अस्पतालबाट " रेफर "किन नहोस् त ?

अस्पतालबाट  " रेफर "किन नहोस् त ?

एमबिबिएस पास गरेपछि तेस्रो  बर्षमा हिडिरहेको छु म ।  म हिडिरहेको छु किनकी म काम गर्ने निकाय कागजमा दौडिए पनि यथार्थमा हिडिरहेका  जस्ता छन्।  म समयसँग दौडिन खोज्छु ।  म पाइला अगाडि सार्न खोज्छु ।  रफ्तार बढाउन खोज्छु ।  तर मेरो काम गर्ने सरकारी  अड्डा सधैं हिडिरहेको हुन्छ ।  किनभने बिरामीको आशा अनुसार सेवासुबिधा गतिमान  छैन ।  सेवाग्राही भने म भन्दा छिटो दौडिन  थालेर हो कि संचार, जनचेतना   र यातायातले फड्को  मारेर हो । सेवाग्राहीले बिशिस्ट छिटो सस्तो र राम्रो सेवा खोज्ने गर्छन्।  समस्या सेवाको  खोजीले भन्दा पनि उनिहरुको आत्तुरिपन र अर्धचेतनाले खडा गरेको छ ।  बिरामी जाँच्नु ,परामर्श दिनु  र उपचार गर्नु त मेरो कर्तब्य नै हो ।  हो। म सधैं सबै रोगको उपचार गर्न असमर्थ छु ।  जानेसम्म गर्ने प्रयास भने अवस्य गरेजस्तो लाग्छ ।  बाँकी केसहरु त माथिल्लो सुबिधायुक्त  अस्पातलमा  प्रेषण गर्नुको बिकल्प हुँदैन  म सँग ।  जसलाई मैले  प्रेषण  पुर्जामा "रेफर " भनेर लेख्ने गर्छु ।   ।

सामान्य रुघाखोकीका  बिरामीदेखि लिएर पक्षघातजस्ता अनेकन बिरामी अस्पतालमा सेवा लिनका लागि अाइपुग्छन्   ।  धेरै बिरामीहरु जिल्ला अस्पतालको  तहमै उपचार तथा परामर्श गर्न सकिए पनि केही बिरामीको निदान वा उपचारको लागि माथिल्लो निकायमा प्रेषण  गर्नुपर्ने हुन्छ ।  उदाहरणका  लागि मानौँ कोही बिरामीका लक्षणबाट पक्षघात भन्ने कुरा निदान गर्न सकेपनि थप उचित निदान गर्नका लागि उपकरण र बिशेषज्ञ सेवाका  निम्ति कागजमा "रेफेर्ड टु हाइयर सेन्टर" लेख्नुपर्ने हुन्छ ।  लडेर आएको  बिरामीको एक्स रे गरेर हेर्दा शल्यक्रिया गर्नुपर्ने देखिएमा प्राथमिक   उपचार गरेर पठाउनुपर्ने हुन्छ ।  निदान र उपचारको पूर्ण सेवा नभएका बिबिध समस्याहरुमा मैले "रेफेर " गर्नुपर्ने हुन्छ ।  अर्थात  जिल्ला अस्पतालको  टिमले उपकरण  वा बिशेषज्ञ सेवाको  अभाबमा प्रेषण   गर्नुपर्ने बाध्यता छ ।  कुनै भर्ना गरिएको बिरामीमा सुधार नदेखिएमा वा नयाँ लक्षण देखिएमा प्रेषण गर्नुपर्ने किटान गरेर बिरामीको उचित उपचारको  लागि "रेफेर " भनेर पठाउनुपर्ने हुन्छ ।  त्यो बेला बिरामीले केही  आक्रोश केही चिन्ता मिसिएको कटु स्वरमा भन्ने गर्छन् " पहिले किन नपठाएको ? "  कुन बिरामीमा उपचारको  क्रममा  जटिलता अाउला भनेर त कसरी भबिष्यबाणी  गर्नु !

अस्पतालको उपचार गर्ने सामर्थ्य नहुँदा " रेफर"  गर्नु अस्वाभाबिक हैन ।  तर रेफर  गरेर मात्र सधैं उम्किन  कहाँ सकिन्छ र ? कहिलेकसो त बिरामी  माथिल्लो निकाय पुग्न आर्थिक रुपले असमर्थ हुन्छन् भने कोही बिरामी सुबिधायुक्त अस्पातलमा बारम्बार लैजाँदा थाकिसकेका हुन्छन् ।  माया मारिसकेका हुन्छ्न्  ।  कोही भने समाजको  गाल जोगाउनलाई मात्र   भए पनि उनीहरुले  सबैभन्दा ठूलो   अस्पताल  मानेका जिल्ला अस्पतालसम्म  ल्याउँछन् ।  घर र बाहिर दुबैतिर पठाउन नसकेपछी भर्ना गर्नुको बिकल्प कहाँ हुन्छ र ? समय समयमा त्यस्ता सिकिस्त बिरामीहरुले जिल्ला अस्पताल भरिएको हुन्छ ।  कुनै "टर्सरी अस्पताल " (उपचारको निम्ती सबैभन्दा माथिल्लो स्तरको अस्पातल ) भन्दा कम हुन्न ।  अभाब त केबल "टर्सरी अस्पतालको " सेवा सुबिधाको हुन्छ ।  बढी हुन्छ ड्युटी  डाक्टरको मनमा बिरामीको  इहलीला समाप्त हुने सन्त्रास ।  खर्चको जोहो गर्ने प्रयास गर्दा छोटो समयमा पर्याप्त  पुग्दैन ।  अस्पातलबाट गरीब बिरामीको लागि प्रदान गर्न सकिने  प्रेषण   खर्च ४००० सम्म दिएर मात्र पनि भएन ।  बाँकी रहेको खर्च कताबाट  जुटाउने हो ! त्यसैले हरेक अस्पतालमा  अनिबार्य  " गरीब बिरामीको कोष " स्थापना गर्नुपर्ने हो कि ? त्यति थोरै प्रेषण खर्चको त लोभ गरेर भन्सुन गरि हत्याउने पहुचवालाको गिद्ध दृष्‍टि त्यस कोषमा पनि नपर्ला त भन्न सकिन्न ।  तथापि त्यसको आबस्यकता भने समय समयमा खट्किएको महसुस हुन्छ  ।  शायद अहिले  स्वास्थ्य बिमा लागू  भएका जिल्लाहरुमा दामको  चटारो बिनाको स्वास्थ्य सेवाको  प्रत्याभुती भएको होला भन्ने आशा गर्छु  ।

" रेफेर "  अर्थात प्रेषण भन्ने शब्दको अर्को पाटो  पनि सबैलाई ज्ञान  हुनु जरुरी देखिन्छ । अस्पतालमा  भिड्भाड गरेर बिरामीका टाठाबाठा पल्टिने गन्नेमान्ने आफन्तजनले प्रहरिले अपराधीलाई जस्तो डाक्टरलाई  बयान लिन थालेपछि बिचरा  आत्तिएको डाक्टरले के सल्लाहा दिने होला ! त्यस्पछि त सामान्य रुघाखोकि पनि बाहिर पुग्ने अवस्था हुन्छ ।  " यहाँ भन्दा राम्रो उपचार कहाँ हुन्छ ? डाक्साप ।  "  भनेर सोधिने जिज्ञासामा त वीर अस्पतालमा  काम गर्ने डाक्टरले पनि देश बाहिर नै भन्नुपर्ने हुन्छ होला। मैले अञ्चल अस्पताल  वा क्षेत्रिय अस्पताल भन्नुपर्ने हुन्छ ।  राम्रो उपचार र परामर्श पाउनु त जनताको अधिकार हो ।  तर बिरामीलाई रोगको प्रकृति र त्यसको सम्भाबित उपचार  भनेर आफूले जानेको उपचार गर्न खोज्दा " ग्यारेन्टि  " भन्ने शब्दले फेरी अत्ताउँछ ।

सामान्य समस्या जस्तो देखिएकोले स्थानिय   तहमै उपचार गर्न सकिने आँकलन गरेर औषधी गर्न खोज्यो ।  बिरामीको आशंकाले ठीक नहुने पीर पर्छ ।   ।  के गर्नु ! चौबिसै घण्टा जिवन्त र सुक्ष्म रुपमा चलायमान रहने इन्जिनियरिङको अद्भुत नमूना मानब शरीरको "ग्यारन्टी " त कसरी लिनु ! बैज्ञानिक आधारमा  अधिकाम्समा देखिने समस्याको लक्षण चिन्ह र परीक्षणले रोगको निदान र उपचार गर्ने हो । ठ्याकै  शत प्रतिशत भन्नलाई न त रोगले  गणितिय सूत्र मान्छ न त मानब शरीरले  ।  "रेफेर " गरे " किन " रेफेर" गरिस् ?  र "रेफेर" नगरे " किन गरिनस्? "  भनेर  स्वास्थ्यकर्मी र डाक्टरलाई अप्ठ्यारोमा पार्न सुहाउँछ र ? केबल सेवाको  दुरी र अबिश्वासको खाल्डो  बढाउने  प्रपञ्च हैन भनेर कसरी भन्नु ? यो मामिलामा बिरामीका आफन्तजन देखी  राजनैतीक दलका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसम्म अछुतो छैनन् ।  जानकारी लिने भाषाभन्दा दमनको अप्रिय भाषा हाबी भएको देखिन्छ ।  अब सम्रक्षण  कता खोज्न जाने हो ?

" यो अस्पताल त रेफरिङ्  अस्पताल  हो ।  अन्त   पठाइहाल्छन् ।  के आउनु ? " भन्ने ब्यक्तिहरु धेरैजसो अस्पातल वरिपरिका  स्थानिय  ब्यक्तिहरु हुने गरेको मैले पाएको छु ।  अरु साथीहरुको पनि अनुभव   यस्तै होला ।  कतिका त तीता र टिठ्लाग्दा अनुभब होलान्  ।  अचेल लापर्बाहीको आरोप र तोड्फोड त नसुनेको नभोगेको बिरलै होलान्  ।  ति ब्यक्तिहरुले के कुरा नबुझेको जस्तो लाग्छ भने त्यही अस्पातल अलि दुरदराज जनताको  लागि भरोशाको केन्द्र हो ।  वीर अस्पातल सरह हो ।  अस्पातल आउन आईतवारको  साइत मिलाएका हुन्छन्। स्थानियबाट नमिठो प्रतिकृया आउनु शायद नजिकको तीर्थ हेला भएर  होला ।  हुन सक्छ सेवामा अस्पतालले  पूर्ण  विश्वाश दिलाउन नसकेको हो कि ।  अथवा यातायातको सुबिधा घरदैलोमै, इष्टमित्रको जमात  र रुपैयाको त्यति बिधि  खट्को नपर्ने भएर पनि बाहिर जाने हुटहुटी हुने होला ।  अरुबेला चासो नराख्ने स्थानियहरु बिरामी हुँदा भने बल्ल अस्पतालको परिवेस सतही रुपमा थाहा पाउँछन् ।  अनि आमाको काखमा बसेर मामालाई सत्तोसराप गर्छन् ।

सबै रेफर गरिएका बिरामी सरकारी अस्पातलमै उपचार पाऊन् भन्ने मनसायले पठाए पनि सबै सरकारी अस्पातलमै  पुग्छन् भन्ने सुनिश्चित हुँदैन ।  निजी अस्पतालको  महँगो शुल्क आँफै रेफेर  मागेर गएकाले त तिर्न सक्लान् ।  तर सामान्य ब्यक्तिलाई त घरखेत बेच्नुपर्ने हुन सक्छ ।  र सबै सरकारी अस्पातल चाहिएको सेवा दिन अहिलेको अवस्थामा सक्षम छन् भन्ने पनि छैन ।  जे भए पनि सरकारी अस्पातल नै बिरामीको पहिलो रोजाइ हुनुपर्छ। र त्यसको बातावरण  सिर्जना  गर्नु सबैको दायित्व हो ।  कुनै " रेफर " त बिरामीले मौकाको फाइदा उठाउने कुटिल  उद्देस्यले रेफेर लेख्दिन बारम्बार दबाब दिने गर्छन्। । धेरै जसो दुर्घटनाका केसमा आर्थिक  भार अर्कैमा थोपरिने हुँदा मान्छेको स्वार्थी मन जाग्दो रहेछ ।

अस्पतालमा  काम गर्ने स्वास्थ्यकर्मी र डाक्टरलाई उपचार गर्ने कुरोमा भरपुर सहयोग ,आबस्यक विश्वाश र सकारात्मक सोच राख्न सकेमा सेवामा सुनमा सुगन्ध थपिने  थियो। सबैले काम गर्ने कर्मचारीको मर्म बुझ्नुपर्ने हुन्छ ।  सुरक्षाको सुनिस्चितता हुनुपर्छ। नभए त तितोपनाको बेस्वादिला घटनाहरुको स्वाद अस्पतालका भित्ताभित्तामा गढेर बस्नेछन् ।  कटुताको ईतिहास  बारम्बार दोहोरिनेछन् ।  र त्यो हत्तपत्त मेटिँदैन ।  त्यसपछि   त कसैको वास्ता नपुगेर अस्पताललाई   कालान्तरमा दिर्घायु  असर पर्नेछ ।  आफ्नो अस्पताललाई  सरोकारवाला सबैले शब्द खर्चेर भन्दा समय खर्चेर माया गरौँ ।  जागिर मात्र खान गार्हो छैन ।  तर सेवा वजनदार हुन सक्
दैन ।  म हिडिरहेका बेला दौडिएर स्तरोन्नती भएका अस्पतालहरु कागजमा जति दौडिए पनि व्याबहारिक रुपमा  बामे सरिरहेको प्रत्यक्ष पाएको छु ।  जसरी प्रसुति सेवामा धेरै जिल्लाहरुमा कार्यसम्पादन प्रशंसनीय रहेको छ । त्यसरी नै बामे सर्दै सर्दै एक दिन दुर्गमका अस्पतालहरुले  बिभिन्न बिधाका  बिशेष सेवा दिएर छलाङ मार्ने छन् भन्ने कुरामा आशाबादी छु ।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा