बिरामीको आशा र मेरो निरीहता

पाहाड-हिमालका दुर्गम गाउँहरुमा स्वास्थ्य सेवाको पहुँच छैन। त्यस्ता ठाउँका मान्छे बिरामी परे भने, कति दिन लगाएर स्वास्थ्य चौकी वा जिल्ला अस्पताल पुग्छन्। कति त भगवान भरोसा, त्यतिकै बसिदिन्छन्। यस्ता गाउँहरुलाई लक्षित गरी हुने स्वास्थ्य शिविरहरुमा उपस्थिति हेर्दा अनुमाग गर्न सकिन्छ कि त्यहाँका मानिसहरुको स्वास्थ्य सेवामा पहुँच कस्तो छ भनेर। उकाली-ओराली छिचोल्दै आशाको पोको बोकेर एकीकृत घुम्ती शिविरमा आउनेहरु सयौँ हुन्छन्। प्युठानको एउटा गाउँमा भएको घुम्ती शिविर पुग्दा मैले अनुभव गरेका केही कुरा यहाँ पोख्न चाहन्छु।
चाउरिएका अनुहार, कुप्रिएका ढाड, दमले पीडित शरीर, खिइएका घुँडा, भारीले थिचेर गलेका ज्यान, सँधै दुखेर फत्रक्कै पार्ने पेट, जन्मदैदेखि विकास हुन नसकेका शरीर आदि धेरैको भरोसाको केन्द्र बन्छ गाउँमा पुग्ने शिविर। आफ्ना केही न केही स्वास्थ्य सम्बन्धी गुनासो बोकेर शिविरमा ओइरो लाग्नेहरु कति हुन्छन् कति। घुम्ती शिबिरमा जिल्लाबाट आएका सरकारी डाक्टरले केही फरक गर्लान् र केही चमत्कार हुन्छ कि भनेर आशा बोकेका निर्दोष मनहरुसँगको दुई दिनको साक्षातत्कार मेरो लागि अविस्मरणीय रह्यो।
त्यँहाको वातावरणमा अक्सिजनभन्दा आशाका त्यन्द्राहरुको अदृश्य रसायन बढी पाइन्छ सायद। जस्तै अभाव, रोग, पीडामा परे पनि गाउँका ती कर्मठ मान्छे आत्मीयता र मुस्कानले भरिएका पाइन्थे। उनीहरुको आशा मरेको थिएन। धामीझाँक्रीदेखि ठूला अस्पातलसम्म हरसम्भब प्रयास गरेकाहरु शिविरको आँगनमा धरमराएका खुट्टाहरु बलियोसँग टेकेर उभिएजस्ता लाग्थे।
हुन त, कसैका लागि बिजुवारको अस्पताल (प्युठानको जिल्ला अस्पातल) नै ठूलो अस्पताल र अन्तिम गन्तब्य थियो भने कसैको प्रयास भारतको लखनउसम्म हुन्थ्यो। जस्तो भए पनि सबैलाई शिविरमा आएको स्वास्थ्य टोलीसँग आशा थियो। केही फरक परामर्श र औषधि पाइन्छ कि भन्ने मनमा थियो। डाक्टरलाई हेर्न मात्र त ती अनेक कष्ट सहेर पक्कै आएनन् होला?
'डाक्साप, मेरा तीन वटा बच्चा सबैले किन टाउको धानेनन्? दुइटा त बितिसके। यो बच्चा पनि अरु बच्चाजस्तो किन छैन?' मन्द रोइरहेको दूधे बालकलाई पछ्यौरामा अडाएर एउटी आमाले कुर्सीमा बस्नासाथ प्रश्न गरिन्। सायद तिनको जिज्ञाशा शान्त पार्नेगरी पहिले देखाएका अस्पतालमा कसैले भनेनन् होला। त्यसैले मैले नाडी छामेर पर्चामा कलम द्रूत दौडाएर बिदा गरिदिन्छु कि भन्ने डरले सारा जिज्ञासा एकै सासमा राखिन्। घरमै जन्मिएको बच्चा करिब पाँच मिनेटपछि रोएको बताइन्। जन्मिने समयमा बच्चा निस्सासिएको हुनाले दिमागमा दीर्घायु असर परेकाले बच्चा सुस्त भएको कुरो बताएँ। आगामी दिनमा पनि बच्चाको शारीरिक र मानसिक विकासक्रम धेरै ढिला हुने कुरा बताउँदा उनका आँखा टिलपिल भए। केही समयसम्म परामर्श गरी उनको मन बुझाउने प्रयास गरेँ।
'मेरा घुँडा साह्रै दुखे। बटौलीमा देखाएको पनि हो। निमन भएन। लौ न एसो उकालोओरालो गर्न सक्ने बनाइदिनुपर्यो, गाह्रो भयो।' एकजना ७० वर्षका बाले गुनासो पोखे। उनका कागजपत्र हेर्दा विशेषज्ञसम्मले जाँचिसकेको देखिन्थ्यो।
घुँडामा सुई लगाएर केही समय आराम बनाउने व्यवस्था नगरी गएका हामीले ती बालाई थप उपचारका लागि अस्पतालमै आउन भन्नुपर्‍यो। ती बाले सक्ने भए त जोर्नी नै फेरिदिने सल्लाह दिन्थेँ। डाक्टरले छामेर जाँच्यो, परामर्श दियो र मेरा कुरा मजाले सुन्यो भन्ने अनुभूति बाहेक केही दिन सकिएन।
'यसले कान सुन्दैन। धेरै पटक पाकेको कान हो। मेडिकलमा दबाइ गरेको हो। भएन।' एउटा बच्चा च्यापेर आएका हजुरबाले सोधे। कानको जालीमा ठूलो प्वाल देखियो। त्यसका लागि शल्यक्रिया नै गर्नुपर्ने सल्लाह दिएँ। त्यसपछि उनले सोधे, 'बिजुवार अस्पतालमा लगे बिसेक हुन्छ बाबु? धेरै पर जाने त उपाय छैन।' स्वास्थ्य शिविरमा नातीको कान जचाउन आएका ती हजुरबाका लागि टाढाको गन्तव्य भनेकै जिल्ला अस्पताल थियो। त्यहाँ कानको शल्यक्रिया हुने जानकारी गराउँदा उनको मुहारमा अलकति खुसी नाचेजस्तो देखियो।
'लोटेको दुई वर्ष भयो। त्यसपछि कम्मरमुनि चल्दैन। केही हुन्छ कि भनेर आएको बाबु,' एउटा स्ट्रेचरमा बोकेर ल्याइएका वृद्ध पुरुषलाई भुइँमा बिसाउँदै उनकी श्रीमतीले भनिन्। धेरै ठाउँ देखाउँदा अपरेसन पनि गर्न नमिल्ने र स्याहार गरेर आजीवन राख्नुपर्ने सल्लाह पाएकी रहेछिन् उनले। 'एक पटक शिविरमा देखाइहालौँ, केही उपाय लागिहाल्छ कि भनेर लामो बाटो बोकाएर ल्याएँ' ती आमाले आशाको धिपधिपे दियो पनि निभ्नै लागेको भावमा भनिन्, 'राम्रा डाक्टर परे ठिक भइपो हाल्छु कि, केही चमत्कार पो हुन्छ कि भनेर हत्ते गर्नु भयो, अनि बोकेर ल्यायौँ।'
हामी पनि तथास्तु भनेर बरदान दिनसक्ने कहाँ हौँ र। चमत्कार गर्न सक्ने कहाँ हौँ र, उही विज्ञानका तथ्य र अनुभवका आधारमा रोगको हरसम्भव उपचार गर्ने न हौँ। अपाङ्गताको परिचयपत्रका लागि सिफारिस गर्ने र स्याहार गर्ने परामर्श दिनुबाहेक मसँग अर्को चमत्कार केही थिएन।
यी केही प्रतिनिधि उदाहरण हुन्। शिविरमा जटिलदेखि एकदमै सामान्य समस्याका लागि आउने कति थिए कति। यसले बिरामीको अपेक्षा र स्वास्थ्य सेवा प्राप्तिबीचको असमान अवस्था दर्शाउँछ। सबैको आश पूरा गर्न नसके पनि धेरैजसो बिरामीलाई राम्रो सल्लाह दिएर पठाउन सकियो, त्यसैमा एकहद सन्तुष्टि मिलेको छ। त्यहाँ अनेक रोग बोकेर आउने बिरामी देख्दा हाम्रो स्वास्य क्षेत्र अझै कहाँ छ भनेर कहाली लाग्छ। हामी कति निरिह छौँ भन्ने हीनताबोधले गाँझेर ल्याउँछ।
स्वास्थ्य सेवाको पहुँच नपुगेका दुर्गम क्षेत्रका जनताका लागि यस्ता आक्कल-झुक्कल पुग्ने शिविर पनि मरुभूमिमा पानी भेटिएजस्तै हुँदो रहेछ। फेरि एकै दिनमा सयौँ बिरामीका कथा सुन्नुपर्ने बाध्यता हुन्छ। त्यो हुलमूलमा उपचारको उपायसँगै सल्लाह र सुझाव दिनु तथा गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई अस्पताल जान प्रेरित गर्न सक्नु नै ठूलो उपलब्धी हो।
गुणस्तरीय सेवाका लागि शिविरको आयोजना केवल शिविरका लागि मात्रै हुनु हुँदैन। बिरामी धेरै आशा बोकेर आएका हुन्छन्। शिविरमा मिठो बोली, मुस्कान र उचित सल्लाहले सकेको सेवा दिन सकियो भने मात्र पनि बिरामीले राहतको महसुस गर्ने रहेछन् भन्ने अनुभव भएको छ। शिविर लिएर जाने चिकित्सक, स्वास्थ्यकर्मीहरुले बिरामीको उपचारमा कुनै चमत्कार गर्न नसके पनि मायालु व्यवहार र नम्र भएर दुःखीहरुको घाउमा मह्लम लगाउन सकिन्छ। उपाय बताइदिन सकिन्छ।
शिविर भनेको सहरका अस्पतालले बिरामी तान्ने माध्यम भन्ने आरोप लाग्ने गरेको छ। साँच्चै सेवा भावले ग्रामीण क्षेत्रमा शिविर लाने हो भने, यस्ता आरोपलाई चिर्ने गरी आवश्यक परेका जनतालाई थोरै भए पनि सेवा दिन सकिन्छ।
ती कुनाकन्दरामा अल्झिएका रोगी जीवनहरुको उत्थानका लागि सरकारले दीर्घकालीन सोच बनाएर स्वास्थ सेवाको पहुँच बिस्तार गर्न ढिलो भइसक्यो। नत्र, फेरि आशाको त्यान्द्रो समात्दै उनीहरुले अर्को शिविरको पर्खाइमा बस्नुबाहेक उपाय हुनेछैन।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा