भिडमा एक्लो बूढाबाजे 

..."बा तपाईंको मुटुले गर्नुपर्नेजती काम गर्न सकेको छैन ।  मुटु सुन्नेको छ ।  भर्ना भएर बस्नु राम्रो हुन्छ ।  तपाईंसँग को  आउनुभाको छ त ? ".    आज  पुन : तिनै बाजे भेटिए जसले मलाई लामो सुस्केरा हाल्दै  भनेका थिए , " छोराहरु बुहारी ले लगे ।  छोरीहरु ज्वाँईले लगे  ।  बुढीलाई भगवानले लगे। म बुढोलाई   कुर्न को आउला र बाबु ? ".  म अवाक् भएको थिएँ  र फेरि पनि त्यस्तै हुन पुग्यो। ।  तिनै बाजे बेलाबखतमा जसोतसो  लौरोको आडले अस्पातलसम्म अाइपुग्थे ।  स्या स्या गर्दै भर्खरै प्राण जान्छ कि जस्तो अवस्थामा हुन्थे ।  उनलाई  बेलाबखतमा  उनको मुटुले  खिसिट्युरी गरिरहन्छ ।  उनलाई भर्ना  गर्नुपर्ने हुन्छ ।  तर हेरचाह  गर्नलाई कोही हुँदैनन  उनको साथमा ।  उनीसँग  एउटा नोकियाको पूरानो मोडेलको मोबाइल हुन्छ ।  र साथमा एउटा लौरो । छोराबुहारी छोरिज्वाइँलाई  फोन लगाउने प्रयास गर्छन् ।  फोन उठ्छ ।  वार्तालाप पनि हुन्छ  ।  तर सबै ब्यस्त हुँदा हुन् ।  फोनबाटै हेरचाह   गर्ने बचन दिँदा हुन् ! 

आखिर जिन्दगीको कमाइ के हो त ? धन सम्पत्तिले भरिभराउ  हुनु हो कि मानसम्मानले प्रतिष्ठित हुनु हो ।  जीवनको उत्तरार्द्ध कस्तो हुने हो र कसरि जिउने हो त ? मिठो  कुरा मुखमा परेर मन  खुसि हुने हो कि स्वजनको मिठो बोली सुनेर ।  उमेर छँदा मानिस सुख र सुखका साधनका निम्ती दौडिरहन्छ ।  एक छिन बिश्राम् गरेर त्यो दौडाइको सार्थकता खोज्दैन ।  हरेक व्यक्तिले राम्रो नै भएको देख्न चहाञ्छ, अनुभुती गर्न चहाञ्छ. ।   आफ्नो सन्तानको सुखका लागि सपै कुरो त्याग्दछ  ।  जसोतसो गरी जोड्जाड गरिराखेको हुन्छ ।  किनकि त्यो स्वाभाविक धर्म र स्वार्थ दुबै  हुन्छ ।  

भाग्यमानी बाबुआमा को हुन् त ? बिरामी पर्दा छीउमा टाउको अडाएर अधकल्चो निद्रामा कुरिरहेको छोरा छोरी हेर्न पाउने बाबुआमा भाग्यमानी हुन  ? आफ्नो जन्मदिन सम्झेर जन्मदिनको सुभकामना दिने र मनाउने छोराछोरी पाउनु जीवन सफल हुनु हो ? एक कल फोन गरेर सन्चोबिसन्चो सोध्ने फुर्सद निकाल्ने सन्तान हुनु जीवनको सर्थकता  हो ? कि हाम्रो धेरै ठाउमा  सुन्नेगरेको र सत्संगमा प्रबचनको अभिन्न बचन 'आत्माको साक्छ्यत्कार ' हुनु जीवनको कमाई  हो ? 

नदेखेको आत्मा र परमात्माको आशा गरेर के गर्नु ? तिनको प्राप्ती गर्ने भन्दै शान्त तर ब्यस्त हुनु बाहेक केही होला जस्तो लाग्दैन ।  किनकी आफैले देखेको र रोपेको सपनाको बिउ जीवनको उत्तरार्द्धमा गएर फ़ल दिदैन भने निर्धन हुनु सरह हो ।  सन्स्कारले युक्त बोलीबचन र  ब्यबहारको अनुभुती हुन नपाएर इश्वरको भजन गाएर बस्नुपरे के महत्व भयो र ! धर्मले पढाएको मृत्‍‍युपर्यन्तका गर्नुपर्ने कर्म सन्तानले गर्देलान् भन्ने आशले हुर्किएका सन्तान "एड्भान्स"  भए के अपेक्षा राख्नु ? आँफैले खरानी घसेर ब्रिद्धाश्रममा बसेर हरिनाम लिनु परे के को आत्मा र परमात्माको पछि पर्नु ।  हैन त ।  

भाबुकताको  काँध चढेर  कसैलाई प्रभाबित र भाबुक बनाउन खोजेको हैन मैले ।  यो त हाम्रो समाजको  प्रतिबिम्ब हो ।  हाम्रो समाजको नैतीक ह्रासको  केबल एक प्रतिनिधी घतलाग्दो उदाहरण मात्र हो ।  जीवनको उतरार्धमा नागरिकको  राम्रो हेरचाह  हुन नसक्नु सामाजिक पाटोका साथै  राज्यको इच्छा शक्तीको कमजोरी पनि हो  ।  पेन्सन निस्किएका ब्यक्तिको त आर्थिक  हेरचाह हुने हुनाले धेरै अपहेलित हुनु नपर्ला ।  तर बाँकीले के गर्ने होला त ? 

ज्येष्ठ नागरिकको रेखदेख  हेतु बृद्धहरुलाई सहुलियत र सुबिधा नभएको पनि हैन। बृद्ध   भत्ता देखी  स्वास्थ्य सेवा निशुल्क उपचारको  ब्यबस्था पनि राज्यले गरेको छ ।  तर त्यो पर्याप्त  नभएको हो कि । त्यसैले दिनहुँ समाजमा अपहेलित अस्ताउन लागेका बृद्धहरुसँग उठबस गर्नुपर्ने हुन्छ ।  सिधा ब्यबहारिक पक्षसँग ठोक्किनुपरेको हुन्छ ।  सायद सुखी मान्छे त कोही पनि अस्पतालमा  आउँदैन होला ।  निशुल्क उपचार भने पनि बृद्धहरुमा देखापर्ने समस्याको थोरै  समस्याको मात्रै  सम्बोधन हुन सकेको जस्तो लाग्छ ।  त्यसैले त उपचारमा  संलग्न चिकित्सकलाई ब्यबहारिक कठिनाइहरु सधैंजसो परेको हुन्छ ।  अनि  यस्ता वाक्यहरु बेलाबखत घत  पर्ने गरी सुन्नुपर्ने हुन्छ । 

हाम्रो समाजले अँगालेको "सानो परिवार सुखी परिवार "मा बृद्धहरु नअटाएको हुनाले एक्लिँदै गएको महसुस गरेका छन्।  उदाहरणका निम्ती १४०० बर्गफुटको घरमा २०० बर्गफुटमा एउटा परिवारको बास हुन्छ ।  बाँकीमा त अहँकारको प्रदर्शन मात्रै  त होला । १२०० बर्गफुटमा  पनि बृद्ध अटाएनन् त ! आधुनिकिकरणको जरो बलियो हुँदै जाँदा बृद्धहरु आधुनिक प्रविधिसँग हेलमेल हुन नसकेर एक्लिँदै गएका छन्।  गाउँतिर काम गर्न सक्ने उमेरका धेरै युवाहरु रोजगारिको लागि बिदेसिएका छन् । नेपालको कूल ग्राह्स्थ उत्पादनको कारीब २५ प्रतिसत उनिहरुकै रेमिटेन्सले धान्ने गरेको तथ्यांक छ ।  बाँकी रहेका बृद्ध  ,बच्चा र महिला मात्रै गाउँमा अडिएका छन्।  त्यसमा पनि आफ्ना  सन्तानलाइ शहरतिरको राम्रो शिक्षा दिने हेतुले महिलाहरु बच्चा लिएर शहरतिर डेरामा बस्ने गर्छन्। ।  अब गाउँतिर  त बाझो खेतबारी र त्यसलाई टुलुटुलु हेर्ने बुढाबुढी  त हुन् ।  

शहरतिर परिवारका  सबै सदस्य आ आफ्नो कामकाजमा ब्यस्त हुन्छन्।  काम नहुँदा मोबाइल टि भि आदिमा ।  बुढाबुढीसँग हिमचिम् हुनुपर्ने नातिनातिना कम्प्युटर ,भिडियो ग्याम आदिमा तनमन हुन्छन् ।  अनि  कोसँग आफ्ना  कुरा राखून्  त बृद्धहरुले ? त्यसैले बृद्धहरुको एक्लोपना  नाप्ने कुनै यन्त्र छैन। किनकी उनिहरु सबैका माझमा  छन्, तर बिचरा एक्ला छन्।  

उमेर ढल्किँदै जाँदा बुढ्यौलि सँगै  केही दीर्घ रोगहरुले पछ्याउन थाल्छन्  ।  उच्च रक्तचाप,घुँडाको दुखाइ, मधुमेह, दम  ,मुटुका  समस्या आदि रोग त बुढ्यौलिका अभिन्न साथी जस्तै  भइसकेका छन्। रोग नै दीर्घ भाएपछि उपचार पनि दीर्घ हुने नै भयो। दीर्घ  रोगको समस्यालाई  सम्बोधन  गर्न सरकारले  निशुल्क उपचारको   प्रयास नगरेको भने हैन ।  पर्याप्त नभएको हो ।  त्यसैले त भन्छु , बृद्धहरु सबैका माझमा छन् । मान्छेको भिडमा ।  निती नियमको भीडमा ।  तर पनि एक्ला छन् ।  


मसँग त आला, सेतो कोट र उपचार लेख्ने कलम बाहेक केही छैन ।  तर आफ्नो हस्ताक्षरले कायापलट गर्नसक्ने सम्पूर्ण  नीति निर्माताहरुलाई मेरो शुभकामना छ ।  

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा