के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो ?


के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो ?

१. मेडिकल रेजिडेन्सीको बीउ ।
सायद बीउ अनुसारकै फल पाइन्छ भन्ने कथन मेडिकल शिक्षामा पनि लागू हुन्छ । आधुनिक चिकित्साका पिता मानिने विलियम ओस्लरले भनेका थिए " पुस्तकरहित चिकित्साको अध्ययन गर्ने व्यक्तिले विना नक्साको समुद्रमा यात्रा गर्दछ, तर बिरामी विना चिकित्साको अध्ययन गर्ने व्यक्ति त समुद्रमा नै जाँदैन । "
यो कथनलाई अति रन्जित गरेर खरो ड्युटी गरेर मात्रै चिकित्सा अध्ययनले सार्थकता पाउँछ भन्ने सोचबाट निर्देशित हालको रेजिडेन्सी प्रोग्रामका कटु सत्यहरु मेडिकल विधाका साक्षीहरुले मात्रै बुझ्न सक्दछन् । त्यो स्वयं स्वास्थ्य मन्त्रालयले पनि बुझ्ने क्षमता र दृष्टि राख्दैन ।

सन् १८८९ मा डा विलियम  हाल्स्टेडले सर्जरीमा रेजिडेन्सीको रुपरेखा तयार गरेका थिए । ओस्लरले मेडिसिन विधाको रुपरेखा तयार गरेका थिए । हाल्स्टेडले निकै सख्त प्रोग्रामको संरचना गरेका थिए । जसमा ३६५ दिन नै हस्पिटलभित्र बस्नुपर्ने , लगातार दुई दिन ड्युटी गर्नुपर्ने , बिहे आदि गर्न नपाइने जस्ता कडा नियम थिए । ती सबै कुराले विद्यार्थिको स्टामिना परिक्षण गर्छ भन्ने क्रुर सोचाइ थियो । उनी आफू भने "कोकेन एडिक्ट"  थिए । जसको पागलपन रेजिडेन्ट चिकित्सा माथी थोपर्ने काम गरेका थिए । त्यसकै रुप पुस्तान्तरण हुँदै आजसम्म पनि धेरै मेडिकल स्कुलमा सोचाइ हाल्स्टेडको जस्तै छ । जसको कारण ३६ घण्टा ड्युटी नगरी त रेजिडेन्सी पूरा हुन सक्दैन भन्ने सोचाइ छ । ३६ घण्टा पछि १२  घण्टा सुत्ने त्यसपछि  फेरि ३६ घण्टाका दरले त हप्तामा सय घण्टा यत्तिकै नाघ्ने गर्छ ।

२. मेरो व्यक्तिगत अनुभव :

आजभन्दा सात वर्ष पूरानो कथा अहिले पनि सान्दर्भिक होला ।  घडीमा ७ :३० बजेको रहेछ । निद्राबाट झसँग बिउँझिएछु म । बिहान अबेर भएको जस्तो लाग्यो ।  ड्युटीमा  जान अबेर भएछ भनेर छिटोछिटो नित्यकर्म गरेर तयार भएँ ।  जिउ पूरै भारी भएको अनुभव थियो ।  जाङर रत्तिभर थिएन ।  शरीर तात्तिएको महसुस भएको थियो ।  निधार छाम्दा ज्वरो आउला जस्तो थियो। कुर्कुच्चा र पैतला हुर्किएका थिए ।  हल्का घुमाएको जस्तो पनि भएको थियो ।  जिउ  पुरै लथ्रक्क परेको थियो। सुत्न पाए त कुम्भकर्णको  ६ महिने रेकर्ड पनि  तोड्न सक्ने बिचार  आएको थियो ।  पहिले पहिले दिनभरी  हिंडेर बेलुका घर पुग्दा हुन्थ्यो यस्तो  ।  धेरै बर्षपछि बाल्यकालको झझल्को आयो ।  सदरमुकामबाट  घर हिंडेका  गोरेटा बाटा याद आए ।  आफ्नो यो डाक्टरी गोरेटोको  पनि लामो बाटो अझै तय गर्न बाँकी रहेको यथार्थ पुन स्मरण भयो। घर पुग्ने गोरेटो र डाक्टरी गोरेटो उस्तै लाग्यो ।  दुबै  सांघुरा थकानपूर्ण यात्रा ।  फरक भन्नुपर्दा चाँही डाक्टरी यात्रा कतै टुङो नभएको ।  पढ्दै आधा उमेर बित्ने ।  

प्रन  लगाएर झ्याल लगाउँछु भनेर  लागेको  थिएँ ।  बाहिर  हेर्दा त  राती पर्न लागेको रहेछ ।  समयचक्रसँग  म झुक्किएको रहेछु । अघिल्लो दिन बिहान  ७ बजेदेखि त्यो दिनको ४:३० सम्मको गतिविधि एकपछि अर्को सम्झना हुन थाल्यो ।  म त ड्युटीबाट कोठामा आएर बेडमा पल्टिएपछि दुई घण्टामा उठेको रहेछु ।  अब भोली ड्युटी नजाने बिचार  गरेको थिएँ ।  फेरि सुत्ने प्रयास गरेँ ।   कुन दिनमा यो डाक्टरी विधा पढ्न पुगिएछ भन्ने महसुस भएको थियो ।  त्यो रात एक ट्याब्लेट सिटामोल र सेट्रिजिनको शरण लिन पर्यो मलाई ।  जे होस् केही काम गरेछ त्यसले ।  बिहान हल्का ठीक भएको थियो ।  भन्नुपर्दा ज्वरो आएनछ कस्सो ।  एक मनले त भर्सेला परोस्   भनेर आराम गर्न मन लागेको पनि थियो। 

बिहानको ९ बजेको थियो। ।  कन्फरेन्स हलमा कुनै एउटा बिरामीको केसको बारेमा प्रस्तुत भइरहेको थियो । कता कता त्यो वातावरणमा   पहिले कतै बसेको जस्तो लागिरहेको थियो ।  ड्युटी भएको डाक्टरले भर्ना गरिएको बिरामीका बारेमा बिस्तारमा बरिष्ठ  डाक्टरहरु तथा  तैनाथ सबै रेजिडेन्ट डाक्टरहरुलाई प्रस्तुत गर्नुपर्ने रहेछ ।    प्रस्तुत गर्दै गरेका रेजिडेन्टको अनुहार हेर्दा दार्हीले लटरम्म  ढाकेको ,फुर्सद नपाएको र आँखाका  परेलाहरु टाँस्सिन खोजेको जस्तो देखिन्थ्यो ।  अब आफ्नो हालत पनि त्यस्तै हुनेवाला छ भनेर फिल्म हलतिर गएको थिएँ म त्यो दिन ।   

अर्को दिन ड्युटी परेको थियो ।  जसलाई “माइनर” ड्युटी  भनेर नामाकरण गरिने रहेछ । 

नामले “ माइनर ”  राखेकोले  हल्का किसिमको ड्युटी होला भन्ने अनुमान गरेको थिएँ ।  तर मेरो अनुमान पूरै   गलत साबित हुने वाला रहेछ  ।  माइनर भनेको त वार्डमा कुद्ने काम रहेछ । कस्सो उकालो कुद्नु परेन ! आकाशवाणीको पनि ब्यबस्था रहेछ ।  कतै भर्ना गरिएका बिरामीलाई समस्या परेमा कल आउने कि त ठाउँठाउमा राखिएका माइकबाट आवाज आउने रहेछ । मेरो फोनमा चार्ज धेरै टिक्दैन ।  सँगै ड्युटी भएकोले फोन सबै हरी दाइकोमा अाइरहेको थियो ।  दाइ अगाडि अगाडि म पछाडि पछाडि कुदिरहेका थियौँ ।  त्यती धेरै फोन आएको देखेर नयाँ चार्ज टिक्ने मोबाइलको टडकारो  थियो मलाई अब ।  कतै के रगतको रिपोर्ट राम्रो आएन ।  कतै पोटासियम र सोडियम भन्ने रगतको रिपोर्ट धेरै बेसी धेरै कम ।  कतै बिरामीले नाकबाट पाइप निकाले ।  कतै बिरामीलाई ज्वरो आयो ।  कतै प्रेसर बढ्यो ।  आदि आदि   ।  यो सबै दौडधुपले आफ्नै प्रेसर बढ्ने जस्तो थियो ।  त्यही नेफ्रो वार्डमा बसेर रिपोर्ट हेर्दै गरेको  बेलामा ००१ भन्दै आकाशबानि भएको थियो ।  अर्थात् तुरन्तै दौडिनुपर्ने सिरियस बिरामीको अवस्था हेर्न ।  त्यसपछि  हस्याङ्फस्याङ गर्दै श्वासप्रश्वास रोगको वार्ड पुगेको थिएँ ।  सबै जम्मा भइसकेका थिए ।  हरी दाइ पहिल्यै पुगिसक्नभएको  रहेछ । ( हरि दाइ मेरो सिनियर दाइ हुनुहुन्छ)

पहिलो ड्युटिमै बिरामीको मृत्‍युको सर्टिफिकेट बनाउन परेको थियो ।  यस्तै दौड गर्दा गर्दै ३ बजिसकेको थियो शायद ।  शरीरले  आराम खोजिराखेको थियो ।  ड्युटी रुममा गएर पल्टिएको थिएँ ।  जिउ पूरै दुखेको थियो ।  आँखा पोलेका थिए ।  आँखाले खबरदारी गर्दै थिए आरामको लागि ।  दिमागका कोषिकाले सोच्न बन्द गर्दै थिए ।  त्यसैले बिहान आफ्नो कोठामा गएर पल्टिन मन लागेको थियो ।  तर अर्को दिनको बिहानको राउन्ड बसेर काम सकेर जानुपर्ने रहेछ ।  राउन्डमा बिरामीको रोगका बारेमा छ्लफल हुने रहेछ ।  जे होस् आफ्नो हालत जस्तो भएपनि    बिरामीको लागि भने राम्रै हुने जस्तो लाग्यो ।  तर आराम नपाएको दिमागले सोच्न भने भ्याउने रहेनछ ।  सुरुका दिन भएर होला ।  केही पनि मेसो पाइरहेको थिइन  ।  थकाइ पनि लागेको थियो । 

यस्तो ड्युटि पूरै अवैज्ञानिक लागेको थियो ।   हरि  दाइलाई देख्दा स्ट्यामिना प्रचुर भएको जस्तो लाग्यो ।  म भन्दा बढी दौडिएपनि हरि दाइमा थकान कम देखिन्थ्यो ।  शायद सबैलाई  समयसङै बानी पर्ने होला ।  खुट्टाले कतै ठाउँ छोड्ने हो कि भन्ने डर पनि थियो ।  जिउ पूरै गलेको थियो ।  आरामदायी  सोफामा अडेस लगाएर नदीको किनारामा बसेर प्रकृति नियालिरहेको सपना आए हुने जस्तो लागेको थियो ।  तर सपना सम्म डराएर भागिछन् शायद ।  बिहान ५ बजे उठ्दा सपना केही याद आएन ।  यो रेजिडेन्सीले मेरो स्ट्यामिना जाँच्न लागेको जस्तो लाग्यो । 

  बिहान ८ बजेसम्म सुत्ने बानी परेकोमा एक्कासी २ ३ घण्टाको मात्र आरामले ३६ घण्टा धान्न त कठिन हुनेँै भयो ।  कुनै दिन त एक मिनेट पनि पल्टिन नपाइने पनि हुन्छ । खाना अर्डर गरेको बेलामा टेबुलमा नै एक क्षण पल्टेको पनि सम्झना छ । कतिखेर त किन यो बिषय रोजिएछ भनेर दिक्क नलागेको पनि होइन ।  यस्तै ड्युटी चार महिनासम्म एक दिन बिराएर भाग्यमानी महिनामा १४ र अभागी महिनामा १५ वटा ड्युटी गरेको अझै पनि झलझली याद आउँछ। र त्यसपछि पनि १२ वा १३ वटा ड्युटी गरेको चाहिँ बिर्सन गार्है पर्छ । के रेजिडेन्सी प्रोग्राम आर्मीको ट्रेनिङभन्दा कडा हुनुपर्ने हो ? त्यसले व्यक्तिमा सख्तपन त विकास होला । के संवेदना विकास हुनुपर्नेमा सख्तपना विकास हुनु उचित होला त ?  अचेल ड्युटी घण्टामा सम्भव नभएपनि ड्युटी संख्यामा भने सुधार भएको सुनेको छु । त्यो सकारात्मक परिवर्तन हो ।  सायद खुसी छन् होला अहिले रेजिडेन्टहरु ।

साथीभाइ इष्टमित्रहरुलाई फोन नगरेको धेरै भएछ ।  फोन गरेको पनि रिप्लाई गर्न बिर्सिएको रहेछ ।  आराम भन्ने कुरा खानाभन्दा पनि महत्वपूर्ण भएको थियो ! त्यो फोन र मेसेज त प्राथमिकतामा पुछरमा धकेलिएको हुन्छ ।  मेसेन्जर आदिका मेसेजको रिप्लाई ३ ४ दिनमा मात्र दिँदा कस्तो मान्छे होला भन्दा हुन्  ।  नदेखेसम्म धेरैले पत्यौन्नन् पनि ।  सबैलाई  डाक्टर पढ्ने भनेको टेबुलमा किताब कपी राखेर  कुर्सिमा बसेर क्लासमा पढाई हुन्छ भन्ने लाग्दो रहेछ । घण्टी बजेर क्लास सकेको जनाउ हुन्छ भन्ने लाग्ने रहेछ।  हुन पनि मेडिकल कलेज भनेपछि प्लस टु कलेजको जस्तै  पढाई सबैको लागि लाग्ने होला ।

हल्का मैलो सेतो कोटको दाहिने खल्तिमा एउटा नोट बुक,  पेपर ,ह्याम्मर, टेप  आदी र बाँया खल्तिमा सानो किताब वा ठुलो आकारको मोबाइल बोकेर घाँटीमा आला झुन्ड्याइ हिंडेका डाक्टरको क्लास भनेको बिरामी हेर्ने, ड्युटी  गर्ने र बिरामीको रोगको बारेमा केस प्रस्तुती गर्ने हो ।  यो क्लासमा कुर्सी टेबलमा बसेर ४० मिनेटको क्लास हुँदैन ।  यसमा क्लास भनेको बिरामीको बेड, बिरामीको फाइल, बिरामीसँगको रोगको  भलाकुसारी र एक आपसमा छलफल हो ।  

मनुष्यको शरीर जस्तो बनाउन खोज्यो त्यस्तै बन्दछ । शारीरिक रुपमा मजबुत भए पनि मनुष्यले सहन गर्न कठिन हुने कुरा निद्रा हो । जस्तो म नै हुँ भन्ने व्यक्तिले पनि आवस्यक निद्राको परिमाण खोज्छ नै । खाना छुटे केही नहोला । तर निद्राको अभावले व्यक्तिको सम्पूर्ण शरीर प्रणाली नै अस्तव्यस्त गरिदिन्छ ।

३६ घण्टा ड्युटी गरेर बढी सिकिन्छ भन्ने कुरामा त म विस्वास गर्दिन । त्यसले अस्पताल प्रशासनलाई अस्पताल चलाउन भने सजिलो हुन्छ । खर्च कम सस्तो जनशक्ति । ३६ घण्टा ड्युटीमा विचम केही समय विश्राम पाउने हो भने पनि गर्न नसकिने होइन । तर त्यो विश्रामको कुनै भर हुँदैन । ३६ घण्टा ड्युटी गरेर तन्नम देशलाई योगदान हुन्छ भने खट्नै पर्यो ! 

मलाई सधैं सोध्न मन लाग्ने एउटा प्रश्न छ । यो प्रश्न सबै अभिभावक, प्लस टु का कलेज , प्रवेश परीक्षा तयारी गराउने संस्थाहरुलाई सोध्न मन लाग्छ ।

"रेजिडेन्सीको यो दृश्य मेडिकल प्रवेश परीक्षा दिन लालायित रहेका विद्यार्थीहरुले  आफै साक्षी भएर अनुभुती गरेको खण्डमा पनि यो मेडिकल शिक्षाप्रति आकर्षण रहिरहन्छ होला त ?? "

कडा परिश्रम विना फल राम्रो आउँदैन भन्ने तर्कले रेजिडेन्सी प्रोग्रामको ड्युटी संरचनालाई वैधानिकता दिने गरिन्छ । दु:ख गरेर सिकेको कुरा दीर्घकालीन हुन्छ । सुखबोधले ज्ञान आर्जन हुन सक्दैन ! यी सबै तर्कहरु पौराणिक कालका तर्क हुन् । अहिले सान्दर्भिक हुँदैन । ज्ञान आर्जन गर्ने नियतले गरिने परिश्रमले मात्रै नतिजा ल्याउँछ । 

विद्यार्थी पनि अनुशासनमा रहने र ज्ञान आर्जन गर्ने कुरामा अल्छी गर्नुहुँदैन । अस्लरले भनेजस्तै मेडिकल शिक्षाको सिकाइ किताबमात्रै नभएर प्रत्यक्ष बिरामीसँग संलग्न हुनु अनिवार्य हुन्छ । र हरेक कुरालाई ड्युटी समयसँग जोडेर मात्रै हेर्नुहुँदैन । ड्युटी समयले शरीर र मन अस्वस्थ भयो भने त्यो अवैज्ञानिक हुन्छ । शारीरिक र मानसिक विश्राम सुनिस्चित हुने प्रणाली हुनुपर्छ । मानसिक प्रातडना शारीरिक खटाइ भन्दा बढी हानिकारक हुन्छ । रेजिडेन्सीमा शारीरिक खटनले त्यति समस्या गर्दैन जति मानसिक प्रातडनाले गर्ने गर्छ । सायद म भाग्यमानी रहेछु , मलाई भने त्यस्तो मानसिक प्रातडना कहिल्यै भोग्नु परेन ।

भोली पुन: ड्युटिमै जानुपर्ने हुँदा कलम यत्तिमै बिसाउने अनुमती पाऊँ । धन्यवाद ।  

उही  
दर्शक रेजिडेन्ट 

Comments

Popular posts from this blog

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

हस्ताक्षर मनोवाद ।