एसिडको बोत्तल ।


महाकवि देवकोटाले "के नेपाल सानो छ"  निबन्धमा  सानो मानिएका कुराहरुको महत्वलाई ओजपुर्ण बनाएका छन् । उदाहरण स्वरुप उनी भन्छन् , आँखाको गेडी सानो हुन्छ । तर सन्सार हेर्न अति आवस्यक हुन्छ । महत्व विशाल छ । त्यस्तै दैनिक कृयाकलापमा पनि स-साना कुराहरूको महत्व निकै  बढी हुन्छ । जुन कुरा सामान्य अवस्थामा ओझेलमा परेका हुन्छन् । पेट दु:खेको बेला दुखाइ कम गर्ने एउटा सानो गोलीको जुन महत्व महसुस हुन्छ, अरु समयमा बिर्सिरहेका हुन्छौं  । कसैको व्यक्तित्वको ओज निभ्न एउटा सानो घटना काफी हुन्छ। क्रान्तिको जग पनि एउटा विचारको झिल्काबाट नै सुरु हुने गर्छ । डढेलो लाग्न एउटा सानो आगोको झिल्का पर्याप्त हुन्छ । कसैको भविष्य कुनै वेला एउटा चिठीले निर्धारण गर्ने क्षमता राख्दछ । हाम्रो वरिपरि त्यस्ता अनेकौं दृष्टान्त देख्न पाइन्छ । 

फोक्सुन्डो ताल घुम्ने ठूलो रहर थियो । त्यो रहर पूरा गर्ने क्रममा साना मानिएका कत्ति कुरा निकै महत्त्वपूर्ण महसुस हुन्छ । परिस्थितिले सबै कुराको महत्व हेर्ने र अनुभव गर्ने दृष्टिकोण  परिवर्तन गर्ने रहेछ।  

धेरै भुमिका बाँधेकोमा रिस पनि उठिसक्यो होला । तर भुमिका आफैमा गौण कुरा लागे पनि सान्दर्भिकता दर्शाउन विशेष  हुन्छ । फोक्सुन्डो जाने क्रममा डोल्पाको जिल्ला अस्पताल पनि अवलोकन गर्ने मन हुन्छ । सोही  समयमा त्यहाँ कार्यरत  डाक्टरले एउटा बिरामीको बारेमा  चिकित्सकीय सल्लाह माग्न खोज्छन् । 

बिरामीलाई एक महिनादेखि ज्वरो खोकी लागिरहेको रहेछ । तौल पनि घट्दो क्रममा रहेछ । जोसुकै डाक्टरले पनि त्यस्ता लक्षण हुँदा टि बि को शंका गर्न सजिलै सक्छ । त्यसको लागि मलाई सल्लाह माग्नुपर्ने जरुरी देखिन ।  

त्यसैले सोध्छु " यस्तो मिल्दोजुल्दो लक्षणहरु  हुँदा खकारमा टि बि छ कि छैन भनेर हेर्न पर्ने कुरा सबैलाई थाहा  छ ।  खास कुरा के होला अरु ? " 

उनले  भन्छन् , " खकार जाँच गर्ने त हो । खकार जाँच नगरी टि बिको औषधि चलाउन सकिन्छ कि भनेर राय मागेको। " 

खकार जाँच नै नगरी फोक्सोको टि बि को शंकामा औषधि चलाउन हुँदैन । रोग पुष्टि गर्न त खाकर जाँच सम्भव हुँदासम्म त गर्नैपर्ने हुन्छ। त्यो खकारले टि बी को किटाणु देखाए उपचार सुरु गर्न सजिलो हुन्छ ।  नदेखिएको खण्डमा अरु धेरै कुराहरुलाई हेक्का राखी विशेष अवस्थामा औषधि दिन सकिन्छ ।  सो बिरामीको खकार नै चेक नगरी त टि बि को औषधि  सुरु गर्नु एक किसिमको स्थापित चिकित्सकीय नियम मिचिन जान्छ । कम्तिमा ६ महिना खानुपर्ने औषधिलाई हचुवामा प्रयोग गर्नु बिरामीप्रति अनुत्तरदायी हुनु हो । यदि टि बि होइन रहेछ भने फजुलमा प्रयोग गरिएका कडा औषधीका "साइड एफेक्ट्स" आफैँमा रोगभन्दा हानिकारक हुन सक्छ ।  

तर खकारको जाँच गर्न ल्याबमा चाहिने एउटा एसिड सकिएको एक महिना बितिसकेको रहेछ । त्यसैले खकार जाँच गर्न सकिएको रहेनछ । कस्तो दुर्भाग्य ! 

एसिड ल्याउने प्रयास नगरिएको पनि होइन । दुई चार साना सिसिका बोत्तल ल्याउन कति नै भारी हुन्छ र ! तर त्यहाँ पुग्ने सहज बाटो भनेको नेपालगन्जबाट प्लेनमा जानु हो । तर प्लेनको नियम अनुसार एउटा सानो एसिडको बोत्तल लैजान पनि पुर्ण वर्जित रहेछ । कसैले लुकाएर लैजान खोजे पनि भेटिएमा अक्षम्य अपराध जस्तै रहेछ ।  त्यति सानो कुराले महिनै देखि बिरामीहरु स्वास्थ्य सेवाको सानो तर संवेदनशील सेवाबाट वन्चित रहेछन् । रोग निदान गर्नुपर्ने अवस्थामा त डाक्टर  निरीह हुनुपर्ने अवस्था रहेछ । सडक बाटोबाट आउन तीन दिन लाग्ने रहेछ । त्यति सानो कुरा खरिद गरेर ल्याउन ठूलो बजेट खर्च गर्न पनि अख्तियारकै डर मान्नुपर्ने अवस्था छ । प्रशासनको कागजी भाषाले ठूलो बजेट खर्च मात्रै देख्छ । तर सानो कुराको ठूलो महत्व नाप्नै नसक्ने रहेछ ।  यसको जिम्मेवार को हो त ? 

प्रथमतः त्यसरी दुर्गममा रहेका कार्यालयमा जिम्मेवार कर्मचारीले धेरै समय अगाडि नै आवस्यक पर्ने सामानको प्राप्ति प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ढिलासुस्ती र असंवेदनशीलता नै हामी सबैको परिचयपत्र जस्तै बन्न पुगेको असत्य होइन । कुनै दिन यो परिचय मेटिने छ भन्ने आशा मात्रै राख्न सकिन्छ । कार्यालयका कति इमान्दार व्यक्तिहरु पनि प्राणालिबाट झर्को मानेर खुम्चिएर बसेका हुन सक्छन् । जसको आवाज कतै सुनिँदैन । कर्यालयको काम कर्तव्यको महत्व बुझ्न सोही सम्बन्धिको कार्यालय प्रमुख हुन निकै उत्तम हुन्छ । त्यो पछिल्ला वर्षहरुमा देखिएको राज्य प्रणालीको कमजोरी हो । र आज नभ्याएको खण्डमा नागरिकता भोलि बनाए पनि हुन्छ भन्ने मानसिकताको वातावरणले अस्पताल चल्दैन । 

सो बिरामीलाई हामी टि बि को सम्भावना भएपनि बिरामीको सम्पुर्ण अवस्था केलाउँदा टि बिको औषधी सुरु नगर्ने निर्णयमा पुग्छु म  ।  " लजिक" र अनुमानका भरमा परिस्थितीसँग सम्झौता गरेर उपचार गर्न  कसलाई मजा आउला र ! टि बि को निदान हेतु खकार जाँच्नकालागि नेपालगन्ज वा काठमाडौँ जान सल्लाह दिनु कति लज्जास्पद हुन्छ होला । 

सुन्दा सामान्य एसिड । हेर्दा सानो बोत्तल । खकार जाँच सामान्य र सर्वसुलभ । अनि सजिलै उपचार हुने रोग । ठूला कुराप्रतिको  मात्रै राजनैतिक र मिडियाको चासोले ओझेलमा परेका स-साना संवेदनशील  विषयहरु कति होलान् !! 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा