BAATH MUTU ROG

निशुल्कको उपदेशमा शून्य जाँगर ।  ।   

ज्ञान र सीप सिकाउन भत्ताको ब्यबस्था गरिएका अनेक कार्यक्रम छन् नेपालमा ।  सरुवा रोग नियन्त्रणमा  ठूलो  राशिको बजेट खर्च गरिएको छ बर्षेनी । निशुल्कमा ज्ञान कसले लिन्छ दिन्छ र ! त्यो सम्भव पनि देखिन्न  ।  मलाई भने यो बाथ मुटु रोगले निकै आकर्षित गर्ने  गरेको छ ।  तर यसका लागि कतै ट्रेनिङ   र बजेट छुट्याइएको भएपनि आजसम्म थाहा छैन मैले । 

बाथ मुटु रोगको सुरुवात घाँटी दुखाइबाट सुरु हुने गर्दछ ।  घाँटी  दुखेको १ हप्तामा सन्चो हुन्छ र ३ ४ हप्तामा ज्वरो आउने, सरी  सरी घुँडा दुख्ने ,छाती दुख्ने आदि हुन सक्छ ।  जुन बाथ रोगका लक्षण हुन् ।यो बाथ रोग “ग्रुप A  स्ट्रेप्टोकोक्कस “ नामक ब्याक्टेरियाको संक्रमणले  गर्दा हुने गर्छ ।  यसले गर्दा घाँटी   दुख्ने हुन्छ र यसको बिरुध्वमा शरीरमा बनेका “अन्टिबडिले” गर्दा नै बाथ रोगमा देखिने लक्षण देखा पर्ने गर्छ ।  समयमा उपयुक्त यन्टिबायटिकको  प्रयोग गरेमा धेरै हदसम्म  रोक्न सकिन्छ । यसले बिशेष गरी हाम्रो जस्तै बिकासोन्मुख मुलुकका ५ देखी १५ बर्ष उमेरका बच्चाहरुलाई  समाउने गर्छ ।  अन्त्यमा मुटुका भाल्बहरु बिग्रिने हुन्छ ।  जुन  स्थायी रुपमा बिग्रिन्छ ।  

“ डाक्टर साप । बाथ रोगको जस्तै  लक्षण लिएर बच्चा आएको छ ।  हजुर कता हुनुन्छ होला ।  “ भन्दै बेला बेला फोन गर्नुहुन्छ स्वास्थ्यसंस्थाबाट साथीहरुले । सल्लाह माग्न फोन आउने गर्छ ठाउँ ठाउँ बाट ।  मलाई यसरी फोन आउँदा निकै खुशी लाग्ने गर्छ । यसको बारेमा जनचेतना निकै कम  रहेको छ ।  तर यसको बारेमा चेतनामुलक कार्यक्रम चित्तबुझ्दो छैन ।  सरकारले आँफै कर लगाएको र जानी जानी चुरोट खानेहरुलाई हानिकारक चुरोट खान हुन्न भन्नलाई नियमित बजेट होला ।  तर अन्जान गरीब बिरामीको मुटु रोगको स्थिती अप्ठेरो बनाउने बाथ रोगको कार्यक्रम भने छैन ।  मैले नदेखेको र कसैलाई जानकारी भएमा कृपया जानकारी गराइदिनुहोला ।  तर  मुटु रोग लागिसकेपछि उपचार गर्न निशुल्कका कार्यक्रम भने छन् ! 

गुल्मी जिल्ला अस्पातलमा भर्खर भर्खर सुरु भएको थियो मेरो पहिलो सेवा । सम्झना छ अझै मलाई गुल्मी स्याउवा भन्ने ठाउँकी एउटी १४ बर्षिय  किशोरी । रातो बिट हरियो कुर्ता सुरुवाल लगाएर खोक्दै आएकी थीइन् ।  र स्वाभाबिक लाज मान्दै टुसुक्क टुलमा बसेकी थिइन् । आँखा पनि रसिला थिए ।  सबैले गर्ने भाईरल ज्वरोको अनुमान ।  जे सोध्दा पनि छोटो उत्तर मात्रै दिन्थिन् । घरमा    जती चकचके भएपनि  अस्पतालमा बोल्न धक मान्ने ग्रामीण भेगका बच्चाहरुको बिशेषता नै हो। त्यसमाथि  किशोरअवस्था टेकेको केही बर्ष लाजले बोली नै नफुटेको प्रतीत हुन्छ ।  

खोकी लागेको केही दिन भएको रहेछ उनलाई ।  पहिले पहिले पनि घाँटी दुख्दा अदुवापानी जडिबुटी आदि   खाएर ठीक भएको रहेछ ।  बेला बेला भाईरल भनेर औषधी पनि मेडिकल र अस्पातलबाट सेवन  गरेकी रहिछन् । बिरामीको  भिड थियो । ति नानीको बोल्ने जाँगर नभएपनी मलाई भाईरल भनेर पठाउन मन लागेन । अनि  जाँचेर हेर्दा बाथ मुटु रोग लागिसकेको रहेछ ।  र त्यसलाई प्रमाणित गर्न र कति असर गरेको रहेछ भनेर पत्ता  लगाउन बुटवल पठाएको  थिएँ ।  फर्केर एक हप्तापछि उनी आउँदा मैले शंका गरेको मिलेछ ।  उनलाई बाथ मुटुरोग लागेको रहेछ ।  हरेक एक्काईस  दिनमा “पेनिसिलिन” सुइ नित्य रुपमा लगाउनुपर्ने भएछ ।  

ती १४ बर्षिय  किशोरीको एक दिन बिहे हुनेछ ।  त्यतिखेर सम्म मुटु रोगको अवस्था पनि अहिलेको भन्दा जटिल हुनेछ ।  बिहे पछि आमा बन्ने रहर अवस्य हुनेछ ।आमा बन्नुपुर्व सहि चिकितसकिय सल्लाह  भएमा धेरै जटिलता नाआउला पनि ।  तर सामान्य अवस्था जस्तो सजिलो भने पक्कै हुनेछैन तिनलाई ।  जोखिमपूर्ण अवस्था हेरेर गर्भ  नबोक्न पनि सल्लाह  दिनुपर्ने हुन सक्छ ।  कस्तो बिडम्बना ।  यति सोच्दै उनलाई बिदा गरेको थिएँ मैले ।  

त्यसपछि त सधैं चनाखो हुन प्रेरणा जाग्यो ।  बाथ रोग पत्ता लगाउन  मलाई ।  समयमा पत्ता लगाउन सके जटिल अवस्थामा पुग्न बाट बचाउन सकिने हुँदा यो रोग नछुटोस भन्ने सधैं मनासपटलमा  घुमिरहन्थ्यो ।  शायद छुटेका पनि छैनन् होला । मैले आशा गरेभन्दा बढी नै रहेछ यसको समस्या ।  यसको बारेमा सामान्य जानकारी हुनुपर्ने ब्यक्तिमा पनि नभएको पाएँ मैले ।  त्यसैले पहिले मेडिकल बिधा पढ्नेहरुमा जानकारी गराउन पर्ने लाग्यो । अनि  नजिकको सि. यम. ए पढाई  हुने कलेजमा समय मागेर १ घण्टामा अ हे व /अ न् मिको मस्तिष्कमा अनेक तरहले भर्ने प्रयास गरेँ ।  अरु ट्रेनिङहरु चलिरहेको बेलामा पनि बिचमा केही समय निकालेर मिलेसम्म यसको बारेमा भन्ने गरेको छु मैले ।  यो राम्रो फोरम थियो सबै माझ यसको महत्व उजागर गर्नका निम्ती ।  एक दिन सरकारी कार्यक्रम बन्ला र भत्ता बाँडेर चेतना फैलिएला भनेर पर्खिने हो भने त जुग नै बित्ने ! 

शायद त्यसैको  परिणाम होला ।  अहिले समय समयमा फोन आउँछ बिभिन्न स्वास्थ्यसंस्थाहरुबाट ।  जे होस्। बालबच्चाहरुमा  बिशेष देखिने यो बाथ रोग समयमा नै पत्ता लाग्न थोरै भएपनि टेवा पुगेको छ भन्ने महसुस हुन्छ ।  जुन पर्याप्त छैन ।  यो चेतनामूलक  जानकारी स्कुलका शिक्षकमा र ८ ,९ कक्षामा पढ्ने बिध्यार्थीमा पनि गराउन सकियो भने अझै प्रभावकारी हुने थियो।  जुन मैले गर्न सकिन । बजेट भएन ।  शायद त्यसैले कसैको साथ पनि भएन । त्यसैले त भन्छु निशुल्कको उपदेशमा जाङर कहाँ देखिन्छ र! सबैको भलो होस् ।  नव बर्षको शुभकामना ।  

उही 
सधैंको भुटो 
२०७५ बैशाख १ गते

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा