डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली ?
डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली ?
भनिन्छ , मनुष्यले आफ्नो जीवनको आयु लिएर आएको हुन्छ । यो भाग्यवादी चिन्तनको उपज हो भनेर भन्न मिल्ने दृश्य धेरै देखिन्छ । जीवनलाई चलचित्रको पर्दामा जस्तै दृश्य अवलोकन गर्यो भने ईश्वरको अस्तित्वमा प्रश्न गर्न मिल्ने ठाउँ धेरै हुन्छन् । एउटा चिन्तनशील प्राणी भएको नाताले मनुष्यको दिमागमा एउटा प्रश्न पक्कै जन्मिन्छ " के व्यक्तिको भाग्य पूर्व निर्धारित हुन्छ ? के यो पृथ्वीमा हामी फगत एक पात्र मात्रै हौं ? "
दुर्गम पूर्वी तराईको कुनै जिल्लाबाट एक ५० वर्षीय महिला र उनका श्रीमान उपचार गर्न वीर अस्पताल आइपुग्छन् ।
एक दिन दिउँसो १ बजेतिर वीर अस्पतालको भिडभाडमा एको रुमको( Echocardiography) बाहिर ती महिला एक्कासी ढल्छिन् । श्वास बन्द हुन्छ । नाडी पनि चल्दैन । मुटु नि एकाएक बन्द हुन्छ । ती महिलालाई भुइँमा मुडोजस्तै ढलेको देख्ने व्यक्तिले तुरुन्तै "एको" कक्षमा अत्तालिँदै नर्स र डाक्टरलाई डाक्छन्। मेरा सहकर्मी साथी डाक्टरले नाडी जाँच्ने बित्तिकै Cardiac arrest हो भनेर निर्क्यौल गरेर छाती थिच्ने कार्य( CPR) सुरु गरिहाल्छन्। म पनि तुरुन्तै जान्छु । र उनलाई बोकेर छाती थिच्दै अक्सिजन दिँदै एमर्जेन्सी पुर्याउँछौ। उनको ECG हेर्दा Complete heart block देखिन्छ । जसको लागि अविलम्ब अस्थायी पेसमेकर राखिन्छ । त्यसपछि केही दिनमा स्थायी पेसमेकर राखेर घर पठाउँछौ ।
उनलाई तराइको कुनै अस्पतालबाट वीर अस्पताल जान भनेर प्रेषण गरिएको थियो । उनको झम्म झम्म पार्ने समस्या सुरुमा त सामान्य नै थियो । त्यही सामान्य मानिएको समस्याको लागि तराइको एउटा अस्पतालबाट वीर अस्पताल प्रेषण गरेका थिए । हाम्रो मन्त्रीज्यूले भनेजस्तो सामान्य मानेर प्रेषण नगरेको भए ज्यान जोगिने थियो होला t ? त्यसैले मन्त्रीज्यू, स्वास्थ्यको हकमा कुन सामान्य मान्ने र कुन असामान्य मान्ने भन्ने निर्क्यौल व्यक्ति अनुसार फरक पर्न सक्छ ।
ती महिला आज ६ महिनापछि आउँछिन्। उनलाई कुनै समस्या देखिएको छैन । आफ्नो काम मज्जाले गर्छिन् । र उनी पहिलेजस्तै स्वस्थ देखिन्छिन्। कुरा के हो भने यतिका वर्षमा उनको शरीरले एउटा पेसमेकर आर्जन गरेको छ । जसको तारले उनको मुटु चलायमान गराइरहन्छ । आवस्यक परेमा मुटु चाल निकै कम हुन बाट रोक्छ ।
उनी कुर्सीमा टुसुक्क बस्छिन् । उनले खानुपर्ने औषधि केही पनि छैन । औषधि नदिएकोमा उनलाई अचम्म लागेको रहेछ । उनको पेसमेकरले राम्रो काम गरिरहेकै छ ।
एउटा मुस्कान फिँजारेर टुटेफुटेको भोजपुरीमा म सोध्छु " क्या हाल भा ? "
उनी संशयका साथ भन्छिन् " डाक्साप, अब हमार शरीर ब्याट्री के भर चली ? भगवान ब्याट्रीमे सवार हे कि डाक्टरमे । " यो जिज्ञासाले भरिएको प्रश्न सुनेर मलाई मानव शरीर, चिकित्सा, रहस्यमय ईश्वरको बारेमा विचारहरु उत्पन्न हुन थाले । उनलाई आफ्नो मुटु ब्याट्रीले चलिरहेको छ भन्ने कुरामा नै अचम्म लागिरहेको थियो । के उनले आफ्नो शरीर र टि भिको रिमोटको ब्याट्री एउटै मानेकी होलिन् त ?
उनको श्रीमान र उनलाई मेडिकल उपचारमा भगवान भन्दा बढी विस्वास जागेको देखिन्छ । अहिलेको बिरामीहरुको बढ्दो अविस्वासका बीचमा कहिलेकाहीँ महसुस गर्न सकिने घटना हुन् । जसमा व्यक्तिले चिकित्सकलाई साँच्चै मनदेखि नै विस्वास गर्छन् ।
उनको कुरा सुनेर मलाई इश्वरी सत्तामाथि प्रश्न जन्मियो । उनको मुटु पेसमेकरको तार र ब्याट्रीमा अडिएको छ । के उनको cardiac arrest अस्पताल बाहिर कतै बाटोमा भएको भए पेसमेकर राख्ने समय हुन्थ्यो ? के उनी बन्द भएको मुटुमा पुनः जीवन प्राप्त गर्न सक्थिन् ? त्यो समय रातिको समय हुन्थ्यो भने के उपचार त्यति नै शिघ्र हुने थियो ? वा बाँच्न लेखेको मान्छे जसरी पनि बाँच्छ भनेर कोरा तर्क गर्ने हो त ?
उनी "एको" कक्षको बाहिर करिडोरमा एक्कासी ढल्नु र सबैजना त्यहाँ उपस्थित हुनु केवल एउटा संयोग थियो त ? अहिलेका शिक्षा मन्त्रीज्यूले यो कुरालाई संयोग नमान्नुभएमा आभार हुने थिएँ । दश कक्षासम्मको पाठ्यक्रममै Cardiopulmonary resuscitation को ज्ञान हुनु अनिवार्य हो । त्यसलाई अविलम्ब विना शर्त समावेश गर्न सकेमा शिक्षाले नयाँ पिडीलाई प्रत्यक्ष जीवन बचाउने सीप विकास गर्नेछ । जति ए आइ (AI) मा अभ्यस्त भएपनि यो सीप त ए आइ( AI) ले गरेर ज्यान जोगाउन मुस्किल नै पर्नेछ ।
मनुष्यको आयु पूर्व निर्धारित हुने हो भने स्वास्थ्यका कार्यक्रमहरु यति विघ्न किन चाहिन्थ्यो होला ? नेपालीहरुको औसत आयु वि. स. २०२० तिर ४० वर्ष थियो भने हाल त्यो बढेर सरदर ७० वर्ष पुगेको छ । यो सबै कुरा जीवन शैलीको ज्ञान , रोग नियन्त्रण र उपचार विधीको कारणले भएको हो । के यो सबै पनि इश्वरले चाहेर नै बढेको हो ? मातृ मृत्युदर, बाल मृत्युदर लगायतका स्वास्थ्यका सुचांकहरु भाग्यकै बलमा सुधार भएका हुन् र ? तथ्यांक भ्रमित छन् भनेर भन्न त विवेकशील प्राणीले पक्कै मिल्दैन ।
विश्व टेक्नोलोजीको दुनियाँमा अभूतपूर्व फड्को मारेको छ । नयाँ प्रविधिको विकास सँगै मनुष्यको आयु र जीवन गुणस्तर बढ्ने त छ । पर्यावरण संकटले मनुष्यलाई धोका नदिएमा रोगव्याधिका उपचारमा कुनै कमी हुने देखिन्न । अहिले एलोन मस्क भन्ने धनाढ्यको सम्पत्ति मूल्य टृलियन डलर पुगेको छ । उनी अन्तरिक्ष र मङ्गल ग्रहमा बस्ती बसाल्ने सपना देखेर बस्छन् ।
ती सबै अबोध मनुष्यलाई भगवान भरोसा नै छोड्ने हो त ? उपचार पद्धतिले काम नगरेको भए औसत आयु के बढ्थ्यो होला ? र औषधिको आपूर्ति रोकिने बित्तिकै मृत्यु संख्या बढ्नुमा कुन चाहिँ अध्यात्म दृष्टिले व्याख्या गर्ने होला त ? मेरो अध्यात्ममा त्यति पहुँच छैन । पहुँच पुगेको व्यक्तिले सम्झाउनुभएमा सहर्ष सुन्नेछु ।
यी सोझा प्रश्नहरु अध्यात्मवादीहरुलाई गर्दा ईश्वरीय सत्तालाई सबैथोकको कारक मान्ने गर्छन् । यो सन्दर्भमा अध्यात्मवादीहरुलाई प्रश्न गर्दा रिसाउने सक्छन् । अध्यात्मको गहिराइ मैले चाहिँ बुझेको छैन । त्यसैले अध्यात्म मिसिएको दृष्टिकोणमा म आफ्नो विचार दिन चाहन्न । यस सन्दर्भमा भाग्यवादीहरुलाई प्रश्न गर्नु उचित होला । अकर्मण्यतालाई नै भाग्य मान्ने हो भने त बहस गर्नु नै निरर्थक हुन्छ ।
यी सबै प्रश्नोत्तर गर्दागर्दै म अचेल नास्तिक भएको छु । कर्ममा बढी विस्वास गर्न पुगेको छु । तर , एउटा कुरा भने मलाई पनि अचम्म लाग्छ । हुम्लामा हृदयघात भएको एउटा व्यक्ति काठमाडौं वीर अस्पतालसम्म तीन दिन लगाएर आइपुग्दा पनि जीवित नै हुन्छ । मुटु सग्लै र बलियो नै हुन्छ । र सफल उपचार गरेर जान्छ । तर वीर अस्पताल नजिकै असनमा घर भएको व्यक्ति लक्षण देखिएको १० मिनेटमा अस्पताल आउँदा पनि मुटु एकाएक बन्द भएर जति छाती थिचे पनि , जति औषधि दिए पनि सफल हुन सकिन्न । निराश हुन्छ चिकित्सकीय उपचार। हाम्रो निरीहतामा खित्का छोडेर हाँस्ने होला त्यो शरीरबाट निस्किएको प्राणपखेरु । कहिले कसो कवि शिरोमणि लेखनाथ पौडेलको कविता पनि सान्दर्भिक लाग्छ " आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ................।"
तर कर्ममा विस्वास गर्नु नै मुक्तिको बाटो हो । नदेखिएको वा देख्न नसकेको ईश्वरीय सत्तालाई नायक मानेर अल्मलिनुभन्दा आफैले अनुभव गर्न सकिने कर्म र मानवताको सिद्धान्तलाई पछ्याउनु नै उत्तम मार्ग हो ।
सर्वेन्तु भव सुखिन: ।
उहि
नास्तिक चिकित्सक ।
Comments
Post a Comment