एक यन्टिबायटिकको आत्मकथा

मलाई बचाउ ।  आफु बाँच

लामो समयको युद्धपछि आज म काम नलाग्ने बेकम्मा धूलो र  पानी भएको छु ।  जिबाणु किटानुहरुसँगको  मेरो युद्धको  गाथा कुनै महाभारत भन्दा कम छैन ।  आज मेरो अस्तित्व त छ ।  तर मैले कसैलाई केही काम गर्न नसक्ने भाईसकेको छु ।  मेरो आफ्नो कुनै साख छैन ।  कुनै समयमा मेरो धेरै दुरुपयोग भएको थियो । आज त्यसको प्रतिफल भोग्दैछन् मनुस्य ।  मलाई एउटै कुरामा उदेक लाग्थ्यो कि मलाई बनाउन सक्ने बुद्धिभएको मनुस्य प्रजातिले मलाई चलाउन भने  रत्तिभर जानेनन् ।  शायद मलाई चलाउने कडा    कानुन बनाउन सकेनन् ।  त्यसैले त म जथाभाबी प्रयोगमा परे ।  जसले पनि प्रयोग गर्न सक्यो ।  मेरो ब्यापार गरेर मान्छेले अथाह कमाए ।  ........ओहो ।  म त छेउ नँ टुप्पो गन्थन गर्न पो लागेछु ।  मेरो उतपत्तिको कुरोबाट कथा आरम्भ गर्दा बेस हुन्छ होला ।

अहोरात्र खटेर मलाई जन्म दिने दिग्गजहरुमा मेरो सादर नमन छ। मलाई बनाउन त ब्रह्मजिलाई सृस्‍टि बनाउन भन्दा कठिन परेको जस्तो लाग्छ ।  दिमागका कोशीकाहरुलाई धेरै कसरत परेको थियो होला ।  अनिदा आँखा कत्ती राता भएका थिए होला । हजारौँ पटक मोलेक्युल नमिलेर एक्सपेरिमेन्ट फेल भएको थियो होला ।  कयौ दिनरातको प्रयासले मेरो जन्म भएको थियो ।  हो ,मेरो जन्मदाता त्यही सर्बश्रेस्ठ बुद्धीमान मनुश्य हो ।  जो सँग बिचार  गर्न सक्ने सरदर १४०० ग्रामको कमलो ब्रैन खप्परभित्र सुरक्षित राखेर बस्ने सौभाग्य प्राप्त छ ।  बिचार  त हो ।  सुबिचार र कुबिचार दुबै हुन्छन ।  केही मनुश्यको सुबिचारले  म मनुस्यको कल्याण  गर्नका लागि जन्मिए ।  ति सुबिचारले ओत्प्रोत मनुस्यलाई शब्दकोसले बैज्ञानीक  भनेर चिनाउछ  ।  जो आफ्नो जीवनको ऊत्तरार्धसम्म मेरो गुणस्तर बढाउने  भागीरथ  प्रयत्न गर्दागर्दै समाधिस्थ भए । जसले मलाई जन्माउने प्रकृयामा लामो प्रसब बेदना भोगेका थिए ।  आज त्यो प्रसब बेदनाको मुल्याङ्कन र महत्व नबुझेका मनुस्य देखेर मलाई सार्है पीर पर्छ ।

कुनै समयमा मनुस्य सार्है पीडित  र त्रसित  थिए ।  किटानुहरुले अनेक तरहबाट आक्रमण गरेका थिए ।  असन्ख्यक मनुश्य किसिमकिसिमका  रोगले ग्रसित थिए ।  धेरैले ज्यान गुमाए ।  भाग्यमानि मात्रै  रोगलाई परास्त गरेर बाँच्न सफल भए ।  त्यसबेला मेरो उत्पत्तिले मनुस्यलाई उर्जा दिएको थियो ।  कतिको ज्यान जोगियो त्यसको लेखाजोखा इतिहासले गर्ला ।  मेरो सदुपयोगले रोगका किटानुहरु  परास्त हुँदै थिए ।  किटानुहरुको संसारमा बेस्सरी हल्लिखल्ली मचिएको थियो ।  अस्तित्वको संघर्ष नैसर्गिक गुण हुनुपर्छ ।    त्यसैले  त रोगका किटानुहरु  बलिया हुने जुक्ती निकाल्न थाले । मेरो मोलिक्युलको पहिचान गरेर प्रतिरोध गर्न थाले ।  जहाँ चाह हुन्छ त्यहाँ  उपाय् निस्किन्छ ।  म बिस्तारै निस्प्रभाबी बन्न पुगे ।  किटानुहरुको  आक्रमणले मनुस्यजाति थला परे ।   अनी मनुस्यले अझै शक्तिसाली बनाउन थाले मलाई ।  मेरा नयाँ रुप आउन थाले ।  मेरो बनावट परिवर्तन गरेर मलाई सुरक्षित  बनाउन ध्याउन्नमा मनुस्यले परिश्रम गरे ।  मेरा नजिकका मिल्दाजुल्दा दाजुभाइको उत्पत्ती हुँदै गयो ।  एक प्रकारले भन्दा किटानु र मेरो प्रथम विश्वयुद्ध नै चलेको थियो । हामी एक आपसमा लुकामारी खेल्दै  थियौ ।

सुरुसुरुमा त मलाई उत्पादन गर्ने थोरै मात्रै  कम्पनी थिए । पछि ब्यापार राम्रो देखिएकाले र सजिलो आम्दानी भएकोले  मनग्गै कमाउने स्वार्थले धेरैले हात हाले ।  शायद बजारमा मलाई बनाउने कम्पनी जङलमा उम्रिने च्याउ भन्दा थोरै थिएनन ।  मेरो मिल्दाजुल्दा नामकरण पनि गरे ।  बजारमा म छ्यप्छ्याप्ती फिजारिन थाले  ।  प्रतिस्पर्धाको होड्बाजी चल्न थाल्यो ।  त्यही प्रतिस्पर्धाको होड्बाजीले गर्दा कमिसन बोनस आदिको प्रलोभन जन्मियो ।  जती कमिसन र बोनसको कुरो झाङिदै गयो त्यती मेरो गुणस्तर खस्किदै गयो ।  मलाई बिस्तारै  कमसल बनाउदै लगे ।  स्वार्थ भएसी खप्पर भित्रको दिमाग भएको भनेर के गर्नु    ! ब्यापार राम्रो देखिएकोले मलाई बेच्न मेरो बारेमा न्युन ज्ञान  भएकाले पनि चाउचाउ  बेचेजस्तो बेच्न थाले। मलाई बेच्दा किराना  पसलको सामान बेच्नु भन्दा केही फरक देखिएन ।  मेरो गुणस्तर मापन गर्नुपर्ने भएपनि  मापन गर्ने इकाइ पैसाको प्रलोभनमा बिक्न थाले ।  स्वार्थ र पापको घना सन्जाल मौलाउँदै  गयो ।  म निरीह थिएँ ।  मलाई जोगाउन खोज्ने सिमित असल ब्यक्तिहरु निमुखा थिए ।

मेरो प्रचार  प्रसारमा लाखौं खर्च हुने  हुनाले मेरो मूल्य उत्पादन गर्ने लागतभन्दा बढी हुन थाल्यो ।  त्यसको आर्थिक भार बिरामीमा सोझै पर्ने नै भयो ।  अरु कसलाई भार पर्थ्यो  र ? अचम्मको कुरो त के भन्दा मलाई किन्दा आजसम्म  कोही मान्छेले "डिस्काउन्ट" मागेनन ।  न त कपडा आदी किन्दा जस्तो बार्गेनिङ नै गरे ।  स्वभबत: बिरामी परेको मान्छेलाई आफु निको हुनसँग मतलब हुने भयो ।  मलाई फलानो दिनसम्म यति  बिक्री गर्न सकियो भने यति    बोनस र कमिसन पाउने प्रलभोनले मलाई रोगको अाधारमा  भन्दापनि दामका अाधारमा   भिडाउन थालियो। भिडाउन  त भिडाएकै मान्नुपर्छ ।  किनकी मेरो ति रोगमा केही काम थिएन ।  मेरो प्रचार गर्न कम्पनिहरुले हेर्दा चिटिक्क देखिने टाइसुट लगाएका मिठो बोल्न सिकाइएका मनुस्य भर्ती गर्न थाले  ।  तिनिहरुको काम भनेको डाक्टरलाई मेरा बारेमा गुणगान गाउने  र पर्चामा लेख्न प्रेरित गर्ने थियो ।  एक हिसाबले  भन्नुपर्दा सबैको दिमाग भुट्ने काम थियो भन्दा उपयुक्त हुन्छ कि ! मेरो कम्पनी अनुसारको नाम लेखिदिएबापत आकर्शक उपहार दिने प्रबन्ध मिलाउँदै  गए ।  स्वाभाबिक लोभले मेरो नाम कम्पनी अनुसार लेखिन थाल्यो ।   मेरो गुणस्तर सबै कम्पनिको उस्तै रहेन ।  म गुणस्तरबिहिन हुँदै गए ।  केही गुणस्तरका कम्पनिले मेरो गुणस्तर कायम नराखेको होइन  ।  तर ति कम्पनिको पहिचान गर्न बिरामीमा प्रयोग गरेर हेर्नु बाहेक कुनै उपाय भएन । सबै WHO  भन्ने संस्थाबाट सर्टिफाइड् भएपछी कसरी थाहा पाउनु !

मेरो प्रयोग डाक्टरले पनि सहि  तरिकाले गरेनन्  भने गाउँ तिरको अवस्था त दयनिय हुने नै भयो ।  गाउतिर त मेरो  कडा प्रयोग हुन थाल्यो  ।  ब्रह्मास्त्र सर्पास्त्र अग्न्यास्त्र बारुनास्त्र त अन्तिममा प्रयोग गर्ने हतियार हुन्। तर मेरो कडा प्रयोग सुरुमै गरिन लाग्यो किटानुहरुलाई बम पड्काएको जस्तै भयो ।  गोली हान्नुपर्नेमा बम पड्काउदा धेरै किटानुहरु   मर्न त मरे ।  प्रभाब सुरु सुरुमा राम्रो नै देखियो ।  बिरामी पनि छिटो निको हुने हुनाले मेरो प्रयोगमा हस्पिटल  क्लिनिक रमाउन थाले।  बिरामी पनि फलानो हस्पिटलमा छिटो निको हुने भएर लालायित भए ।  होस्पिटल पनि सेवा नै गर्न भनेर बसेका त पक्कै थिएनन् ।  सबैको स्वार्थ मिलेको टुलुटुलु हेर्ने बाहेक के गर्न सक्थे र म ।  म त पातोभित्र गोली भएर कि त सिसाभित्र झोल भएर बसेको हुन्छु ।  म माथिको बलात्कार देखेर आवाज उठाउनेहरु नभएका पनि होइनन् ।  तर स्वार्थको सन्जाल धेरै बाक्लो भएर होला सरकार ,कानुन सबै मौन थिए ।  कहिलेकसो कारबाही गरेको नाटक नभएको पनि होइन ।

मेरो आफ्नै तागत हुदो हो त कतै नभेटिने गरी गायब हुने थिएँ  कि जस्तो लाग्छ ।  मेरो उत्पत्तिभएकोमा आज ति कर्मठ बैज्ञानीकका आत्मा आसुले भिजेका होलान् ।   रोगको पहिचान गरेर मेरो सहि  प्रयोग गर्ने सदबिचार भएका डाक्टरलाई  मनुस्यले  पत्याउन छाडे ।  उनिहरु पनि बिबस भएर मेरो कडा रुपको प्रयोग गर्न थाले। नगरे त हातमुख जोर्न गार्हो पर्ने भयो ।  बम पड्किदा सबै तहसनहस त हुन्छ ।  कोही कोही त बाच्ने पनि गर्छन् ।  त्यस्तै किटानुहरुको  जगतमा बचेँका किटानुहरुले अफुलाई सुद्रिढ बनाउन लागे ।  त्यस्पछी त बलिया र अस्त्रसस्त्रले सुसज्जित किटानुहरु   निस्केर आक्रमण गर्न लागे ।  एटम बमले ध्वस्त भएको जापानको धुलोबाट उदय भएजस्तै किटानुहरु  उदाउन लागे ।   बिस्तारै त्यो नयाँ ट्रैनिङसहित लडाईंमा आएका किटानुहरुसँग मेरो जोर चल्न छाड्यो ।  लामो समयसम्म मेरो नयाँ मोलिक्युल निकाल्ने अन्वेषन नभएकोले मेरो पहिलेको अवस्थाले मनुस्यलाई रोगबाट जोगाउन धौधौ  देखिन्छ ।  समयमा मेरो प्रयोग गर्ने उचित  उपाय नखोजिएमा अहिले रहेको मेरो साख बिलिन हुने कुरामा कुनै दुबिधा छैन। ।

उही
निरीह एन्टिबायटिक
सन् २०३०

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा