चिकित्सा पेशाको कुन्डली । भाग्य वा मिहिनेत वा सक्षमता ?

चिकित्सा पेशाको कुन्डली । भाग्य वा मिहिनेत वा सक्षमता ?

चिकित्सक हुनभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ति हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकांक्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मुल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ ।   जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो । 


त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विस्व जगतमा उठ्ने चिकित्सकिय पेशाका तमाम प्रश्नहरु फगत आलोचना र नकारात्मक चिन्तनबाट उब्जिएका विषयवस्तु हुन् जस्तो लाग्छ  । आफ्नो दैनिकीलाई प्रत्यक्ष प्रभावित नपार्ने घटनाहरुलाई चासो दिने गरिन्न । जस्तै कतै पुल भत्कियो भन्ने समाचारलाई कति महत्वका साथ लिने गरिन्छ भन्ने कुराले आफुलाई  प्रत्यक्ष असर पर्नुपर्यो वा साँच्चै चिन्तित स्वभावको व्यक्ति हुन पर्छ । त्यस्तै चिकित्सकिय विषय पढ्ने ध्याउन्न भएको ठिटा ठिटिले चिकित्सकमाथी हुने दुर्वव्यवहार , न्यून पारिश्रमिक आदि कुरा फगत झुटा हुन् भन्ने लाग्छ ।  

अभिभावकले पनि त्यो यथार्थ बुझ्न १२ वर्ष लाग्छ जब आफ्नो सन्तान सबैका निम्ति वरिष्ठ चिकित्सक भएर काममा त हिड्छ ,तर आफै  घरमा भेट्न पाइन्न ।
यसरी नै बित्छ ६ वर्ष ।  पढेर सकिने बेला हुन्छ । सार्है ठूलो उपलब्धि गरेको महसुस हुन्छ । ६ वर्षको मिहिनेतले ठुलै फड्को मारिन्छ भनेर आशाको बिस्कुन मनमनै सुकाइरहेको बेला वास्तविक कार्यक्षेत्रको दर्शन हुन्छ । एकाएक छतबाट खसेजस्तै हुन्छ ।


सरकारी छात्रवृत्ति पाएर पढेका चिकित्सक दुई वर्षको बन्धन फुकाउन विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा छरिन्छन्। जहाँ कि त समयमा तलब प्राप्त हुन्न । वा कामको चापमा स्थानीयस्तरबाट पेलिएको महसुस हुन्छ । बेला बेला स्थानिय नेता, पत्रकार आदिले थर्काउने अप्ठेरोमा पार्ने कार्यको समचारले हतोत्साहित बनाउन थाल्छ । सुरक्षा सार्है फितलो भएको महसुस हुन्छ । पढ्ने बेला धेरै वास्ता नगरिएको बेलाबेला घट्ने चिकित्सक कुटपिटको घटना बल्ल स्वयं त्यो कार्यक्षेत्रमा कार्य गर्दा अनुभुति हुन्छ ।

आफूले नखाएको विषले पनि पोल्ने रहेछ । आफ्नो गल्ती नहुदा पनि सबै सामु निरीह हुनुपर्ने रहेछ । आत्मसम्मानमा कति चोट पुग्छ भन्ने कुरा परेपछि र देखेपछि बुझिन्छ ।  कानुन त हाम्रो लागि सुरक्षा दिन बनेकै रहेनछ । अब तलब र सुविधाको ठूलै आश हुन्छ नि पहिले । तर सरकारले दिने तलब त्यही मुस्किलले ५०,००० मात्रै हुन्छ । त्यो पनि नियमित हुन्न ।  पुनः झसङ्ग हुन्छ मन । दुई वर्षको बन्धन सकिएपछि के गर्ने होला भनेर मनमा खेल्न थाल्छ- एम डि गर्छु । त्यसपछि भइन्छ " settle " . तर जति अनुपातमा एम बि बि एस चिकित्सक निस्किने गर्छन् , त्यही अनुपातमा त स्नातकोत्तर तहको सिट हुँदैन । त्यसपछि मन बरालिन थाल्छ । 

दुई वर्ष नसकिँदै नाम निस्कियो भने पनि पढ्न दिँदैन सरकारले । पढ्न दिएको खण्डमा त्यो चिकित्सक यहिँ बसिरहन बाध्य हुने थियो । बन्धन त पछि खापेर पनि त पूरा गर्न सकिन्थ्यो नि । तर सरकार मस्त छ नियम पालना गराउन । लचकता देखिँदैन ।  विचमा लोकसेवाको सिट पनि एकदम कम खुल्छ । त्यहाँ नाम निकाल्न पनि समस्या नै बन्छ । समय, साइत र भाग्यको भर । लोकसेवा खुलेछ भने बल्ल मिहिनेतको भर । लोकसेवा खुल्नु भाग्य , नाम निस्किनु भाग्य र मिहिनेत ।  त्यसमाथी लोकसेवाले पढाइको गतिमा कछुवागती बनाइदिन्छ । पढ्न नै पाइन्न निस्चित कार्यसमय पूरा नगरेसम्म । दुई वर्षसम्म  पढ्न दिन कानुनले रोक्छ।

छात्रवृत्तिमा पढेवापत दुई वर्ष बन्धन सेवाको बारेमा कुरा गर्दा त्यो लादिएको जस्तो प्रतीत हुन्छ । दुई वर्ष करार सेवा गरेपछि कतै प्रोत्साहन हुँदैन । दुर्गममा कार्य गरे बापत पढ्नको लागि सहुलियत वा प्रोत्साहन हुनेभएको भए यतै पढ्ने आकर्षण हुने थियो । दुर्गम अस्पतालमा कार्य गर्ने चिकित्सकलाई सुविधा पनि राम्रो, पढ्नको लागि प्रोत्साहन हुने भए चिकित्सकहरुको मन डुल्ने थिएन । न तलब न सुविधा न प्रोत्साहन । न सुरक्षा । एउटा सम्भावना बोकेको मेधावी चिकित्सक अझै के कुराले यहि ठाउँमा अडिरहने त ?

न सुरक्षा  न तलबभत्ता न शैक्षिक प्रगती । यो सबै बुझेको चिकित्सक एम बि बि एस सकिने बेलाबाटै बाहिर जाने तयारी गर्ने गर्छ । र अचेल यो सबै बुझ्ने चिकित्सक धेरै छन् । जसले आफुले पढ्ने बेलाबाटै मनमस्तिष्क बनाइसक्छन्।  जुन आजको दिनमा सबैभन्दा बुद्धिमानी निर्णय हो भनेर म स्वयंले भन्न सक्छु ।
अब सरकारको बन्धनमा नपरेका चिकित्सकको छुट्टै अनुभव हुन्छ । कुनै न कुनै अस्पतालमा काम त गर्नुपर्यो । प्राइभेट अस्पतालमा काम गर्दा भावनाले भरिएका चिकित्सक बिरामीले खर्च गरेको देखेर नै तर्सिन्छन् । अस्पतालको महङो रेट देखेर मन कता कता कुँडिएको हुन्छ । चित्त बुझ्दैन । काम नगरेर बेरोजगार पनि बस्न सकिन्न । प्राइभेट अस्पतालमा काम गर्दा पनि तलब उहि ४० -५० हजार देखेर नै मन आत्तिन्छ । काम धेरै तलब थोरै । चित्त बुझ्दो ठाउ खोज्ने हो भने जागिर पाउन नै मुस्किल हुन्छ ।  त्यसमाथि चिकित्सकमाथि अस्पताल प्रशासनले गर्ने शोषणले नै विक्षिप्त बनाइरहेको हुन्छ । कन्सल्टेन्ट चिकित्सकहरुको दयनीय अवस्था देखेर पनि यहाँ भविष्य छैन भनेर आँकलन गरिसकेका हुन्छन् । अमेरिका वेलायत अस्ट्रेलियातिरको सम्भावना खोज्नु जायज मान्न सकिन्छ ।

अब धेरै अटेरी चिकित्सकहरु केही देशभक्ती , केही मनले, केही परिवारआदिको कारणले यतै रहने गर्छन् । र जसोतसो एम डि / एम एस प्रवेश गर्छन् । प्रवेश गरेको तीन वर्ष फेरि पढ्दै बिरामी हेर्दै नै सकिन्छ । पुनः बजारमा आउँदा अवस्था सहज होला नि भनेर आश गरेको चिकित्सक जागिर खोज्दै भौँतारिन्छ । आफ्नै अस्पताल हुने, आफ्नो इष्टमित्रको अस्पताल हुने चिकित्सकले छिटै प्रवेश गर्न पाउँछ । अरुले आफ्नो स्थान सुरक्षित गर्न निकै हम्मे हम्मे पर्छ ।

उदाहरणको लागि आफ्नो सर्टिफिकेट बोकेर अस्पतालमा जागिर खोज्न जाने हो भने पहिले सेयर हाल्नुपर्यो भनेर कुरा आउँछ । अब बल्लबल्ल चिकित्सक बनेको व्यक्तिले कहाँबाट ५० लाखभन्दा माथिको सेयर हाल्न सक्छ । सरकारी छात्रवृत्तिमा पढेको चिकित्सक भने कुनै न कुनै अस्पतालमा पोस्टिङ त हुन्छ । तर पुनः तलब हेर्दा ५०-५२ हजार मात्रै देखेर झसङ्ग हुन्छ ।

एउटै सस्थाबाट त अलि मनले नमानेर क्लिनिकमा काम गर्न बाध्य हुन्छन् । तर क्लिनिकमा पनि बिरामीको संख्याले कमाइ हुन्छ । बिरामीले आफुलाई कसरी खोज्ने गराउन सकिन्छ भनेर बुझ्दै जाँदा अप्ठेरो रहेछ । पहिले नै प्राइभेटमा राम्रो कमाइरहेका चिकित्सकहरुको सधैं एकनास भिड हुन्छ भने भर्खर बजारमा प्रवेश गरेको चिकित्सकको दिन सडकमा बित्छ । क्लिनिक बाट क्लिनिक दौडिन बाध्य हुन्छ ।  मेडिकल कलेजमा कार्य गरिरहेका चिकित्सकहरु पनि समयमा तलब नपाएर पिडित नै हुने गर्छन् । त्यही पनि मेडिकल कलेजहरुमा सबै चिकित्सकहरू अटाउन सक्दैनन् । 

कसैले बिरामी नपठाएसम्म आफ्नो स्थान बजारमा बन्दै बन्दैन । ठाउँठाउँमा अफुलाई चिनाउन दौडिन पर्छ । सेवा भन्दै कति शनिवार र विदाका दिन यत्तिकै जान्छन्। एक दिन त अवस्य दिन आउला । बिरामीहरुले पत्याउलान् । आयबृद्धी होला । यस्तो आश गर्दागर्दै धेरै वर्ष वित्छन् । हाल सबै चिकित्सकको अवस्था यहि नै हो ।  सारासर यात्रा गर्न सकेको खन्डमा ६ वर्ष एम बि बि एस , दुई तीन वर्ष कार्य अनुभव , तीन वर्ष स्नातकोत्तर ( एम डि ) कम्तिमा १२ वर्ष पछि कार्यक्षेत्रमा प्रवेश गर्दा पहिलेको मिहिनेतभन्दा फरक मिहिनेत गर्नुपर्ने रहेछ । जुन कुनै करिकुलममा छैन। ठाउँ ठाउँ दौडिन पर्ने , क्याम्प आदि भन्दै हिंड्न् पर्ने । बजारमा म आएँ भन्दै झ्याली पिट्नुपर्ने ।  तर अन्त्यमा बिरामीको भाग्य अटो रिक्सा र एम्बुलेन्सको स्टियरिङमा निर्णय हुने !! यो कस्तो देश हो ? के अब स्टियरिङ आफुतिर घुमाउने दौडमा लाग्ने ? र  यो कस्तो अचम्मको मिहिनेत हो, प्रभु ?  भगवान पनि चकित पार्ने चर्तीकला गर्नुपर्ने !!

चिकित्सकीय पेशामा पनि बिरामीको संख्या गन्नुपर्ने , बिरामीलाई आफ्नो कमाइको एउटा श्रोत हो भनेर परोक्षरुपमा हेर्नुपर्ने । के यो पेशा व्यापार हो र ? सहज रुपमा सम्मानित न्यूनतम तलब सुविधा, शैक्षिक प्रगतिको बाटो किन तय हुँदैन ? जसले बढी बिरामी हेर्छ उसले बढी कमाउने , जसले कम हेर्छ उसले कम कमाउने । सबैलाई धेरै कमाउन मन हुँदैन । यो कुराको अन्त्य नहुँदासम्म चिकित्सकीय पेशा शुद्ध हुँदैन । जसले बढी कमाउँछन् उनीहरुसँग फुर्सद छैन । जीवन नै व्यस्त हुन्छ । स्वयमलाई हेर्ने समय हुन्न । जीवन निरस हुन्छ । जसले काम गर्ने अवसर पाउन्नन् उनीहरुमा सूक्ष्म तरिकाले  चिडचिडाहट भरिँदै जान्छ । र विकल्प खोज्न बाध्य हुन्छ ।  

हुनुपर्ने चाहिँ जसले जति शैक्षिक योग्यता हासिल गरेको छ, उसले त्यही बराबरको सुविधा प्राप्त हुनुपर्ने ।पढ्छु र पढाउँछु भन्नेलाई सोही अनुसार पेशागत विकास हुनुपर्ने । बिरामी हेर्छु र रमाउँछु भन्नेलाई सोही अनुरुप कार्य क्षेत्र हुनुपर्ने । चाहे त्यो चिकित्सक सरकारी होस्  या गैर सरकारी ।  अनि बल्ल चिकित्सकहरू पुस्तक पल्टाएर बिरामी हेर्नको लागि फुर्सद पाउनेछन् ।

एम डि गरेर पनि नपुगेर अझै डि एम के जाती पढ्न पर्छ भनेर पढ्न हिंड्न् खोज्दा आफ्नै उमेर ३० माथी कटिसकेको हुन्छ । त्यसपछि पनि उहि अचम्मको मिहिनेत गर्नुपर्छ । सवारीसाधनका स्टियरिङ घुमाउने  आफ्नो कार्यक्षेत्रतिर पार्ने, जतासुकै डुलेर भन्नपर्ने आदि आदि ।

आधा उमेर सकिने बेलामा पनि घरको जिम्मेवारी बोक्न सक्ने ल्याकत बनिसकेको हुन्न । यति लामो यात्रा देखेर विदेशको यात्रा छोटो पर्छ भनेर जसले पनि आकलन गर्न सक्छ । यसरी कुरा गर्दा हरेक कुरा सुविधासँग जोडेको जस्तो लाग्न सक्छ । तर सोही ज्ञान र सिपको लागि बाहिर देशमा उच्च मुल्यांकन गरिन्छ भने लालायित हुनु कसरी जायज ठहरिन्न र !!
चिकित्सक बाहेक सबैजनालाई लालायित हुन छुट छ यो देशमा । र छुट दिनुपर्छ । देशभक्ति र माटोभक्तिको पाठ सिकाउन हुन्न । अरुलाई नलाग्ने देशभक्ति के चिकित्सकलाई नै लाग्नुपर्ने हो ?

सबैभन्दा महत्वपूर्ण कुरा स्थिरता र पेशागत विकास हो । यहाँ त एकपटक कुनै कोप्चामा काम गर्न पुगियो भने केही समयमा स्वत : सरुवा हुनुपर्नेमा विभाग धाउनुपर्छ । चिनेको नेता व्यक्ति कर्मचारी खोज्दै डुल्नुपर्छ । न पैतृक सम्पत्ती न राजनैतिक पहुँच । त्यस्ता चिकित्सक त रुमल्लिनुकोविकल्प नै हुँदैन । संघीयता लागू भए पश्चात् स्थानीय तहमा धेरै जना जति विशेषज्ञ  चिकित्सक हेल्थपोस्ट सरह सस्थामा काम गर्न बाध्य छन् । किनभने समायोजनको नियमले त्यहाँबाट उम्किन दिन्न । आफ्नो क्षमताअनुसार काम गर्न नपाएपछि दिक्दारी बढ्नु स्वभाविक हो । २ किलोमिटर पर भएको जिल्ला अस्पतालमा काम गर्न दिन पनि नियमले रोक्छ । एउटा प्रशासनको कर्मचारीले आफ्नो कार्य गर्दा आफ्नो पोस्ट वा तह अनुसार कार्य गर्छ । तर एउटा चिकित्सक पढ्दै जाँदा सीप विकास हुन्छ । र विषेशज्ञको दृष्टिकोणबाट बिरामीलाई केलाउन सक्छ । तर त्यो स्थानीय तहमा अड्केका कति चिकित्सकहरुको सीप र ज्ञान खिया लागिसक्यो । यहाँको सिस्टमबाट आजित भएर बाह्य्य भूमीको अवसर खोज्नु जायज नै हो ।
केही समय यता सरकारले यसको समाधानका लागि केही कार्यविधि नियमहरु बनाएर सहज गर्दै छ । यो सुन्नलाई मात्रै  पनि ३ वर्ष बित्यो ।

सरकारले केही गरेन त भनेर विश्लेषण गर्दा सरकार निकै जनप्रेमी छ । स्वास्थ्य क्षेत्रको सेवाको  हकमा निकै फड्को मारेको छ । कति धेरै सुविधा दिएको छ । स्वास्थ्य विमा देखि भ्याक्सिन्सम्म , क्षयरोगको औषधि देखि कालाजारको औषधि, डायलाइसिस देखि मुटुको अपरेसन, पक्षघात देखि प्रसुतिसम्म आदि रोगहरुमा जनता धेरै नै लाभान्वित छन् । निशुल्क गरिएको छ । तर सरकारले कहिल्यै केही नगरेको र उपेक्षित गरेको भनेको चिकित्सकलाई नै हो । चिकित्सकलाई आफ्नो पेशा शुद्ध गरेर सुदृढीकरण गर्नको लागि  आधारभूत आवस्यकताहरुमा कहिल्यै चासो दिँदैन । चिकित्सकलाई कहाँ नै फुर्सद हुन्छ र व्यापारीहरु जस्तो मोलतोल गरेर बस्न !!


 आधारभूत आवस्यकतामा पेशागत सुरक्षा , भौतिक सुरक्षा , आर्थिक सुरक्षा, जीवनयापनका कुराहरुमा विशेष सुविधाहरु त हुन् । प्रगति गर्न सबैले खोज्छन्। कुनै एउटा स्थानमा अडाउन मन स्थिर हुनुपर्छ । पढाइको सङ्घर्षपछि पनि कल्पित जोवन  बाँच्नलाई सङ्घर्ष गर्नुपर्ने हो भने कहिलेसम्म माटोको माया भन्दै बस्ने भनेर प्रश्न अवस्य उठ्छ। 

Comments

Popular posts from this blog

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।

त्यो एक खिल्ली चुरोट किनेको दिन ।