ग्रहगोचर र नक्षत्र खोज्दै गर्दा अस्पतालमा छुट्ने जीवन ।

भनिन्छ छैटीको दिन भाग्य लेख्न छैठी देवी आउँछिन् । र भाग्य कोरेर जान्छिन् । भाग्यवादको मनोविज्ञान जन्मदेखि नै प्रारम्भ हुने हाम्रो समाज पुरातन समाज हो कि ? उन्नत समाज हो ? यो प्रश्नको उत्तर त्यति सजिलो भने छैन । विज्ञानमा विस्वास गर्नु अन्धविस्वासलाई चिर्ने उत्तम उपाय हो । मेडिकल शिक्षाको विद्यार्थी भएको नाताले म स्वास्थ्यमा भएका क्रान्तिको गाथाहरु नजिकैबाट नियाल्न र अनुभव गर्न सक्छु । विफरको उन्मुलन देखि हैजाको नियन्त्रणमा विज्ञान निकै प्रभावशाली रहेको कुरा जगजाहेर छ । तर अस्पतालमा काम गर्दैगर्दा कति बिरामीमा हुने कति प्रक्रियालाई म व्याख्या गर्न सक्दिन । त्यो मेरो ज्ञानको अभाव हो भन्न सकिन्छ । वा अनगिन्ती कुराहरु खोज्न बाँकी नै छ भनेर बुझ्न सकिन्छ ।
एक जना बूढा बाजे हुम्लामा मुटु दुखेर जिल्ला अस्पताल पुगेछन् । त्यहाँ इ सि जि गर्दा हृदयघात भएको थाह भएछ । त्यसको उपचारको लागि "अस्पिरिन" बाहेक अरु औषधि उपलब्ध नरहेको र अरु उपचार गर्न नेपालगन्ज पठाएका रहेछन् । साँझ भइसकेको कारणले प्लेन उड्ने कुरा भएन । अर्को दिनको पहिलो उडानमा नेपालगन्ज पुग्छन् । त्यहाँबाट पनि कुनै कारणवश काठमाडौ जाने निधो गर्छन् । र गङालालको एमर्जेन्सीमा बल्ल ४ दिनमा आइपुग्छन्। त्यहाँ औषधि उपचार सुरु गरेर अर्को दिन कोरोनरी यन्जियोग्राम गरिन्छ । त्यो कोरोनरी एन्जियोग्रामको रिपोर्ट पुर्ण रुपमा ठिक आउँछ । बाजे घर फर्किन्छन्।
त्यही दिनको अर्को घटना पनि उल्लेख सँगसँगै गर्नुपर्ने हुन्छ। एक जना बुढानिलकण्ठ बस्ने ६५ वर्षिय व्यक्ति मधुमेहको औषधि खाने, शारीरिक कसरत पनि गर्ने , स्वास्थ्य चेतना भएका एक धनाढ्य व्यक्ति एकाएक एमर्जेन्सीमा बेहोस अवस्थामा आइपुग्छन्। छाती दुखेको १० मिनेट नबित्दै एमर्जेन्सी ल्याइपुर्याएका थिए घर परिवारले । तर उनलाई जति प्रयास गरेपनि त्यो कार्डिएक अरेस्टबाट जोगाउन सकिएन । त्यही बेला एक जनाले भन्छन् " दिन आएपछि कसैको केही नलाग्ने रहेछ । " हठात् मेरो मनमा प्रश्न उब्जिन्छ " मृत्यु त सत्य कुरा नै हो । तर के कार्डियक अरेस्ट ( cardiac arrest) हुने बित्तिकै छाती थिच्ने प्रक्रिया ( CPR) सुरु गरेको भए बाँच्थे त ? " सटिक उत्तर मलाई पनि थाह छैन ।
दुवैजनालाई भएको त हृदयघात नै थियो । तर परिणाम फरक देखियो । आखिर किन त्यस्तो फरक देखियो त ? भाग्यवादी चिन्तनले त लेखेको टर्दैन नै भन्न पर्यो। तर ती दुवैजनामा सोधिनु पर्ने प्रश्नहरु अरु धेरै छन् । के उनीहरुको खानपान एउटै थियो होला ? के उनीहरुमा तनाव एउटै किसिमको र मात्राको थियो ? के उनीहरुमा मोटोपन एउटै थियो त ? के उनीहरु बस्ने हावापानीको प्रदुषण उस्तै थियो ? के दुवैजनामा जिवनका महत्वकांक्षा उस्तै तनावपूर्ण थियो त ?
एक जनाले रेस्टुरेन्ट कहिल्यै नदेखेको भने अर्को व्यक्ति संसार देखेको , खाएको । एक जनाको ज्यानमा बोसो नै थिएन सायद । इस्ट्कोट र पुरानो सर्ट पाइन्टभित्र थियो उनको दुब्लो पातलो ज्यान । अर्को व्यक्ति भने पेट ठूलो ज्यान भारी थियो। एक जनालाई मधुमेह आदि रोग थिएन । स्वास्थ्यको सामान्य जाँच गर्न उनको सामान्य पेटले दिँदैनथ्यो । तर गाउँघरतिर पिरमर्काको र चिसोको साथी चुरोट भने खान्थे । अर्कोले चुरोट नखाए पनि मधुमेह भने थियो । स्वास्थ्यको बडो चिन्तन थियो । डाक्टर घरमै थिए । एक जना वायु प्रदुषण न्यून भएको स्थानमा हुर्केको । अर्को वायु प्रदुषण संसारकै उच्च रहेको स्थानमा जीवनभर श्वास फेरेको । एक जनाको सबैभन्दा उच्च महत्वाकांक्षाको नाममा खेतमा १० मुरी कोदो उमार्न पाए हुने भन्ने थियो । अर्कोको महत्वाकांक्षाको वर्णन गर्नलाई मापदण्ड परिवर्तन भइरहने होला । यसरी यावत् कुराहरुको तालमेलले गर्दा व्यक्तिको शरीर र शरिरको लड्ने क्षमता पनि फरक पर्छ नै ।
तर भाग्य र लेखेको कुरा भनेर सबै नियन्त्रणभित्रका मुद्दाहरु पनि ओझेलमा परेका हुन्छन् । अन्त्यमा तर्क सकिएपछी घुमीफिरि गरिने प्रश्न जस्तै दश मिनेट नबित्दै मुटुको अस्पताल पुगेको मान्छे त दिन नसकिएको भए बाँच्नु पर्ने होइन ? यो प्रश्नको उत्तर खोजेर आफ्नो शान्ती म भङ्ग गर्न चाहन्न ।
दैनिक जीवनमा विरोधाभासका क्षणहरु नियमित देख्न पाइन्छ । ९० वर्षको बाजे चुरोट खाँदै छन् । तर पनि स्वस्थ र फुर्तिला देखिन्छन् । सोही समयमा २२ वर्षको व्यक्ति कुनै खराब लत नभएको व्यक्तिलाई ह्रुदयघात देखिन्छ । यी सबै व्यक्तिगत अनुभवका दृष्टान्त हुन् । यो समष्टिगत जनसंख्याको लागि लागू हुँदैन । तथ्यांकको गणितीय हिसाबले पनि सो कुरा पुष्टि गर्दैन । तर हाम्रो पूर्वाग्रह निर्माण गर्न मद्दत गर्दछ । र भनिन्छ लेखेको कतै जान्न । के थाह ती व्यक्तिको अनुवांशिक गुणमा कुनै दोष हुन सक्छ । सत्य के हो भन्दा चुरोट हानिकारक तत्व हो । र यसको प्रवर्द्धन गर्न कुनै एक दृष्टान्त र व्यक्तिगत अनुभव काफी हुँदैन । ९० वर्षिय बाजेको चुरोटको कथा लागू गर्न मिल्दैन । र भाग्यलाई सबै कारक मान्न पनि मिल्दैन । तथापि अन्त्यमा फेरि एउटै प्रश्न आउँछ " मनुष्यको आयु किन फरक हुन्छ त ? भाग्य नभए के हो त ? " यसको पनि उत्तरमा डुब्न चाहन्न म ।
अब हामी वास्तविक कुरामा प्रवेश गरौँ । कुनै व्यक्तिको जीवनमा जन्मिने समयको नक्षत्र र ग्रहले बेजोड असर गर्ने रहेछ भने एउटै समयमा जन्मिएको व्यक्तिहरु यो संसारमा त हजारौं होलान्। तर सबै आइन्स्टाइन पनि बन्दैनन्। सबै नेपोलियन पनि बन्दैनन् ।सबै बालेन्द्र शाह पनि बन्दैनन् । सबै हिटलर पनि बन्दैनन् । एकै समयमा त धेरै जनाको जन्म भएको हुन्छ । तर ती सबैको जीवनको मैदान एउटै त हुँदैन । सबैले आ आफ्नो मैदानमा विभिन्न गुणस्तरको कर्म गरिरहेका हुन्छन् । त्यसैले त कर्म र इच्छाशक्तिले सिन्चित नगरेको जीवनको मैदानबाट ग्रह नक्षत्रका भरमा मात्रै अब्बल व्यक्ति निस्किँदैन । त्यस्तो हो भने के ज्योतिष विज्ञान केवल छद्द्म विज्ञान मात्रै हो त ? गणितले भविष्य लेखाजोखा गर्ने विज्ञान कसरी छद्म हुन सक्छ त ?
गणितीय अभ्यासले मस्तिष्कको स्नायु कोषिकाको विकास गर्न त राम्रै सिद्ध होला । तर यो भविष्य निर्धारण गर्नकै लागि बनेको थियो भन्ने कुरामा भने संशय छ । खगोलशास्त्रसँग मिल्दोजुल्दो ज्योतिषशास्त्र ठुला ठुला पिण्ड र ग्रहहरुको एक अर्काको आकर्षण र विकर्षणको मापन गर्न विकास भएको हुन सक्छ । जस्तै चन्द्रमा पूर्ण आकार लिएको दिन अर्थात् पुर्णिामाको दिन समुद्रमा छाल बढेर आउँछ । समुन्द्रको छालमा उतारचढाव हुन्छ भन्ने स्थापित वैज्ञानिक आधार छ । त्यसैले ती सबै ग्रह तारा आदिहरुले पृथ्वीमा बसेका जीवहरुलाई कत्ति पनि असर नगर्ला भन्न सकिन्न । प्रभाव परेपनि निकै न्यून मात्रामा असर हुन्छ ।
ग्रहहरु पनि पन्च तत्व अर्थात् जल, पृथ्वी , तेज , वायु , आकाशले बनेको हुन्छ । सूक्ष्म अध्ययन गर्दा प्रोटोन न्युट्रोन र एलेक्ट्रोन ले बनेको हुन्छ । हाम्रो शरीर पनि त्यही पन्च तत्वले बनेको हुन्छ। त्यसैले कुनै एक व्यक्तिको सबैभन्दा नजिकको ग्रह भनेको उसको वरिपरिको मान्छेहरु हुन् । अझै भन्नुपर्दा आफैभित्र रहेको सुषुप्त उर्जामा निर्भर गर्दछ । व्यक्ति आफै पनि एउटा ग्रह हो । घर परिवार , साथीभाइ र इष्ट्मित्र हुन् । ती मान्छेहरुले बनेको समाजमा हुर्किँदा त्यो व्यक्तिको भविष्य निर्माण हुने हो । मनुष्य जन्मिएपछि एक दिन मृत्यु वरण गर्नै पर्छ । अस्पतालमा उपचारको क्रममा सबैभन्दा बढी प्रभाव पार्ने पिण्ड ( ग्रह) भनेको त उपचारमा खटिएका डाक्टर , नर्स लगायतका स्वास्थ्यका कर्मचारी होलान् । कोषौँ पर देखिने नवग्रह नक्षत्रले गर्ने नगण्य प्रभावलाई लिएर सम्पूर्ण विज्ञान, प्रशासन आदिलाई ओझेलमा पार्नु त जायज नहोला नि । चिकित्सक र नर्समा ज्ञानको कमी भयो । उपचार अपूरो हुन्छ । प्रशासनले विविध कारणवश गुणस्तरीय सर सामान खरिद गरेन । समयमा बेड व्यवस्थापन गर्न सकिएन । उपचारमा सिधा असर पर्छ । राज्यले जथाभावी मेडिकल शिक्षालाई प्रवर्द्धन गरेर गुणस्तर नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिन्छ । मेडिकल शिक्षाको फल भन्दा संख्या र व्यापारमा मख्ख पर्ने राज्यको नीतिले के प्रत्यक्ष उपचारमा असर नपर्ला त !
चौतर्फी अकर्मण्यता, अव्यवस्था र नालायकीपनको परिणामलाई भाग्य र ग्रह आदिसँग जोडेर व्यक्तिको भाग्यवादको विस्वासलाई मलजल गरिरहन मिल्दैन । कर्मले मनुष्यको जीवन फल तय हुन्छ । ग्रह नक्षत्रको ज्योतिष गणितले मार्गदर्शन त गर्ला तर भविष्यको फल दिन्छ भन्ने कुरा विस्वास गर्नु सर्वदा गलत हुन्छ ।
लाखौँ योजन पर रहेका ग्रह र नक्षत्रले के व्यक्तिलाई जन्मेकै आधारमा असर गर्ला त ? नजिकै रहेको उपग्रह चन्द्रमाले गरेको असर त हामीले समुद्रको छालमा देखिन्छ । चन्द्रमा भन्दा कयौँ दुरी मा रहेका ग्रह ताराहरुको पिण्डले मनुष्यको भविष्य नै निर्माण गर्ने तागत हुन्छ होला त ? त्यस्तो हुने भए त एउटै समयमा जन्मिएका सबै व्यक्तिहरुको भविष्य एउटै हुनुपर्ने होइन त ? हुन सक्छ सत्ययुग, त्रेता, द्वापर युग वास्तवमै रहेछन् भने पनि सो समयका मनुष्यको शरिरको आकार भिमकाय हुन्थ्यो भनेर भनिन्छ । त्यसैले ग्रह उपग्रहहरुले ठूलो पिण्डमा बढी प्रभाव पार्थ्यो होला । ती सबै काल्पनिक अनुमानका कुरा भए ।
ज्योतिषशास्त्रको मलाई कत्ति पनि ज्ञान छैन । त्यसैले त्यसमा धेरै टिप्पणी गर्ने मेरो मनशाय केही पनि छैन । मलाई यति मात्रै थाह छ कि त्यसमा गणितीय सुत्रले केही क्रमहरु बन्छ । यत्रतत्र छरिएका अंक र स्थानको केही ढाँचा अवस्य हुन्छ । Pattern recognition को सोही आधारमा गरिने भविष्यफल सबै जनालाई सबैकुरा सही हुँदैन । यसमा भविष्यवाणी भन्दा पनि भविष्यफल भनिन्छ । त्यो फल वास्तवमा कर्मको फल हो । भविष्यको फल भने होइन । के तथ्यांक गणितले ज्योतिषशास्त्रबाट भनिएको भविष्यफललाई प्रमाणीकरणको लालमोहर लगाएको छ ? यसका जानकारले प्रमाणसहित भनिदिनुहोला । ज्योतिष , भविष्यफल, कर्मको बहस त सधैं यस्तै चलिरहन्छ । मैले यो लेख्नु मेरो काम हो । यसको प्रतिक्रिया आउनु यसको फल हो । कर्मको फलमा विस्वास मजबुत गरौं । दुर्गा भवानीले योजन पारीका पिण्डहरु भन्दा आफू भित्र नियाल्ने र साधना गर्ने बाटो देखाउन् ।
जय दुर्गा भवानी ।
( नोट: यो लेख लेख्दा AI को प्रयोग भएको छैन )
डा शम्भु खनाल
कार्डियोलोजी विषयमा अध्ययनरत ।

Comments
Post a Comment