । लचकता देखिँदैन ।  विचमा लोकसेवाको सिट पनि एकदम कम खुल्छ । त्यहाँ छिर्न पनि समस्या नै बन्छ । समय, साइत र भाग्यको भर । लोकसेवा खुलेछ भने बल्ल मिहिनेतको भर । त्यसमाथी लोकसेवाले पढाइको गतिमा कछुवागती बनाइदिन्छ । पढ्न नै पाइन्न निस्चित कार्यसमय पूरा नगरेसम्म । दुई वर्षसम्म  पढ्न दिन कानुनले रोक्छ।
छात्रवृत्तिमा पढेवापत दुई वर्ष बन्धन सेवाको बारेमा कुरा गर्दा त्यो लादिएको जस्तो प्रतीत हुन्छ । दुई वर्ष करार सेवा गरेपछि कतै प्रोत्साहन हुँदैन । दुर्गममा कार्य गरे बापत पढ्नको लागि सहुलियत वा प्रोत्साहन हुनेभएको भए यतै पढ्ने आकर्षण हुने थियो । दुर्गम अस्पतालमा कार्य गर्ने चिकित्सकलाई सुविधा पनि राम्रो, पढ्नको लागि प्रोत्साहन हुने भए चिकित्सकहरुको मन डुल्ने थिएन । न तलब न सुविधा न प्रोत्साहन । न सुरक्षा । एउटा सम्भावना बोकेको मेधावी चिकित्सक अझै के कुराले यहि ठाउँमा अडिरहने त ?
न सुरक्षा  न तलबभत्ता न शैक्षिक प्रगती । यो सबै बुझेको चिकित्सक एम बि बि एस सकिने बेलाबाटै बाहिर जाने तयारी गर्ने गर्छ । र अचेल यो सबै बुझ्ने चिकित्सक धेरै छन् । जसले आफुले पढ्ने बेलाबाटै मनमस्तिष्क बनाइसक्छन्।  जुन आजको दिनमा सबैभन्दा बुद्धिमानी निर्णय हो भनेर म स्वयंले भन्न सक्छु ।
अब सरकारको बन्धनमा नपरेका चिकित्सकको छुट्टै अनुभव हुन्छ । कुनै न कुनै अस्पतालमा काम त गर्नुपर्यो । प्राइभेट अस्पतालमा काम गर्दा भावनाले भरिएका चिकित्सक बिरामीले खर्च गरेको देखेर नै तर्सिन्छन् । अस्पतालको महङो रेट देखेर मन कता कता कुँडिएको हुन्छ । चित्त बुझ्दैन । काम नगरेर बेरोजगार पनि बस्न सकिन्न । प्राइभेट अस्पतालमा काम गर्दा पनि तलब उहि ४० -५० हजार देखेर नै मन आत्तिन्छ । काम धेरै तलब थोरै । चित्त बुझ्दो ठाउ खोज्ने हो भने जागिर पाउन नै मुस्किल हुन्छ ।  त्यसमाथि चिकित्सकमाथि अस्पताल प्रशासनले गर्ने शोषणले नै विक्षिप्त बनाइरहेको हुन्छ । कन्सल्टेन्ट चिकित्सकहरुको दयनीय अवस्था देखेर पनि यहाँ भविष्य छैन भनेर आँकलन गरिसकेका हुन्छन् । अमेरिका वेलायत अस्ट्रेलियातिरको सम्भावना खोज्नु जायज मान्न सकिन्छ ।
अब धेरै अटेरी चिकित्सकहरु केही देशभक्ती , केही मनले, केही परिवारआदिको कारणले यतै रहने गर्छन् । र जसोतसो एम डि / एम एस प्रवेश गर्छन् । प्रवेश गरेको तीन वर्ष फेरि पढ्दै बिरामी हेर्दै नै सकिन्छ । पुनः बजारमा आउँदा अवस्था सहज होला नि भनेर आश गरेको चिकित्सक जागिर खोज्दै भौँतारिन्छ । आफ्नै अस्पताल हुने, आफ्नो इष्टमित्रको अस्पताल हुने चिकित्सकले छिटै प्रवेश गर्न पाउँछ । अरुले आफ्नो स्थान सुरक्षित गर्न निकै हम्मे हम्मे पर्छ । उदाहरणको लागि आफ्नो सर्टिफिकेट बोकेर अस्पतालमा जागिर खोज्न जाने हो भने पहिले सेयर हाल्नुपर्यो भनेर कुरा आउँछ । अब बल्लबल्ल चिकित्सक बनेको व्यक्तिले कहाँबाट ५० लाखभन्दा माथिको सेयर हाल्न सक्छ । सरकारी छात्रवृत्तिमा पढेको चिकित्सक भने कुनै न कुनै अस्पतालमा पोस्टिङ त हुन्छ । तर पुनः तलब हेर्दा ५०-५२ हजार मात्रै देखेर झसङ्ग हुन्छ । एउटै सस्थाबाट त अलि मनले नमानेर क्लिनिकमा काम गर्न बाध्य हुन्छन् । तर क्लिनिकमा पनि बिरामीको संख्याले कमाइ हुन्छ । बिरामीले आफुलाई कसरी खोज्ने गराउन सकिन्छ भनेर बुझ्दै जाँदा अप्ठेरो रहेछ । पहिले नै प्राइभेटमा राम्रो कमाइरहेका चिकित्सकहरुको सधैं एकनास भिड हुन्छ भने भर्खर बजारमा प्रवेश गरेको चिकित्सकको दिन सडकमा बित्छ । क्लिनिक बाट क्लिनिक दौडिन बाध्य हुन्छ ।  मेडिकल कलेजमा कार्य गरिरहेका चिकित्सकहरु पनि समयमा तलब नपाएर पिडित नै हुने गर्छन् । त्यही पनि मेडिकल कलेजहरुमा सबै चिकित्सकहरू अटाउन सक्दैनन् । 
कसैले बिरामी नपठाएसम्म आफ्नो स्थान बजारमा बन्दै बन्दैन । ठाउँठाउँमा अफुलाई चिनाउन दौडिन पर्छ । सेवा भन्दै कति शनिवार यत्तिकै जान्छ । एक दिन त अवस्य दिन आउला । बिरामीहरुले पत्याउलान् । आयबृद्धी होला । यस्तो आश गर्दागर्दै केही वर्ष वित्छ । हाल सबै चिकित्सकको अवस्था यहि नै हो ।  सारासर यात्रा गर्न सकेको खन्डमा ६ वर्ष एम बि बि एस , दुई तीन वर्ष कार्य अनुभव , तीन वर्ष स्नातकोत्तर ( एम डि ) कम्तिमा १२ वर्ष पछि कार्यक्षेत्रमा प्रवेश गर्दा पहिलेको मिहिनेतभन्दा फरक मिहिनेत गर्नुपर्ने रहेछ । जुन कुनै करिकुलममा छैन। ठाउँ ठाउँ दौडिन पर्ने , क्याम्पआदि भन्दै सेवा भन्दै हिंड्न् पर्ने , कसैले बिरामी अफुलाई देखाउन भन्देला भन्दै सम्बन्ध गाँस्नुपर्ने । यो कस्तो अचम्मको मिहिनेत हो ? चिकित्सकीय पेशामा पनि बिरामीको संख्या गन्नुपर्ने , बिरामीलाई आफ्नो कमाइको एउटा श्रोत हो भनेर परोक्षरुपमा हेर्नुपर्ने । के यो पेशा व्यापार हो र ? सहज रुपमा सम्मानित तलब सुविधा, शैक्षिक प्रगतिको बाटो किन तय हुँदैन ? जसले बढी बिरामी हेर्छ उसले बढी कमाउने , जसले कम हेर्छ उसले कम कमाउने । यो कुराको अन्त्य नहुँदासम्म चिकित्सकिय पेशा शुद्ध हुँदैन । जसले बढी कमाउछन् उनिहरुसङ फुर्सद छैन । जीवन नै व्यस्त हुन्छ । स्वयमलाई हेर्ने समय हुन्न । जीवन निरस हुन्छ । जसले काम गर्ने अवसर पाउन्नन् उनीहरुमा सूक्ष्म तरिकाले  चिडचिडाहट भरिँदै जान्छ । र विकल्प खोज्न बाध्य हुन्छ ।   हुनुपर्ने चाहिँ जसले जति शैक्षिक योग्यता हासिल गरेको छ, उसले त्यही बराबरको सुविधा प्राप्त हुनुपर्ने ।पढ्छु र पढाउछु भन्नेलाई सोही अनुसार पेशागत विकास हुनुपर्ने । बिरामी हेर्छु र रमाउछु भन्नेलाई सोही अनुरुप कार्य क्षेत्र हुनुपर्ने । चाहे त्यो चिकित्सक सरकारी होस्  या गैर सरकारी ।  अनि बल्ल चिकित्सकहरू पुस्तक पल्टाएर बिरामी हेर्नको लागि फुर्सद पाउनेछन् ।

एम डि गरेर पनि नपुगेर अझै पढ्न पर्छ भनेर पढ्न हिंड्न् खोज्दा आफ्नै उमेर ३० माथी कटिसकेको हुन्छ । आधा उमेर सकिने बेलामा पनि घरको जिम्मेवारी बोक्न सक्ने ल्याकत बनिसकेको हुन्न । यति लामो यात्रा देखेर विदेशको यात्रा छोटो पर्छ भनेर जसले पनि आकलन गर्न सक्छ । यसरी कुरा गर्दा हरेक कुरा सुविधासग जोडेको जस्तो लाग्न सक्छ । तर सोही ज्ञान र सिपको लागि बाहिर देशमा उच्च मुल्यांकन गरिन्छ भने लालायित हुनु कसरी जायज ठहरिन्न र !! सबैभन्दा महत्वपूर्ण कुरा स्थिरता र पेशागत विकास हो । यहाँ त एकपटक कुनै कोप्चामा काम गर्न पुगियो भने केही समयमा स्वत : सरुवा हुनुपर्नेमा विभाग धाउनुपर्छ । चिनेको नेता व्यक्ती कर्मचारी खोज्दै डुल्नुपर्छ । न पैतृक सम्पत्ती न राजनैतिक पहुँच । त्यस्ता चिकित्सक त रुमल्लिनुकोविकल्प नै हुँदैन । संघीयता लागू भए पश्चात् स्थानिय तहमा ४० जना जति विशेषज्ञ  चिकित्सक हेल्थपोस्ट सरह सस्थामा काम गर्न बाध्य छन् । किनभने समायोजनको नियमले त्यहाँबाट उम्किन दिन्न । आफ्नो क्षमताअनुसार काम गर्न नपाएपछि दिक्दारी बढ्नु स्वभाविक हो । २ किलोमिटर पर भएको जिल्ला अस्पतालमा काम गर्न दिन पनि नियमले रोक्छ । एउटा प्रशासनको कर्मचारीले आफ्नो कार्य गर्दा आफ्नो पोस्ट वा तह अनुसार कार्य गर्छ । तर एउटा चिकित्सक पढ्दै जादा सीप विकास हुन्छ । र विषेशज्ञको दृष्टिकोणबाट बिरामीलाई केलाउन सक्छ । तर त्यो स्थानीय तहमा अड्केका कति चिकित्सकहरुको सीप र ज्ञान खिया लागिसक्यो । यहाँको सिस्टमबाट आजित भएर बाह्य्य भुमिको अवसर खोज्नु जायज नै हो ।
सरकारले केही गरेन त भनेर विश्लेषण गर्दा सरकार निकै जनप्रेमी छ । स्वास्थ्य क्षेत्रको सेवाको  हकमा निकै फड्को मारेको छ । कति धेरै सुविधा दिएको छ । स्वास्थ्य विमा देखि भ्याक्सिन्सम्म , क्षयरोगको औषधि देखि कालाजारको औषधि, डायलाइसिस देखि मुटुको अपरेसन, पक्षघात देखि प्रसुतिसम्म आदि रोगहरुमा जनता धेरै नै लाभान्वित छन् । निशुल्क गरिएको छ । तर सरकारले कहिल्यै केही नगरेको र उपेक्षित गरेको भनेको चिकित्सकलाई नै हो । चिकित्सकलाई आफ्नो पेशा शुद्ध गरेर सुदृढीकरण गर्नको लागि  आधारभुत आवस्यकताहरुमा कहिल्यै चासो दिँदैन । चिकित्सकलाई कहाँ नै फुर्सद हुन्छ र व्यापारीहरु जस्तो मोलतोल गरेर बस्न ।


 आधारभुत आवस्यकतामा पेशागत सुरक्षा , भौतिक सुरक्षा , आर्थिक सुरक्षा, जिवनयापनका कुराहरुमा विशेष सुविधाहरु त हुन् । प्रगती गर्न सबैले खोज्छन्। कुनै एउटा स्थानमा अडाउन मन स्थिर हुनुपर्छ । पढाइको सङ्घर्षपछी पनि कल्पित जोवन  बाँच्नलाई सङ्घर्ष गर्नुपर्ने हो भने कहिलेसम्म माटोको माया भन्दै बस्ने भनेर प्रश्न अवस्य उठ्छ।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा