रमाउने बानी

रमाउने बानी


" डाक्साप  त हाम्रो ठाउँमा पनि  रमाउन थाल्नुभएछ ।  जे होस् सधै अनुहारमा खुसि देखाउनुन्छ ।  " एक नियमित बिरामीले एक दिन भने ।  एक छिन घोत्लिएँ म ।  अनि स्मरणमा लाम्बद्ध गरी आफ्नै र साथिभाइका बिगत र बर्तमान नाच्न थाले ।  

सानो छँदा टि भि देखेर नै रमाउन सकिन्थ्यो ।  फूल र चरा  देखेरै मुग्ध भइन्थ्यो ।   ।  समयको पनि उमेर ढल्किँदै गएछ जस्तो छ  । समयलाई  बुढ्याउली लागेको हो कि परिपक्व   भएको हो  ,रमाउने कुरा पनि परिवर्तन हुँदै गएछन् सायद ।  पोखरा छँदा लेकसाइड र मनिपालका हाता भित्रै रमाइन्थ्यो ।  सुन्दर र सितल बातावरण    । सबै तनाब हरण हुने ।  आफ्नै उमेर हो कि समय र परिस्थिती हो ।  चित्त बुझाएर रमाउने भएको हो कि चित्त प्रफुल्ल भएर रमाउने भएको  भन्ने एकीन गर्न सकेको छैन मैले ।  शायद बानी परेछ ठाउँ ठाउँको ।  राज्यलाई पनि म रमाइरहेकै र भुलिरहेकै मानिरहेको होला जस्तो लाग्छ ।  तलबभत्ता  त दिएकै  छु भनेर गर्व गरेर आनन्द मानेको हुनुपर्छ। 

आउनुहोस् साथी ।  दुर्गम बसाइको  रमाइलो यात्रामा  केही क्षण रमाउन ।  सुरुमा कहाली लाग्ला । नआत्तिनुहोला ।  राराको छोटो समयको  रमणिय  यात्रा तय गरेजस्तो हुँदैन ।  यो त मनोरम बातावरणजस्तो  देखिने पर्दा पछाडि लुकेको अभाव र असुबिधाको भोगाइको कथा हो ।  यो मेरो मात्रै कथा हैन ।  धेरै साथीहरुसँगको भलाकुशारीबाट मन्थन गरिएको उकुसमुकुसको प्रबाह हो । असारे भेल बढेको  छ ।  बाटो चिप्लो भएर गाडी कता चिप्लिने भन्ने त्रास छँदै छ ।  पहिरोले कता पुरिने हो कि भन्ने पनि डरले निद्रा खल्बलिन्छ ।  ३ -४ महिना त बाटो अबरुद्ध  भएरै गाडी चल्दैनन् ।  हुन त राजधानीमै तलाउजस्तो भएर डुबेका घटनाले दुर्गमताको प्रश्न खडा  त हुन्छ ।  तर राजधानीमा छिटो समाचार बन्छ ।   ।  दुर्गमको समाचार ओझेलमा पर्छन् ।  आफुले खटाएका कर्मचारी पिच गरेको बाटोमा मस्त यात्रा तय गरेको देख्छ होला राज्यले । त्यसैले  त दुर्गममा जान धकेलिरहन्छ हामी डाक्टरलाई   ।  

जसोतसो जोखिमको यात्रा गरेर कर्मथलो पुगिएला र बर्षा  रितुमा यात्रा सकेसम्म नगरौँला ।  कर्मथलो पनि उस्तै दुई चार दिन डाँडाकाँडा हेरेर रमाउने हो ।  त्यहि डाँडाकाँडा  रुख र माटो ।  त्यसपछि त पट्यार लाग्छ । कतै घुम्न जाउँ भने सानोठुलो गाडीको सुबिधा कार्यालयमा हुने त सपना नै हो ।  बाहिर चल्ने  सार्वजनिक यातायात भेटिन्न ।   ।  भेटियो भने बाख्रा खाँदेजस्तै खाँदिने हो ।  त्यसैले हिंड्ने बानि बिकास भएको होला ।  कहाँ बजारको चहलपहलबाट  एक्कासी चराको चिरबिर र किराको किरकिर सुन्न पर्ने हुन्छ । फिल्महलको परिकल्पना त टाढैको कुरा भयो ।  आफ्नै मोबाइलको पर्दामा रमाउन पाए सौभाग्य ।  तिनै डाँडाकाँडा र हरियालीमा आँखाले सुख मान्न थालेको पत्तै चल्दैन ।    ।  प्रियजन सँग आधा घण्टा भन्दा बढि फोन गर्ने बानी पनि  बिस्तारै  हट्दै जान्छ ।  नेट्वोर्कले साथ दिए पो कुरा गर्नु ।  नेटको  सुबिधा त दुर्लभ कुरो नै भयो । तर पनि बानी  परिसकेछ सायद ।  नेट इत्यादीमा फजुल खर्च हुने समयको बचत हुने मानेर  मेरो कार्यक्षमता बढ्ने सरकारले  सोचेको होला ! सरकारी डाक्टर त काम नगरी गफ र सामाजिक सन्जालमै भुल्ने डरले होला संचार बिनाको मुस्कानसहितको अटुट सेवाको परिकल्पना गरेको ! के गर्नु  ।  यो दिमागमा  सबै रोगहरुको निदान र उपचार अटाउने भए त त्यो फेस्बुक चलाउन मात्र त ईन्टरनेटको लोभ लागेको हैन ।  

पानी परेपछि भने तीन दिनसम्म बिजुलीको ठेगान हुन्न ।  मोबाइल बन्द होला कि भनेर चार्ज गर्ने चटारो मात्र हुन्छ ।  स्वास्थ्य सेवा भएकोले मोबाइल "स्विच अफ " हुनु पनि भएन ।  हुन त अब सम्पर्कबिहिन हुने पनि बानि परिसकेछ ।  एकान्त र सन्सारबाट  टाढै   हुँदा रमाइलो नमानेर रुन भएन ।  असुविधाका झटाराहरुमै रमाउने  बानि परिसकेछ  ।  रोगको निदान र उपचारमै भुल्न सक्ने भइसकिएछ ।  ।  बिरामीहरुसँग उठ्बस गर्ने बानि परेछ ।  बिरामीका  औषधी  नपाएका गुनासो सुन्ने र मिठो मुस्कानसहित आएको छैन भन्ने  बानी  परिसकेछ ।  यस्तो शालिन र कठिन बानि परेको हुनाले त राज्य मौन छ यी सबै पिडा र लुकेका उकुसमुकुसप्रति ।  

पिज्जा खान त बिदामा जानुपर्छ ।  गाउँ तिरको खानपिनमा रमाउन नसक्ने कस्तो शहरमुखी भएको होला भनेर सबैले सोच्लान् ।  बिबिधता जिवनको मरमसला हो ।  एकरुपताले जीवन खल्लो हुन्छ ।  तर लोकल कुखुरो र सर्बब्यापी लोकल ठर्रा बाहेक अरुमा शहरतिर नलम्किँदासम्म जिब्रोले स्वाद लिन पाउने सौभाग्य हुँदैन ।  त्यो स्वाद पनि मजस्तै  साकाहारी परे भने त के काम ।  तैपनी मलाइ एउटै साकाहारी स्वादको  बानी परिसकेछ ।  एक कप चियामा नै सन्तोष मानेको छ हृदयले ।  कति छिटो सम्झौता गरेछ यो हृदयले ।  अचम्म ! त्यहि बानि परेर त देशको  सेवा निरन्तर चलिरहेको छ । जनताको सेवामै समय बगिरहेको छ । 

बसाइमा त स्वर्गीय आनन्दको लेस खोज्न पर्यो ।  क्वार्टरका नाममा भएको त्यहि थोत्रो मुडाभन्दा ठूला भित्ता भएका टिनले छाएका जिर्णोद्वार नगरिएका छतमा मुसाको म्याराथुन सधैं  सुन्न पाइने अस्पताल भवन नजिक उभिएका लामबद्ध एक तले घरहरु पनि भूकम्पले धुलोमा मिलाएपछी बसाइमा त आनन्द परालमा सियो खोजेजस्तै हो  ।  त्यहिपनि सेवा निरन्तर चलिरहेको छ ।  त्यसमा त्रुटि छैन ।  आफ्ना  ब्यक्तिगत जीवन लगेर बिरामीमा पोख्न त पाइएन ।  केहि क्षण  उठ्बस हुने बिरामीले त पहिरन देखेर ठूलै मान्छे देख्छ ।  सुबिधायुक्त नै सोच्छ ।  त्यहि ठाउँमा समाज र स्थानियले स्वर्गिय आनन्द देख्ने बेला आफु नरमाएर नि भएन ।  पाहुना भए पो गुनासो गर्नु  ! सेवा दिने कर्मचारी पो परियो त ।  

सरकारले नगरपालिकाको घोषणाको बिकास द्रुत गरेको छ ।  त्यहि द्रुत गतीमा पानि बिजुलिआदिको सुबिधा भने घसृरहेका जस्ता छन्।   बर्षा याममा बाहेक अरु बेला धाराबाट स्वा स्वा आवाज मात्र सुन्न पाइन्छ ।  नित्यकर्म पूरा गर्न पनि सलाइनका बोट्तल प्रयोग गर्नुपर्छ ।  पानी  भन्दा सलाइन नै धेरै होला सायद ।  अरु कर्मका लागि त नित्य खोलाको प्राकृतिक सावर त छँदै छ ।  आफै त त्यस्तो प्राकृतिक सावरको शरण परेको बेला कसैले ट्वाइलेट सफा नहुने अस्पताल भनेर नाक चेप्र्याउँदा संबेदानाबिहीन  कटुताको महसुस हुन्छ ।   
यस्तैमा  रमाउने बानि परेर त होला सरकारका आँखाले हामीलाई कदर गर्न नखोजेको हुनुपर्छ। कदर गर्दो हो त कहिलेकसो हालखबर सोध्नेथियो होला जिवनचर्याका बारेमा ।  बसाइ भोगाइ र अप्ठ्याराका बारेमा ।  सधैं स्टोरको मौज्दात ,कर्मचारीको विवरण  आदिमा मात्रै ताकेता गर्नेलाई असुबिधाको  महसुस  कसरि हुन्थ्यो र ! जनताको सेवा बढाउन  मात्रै ध्यान दिने  कि सेवा दिने कर्मचारीको सुबिधामा पनि  ध्यान दिने भन्ने कुरामा आत्ममन्थन सबैको हुनुपर्ने हो कि ।  दु:ख ,अभाव र असुबिधाले मान्छे खारिन्छ भन्ने सिद्धान्तलाई प्रमाणीकरण गर्न हामी  तयार छौँ ।  तर असुविधा ब्यबस्थापनको कमजोरी हो ।  अभाव स्वच्छ  दिर्घकालिन  योजना नहुनुको परिणाम हो ।  दु:ख ब्यक्तिबिशेषको महसुस हो ।  यसमा सबैको ध्यान पुगोस् भन्ने सदिक्षा  ।

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।