Mental health unaddressed.

के पोस्ट्मोर्टम गरेर मात्र होला त ?

" डाक्साप ! एउटा लाश आएको छ ।  झुन्डिएको हो ।  शंका त अहिलेसम्म केही छैन ।  "  फोनमा आवाज आउँछ ।  प्रहरीको यस्तो  आवाज र शब्दले धेरै  दिनको सुरुवात गराएका छन । एक दिन १२ बर्षको बालकको  पोस्ट्मोर्टम गर्नुपर्यो ।  जिज्ञासा  लागेर बुझ्दा कुरो के रहेछ भने आमासंग पैसा माग्दा आमाले हप्काएपछि बेल्टको  पासो लगाएर कोठामा झुन्डिएको सुनेपछि चस्स भयो ।  अब त उमेरको पावन्दी र कारणको बिबिधता  पनि फराकिलो हुन लागेको आभास भयो ।

सर्जनले अपरेसन  गरेका लगभग सबै बिरामी त अपरेसन पछि उठ्ने गर्छन् ।  एकाध घटना मात्र दुर्भाग्यपूर्ण होलान् ।  रोग सन्चो भएको नभएको भन्नलाई ब्यक्तिका श्वास र मुटुले अझै साथ दिएकै हुन्छन ।  नतिजा पनि थाहा हुन्छ ।  तर मान्छे मरेपछि  गरिने अपरेसन(पोस्त्मोर्टम  ) मा  भने आ-आफ्नो संस्कार अनुसार माटोमा समाहित हुन्छन् कि त अग्निमा बिलय हुन्छन्  ।  भन्नलाई त काल नआइ मरिन्न भने पनि आफूसँग भने अकाल मृत्‍यु मानिएका घटना वैज्ञानिक    प्रमाणले अझै चिरफार गर्ने हेतुले पुलिसले ल्याइपुर्याउँ छन् ।  सायद मरेपछी  अपरेसन गरिएका अधिकांशहरु  स्वास फेर्दा र मुटुको गति हुँदासम्म कुनै रुपले बिरामी थिए कि भन्ने लाग्छ । बिशेष गरी आत्महत्याको केसहरुमा  कुनै प्रकारको  मनको वा सामाजिक बिसन्चो थियो कि भन्ने लाग्छ ।

पोस्ट्मोर्टम  गर्न भनेर ल्याइने अधिकांश  केस झुन्डिएर   मरेको पाएको छु ।  मैले गरेको पोस्ट्मोर्टम ८ बर्षको उमेरदेखि ८५ बर्षको उमेरसम्मका  ब्यक्तिहरु झुन्डी आत्महत्या गरेका छन् ।  त्यसमध्यमा १८ बर्ष वरिपरिका  महिलाहरुको सँख्या बढी रहेको छ ।  हुन त आत्महत्या हो कि कर्तब्य हो भन्ने कुरो त  पछि अदालतले निर्णय गर्ने कुरो हो ।  तथापि थाहा पाएसम्म अधिकांश आत्महत्या नै रहेको पाएको छु ।

एक दिन पोस्ट्मोर्टम गर्दा झुन्डिएर  मरेको भनिएको ८२ बर्षको बृद्धको गर्नुपर्यो ।  अनि म धेरै बेर  घोत्लिएँ  ।  किनकी प्रश्नवाचक  विचारका ज्वारभाटा एकाएक मस्तिस्कमा ठेलम्ठेल ओइरो  लागे ।  पोस्ट्मोर्टम किन गरिँदै  छ त ? यस पछि के हुन्छ ?  पोस्त्मोर्टम  गरेर मात्रै होला त ? अकाल मृत्‍युका केसहरुमा जिल्ला प्रहरी कार्यालयले पोस्ट्मोर्टम  गरिदिनु भनी जिल्ला अस्पातल वा सम्बन्धित निकायलाई चिठी काटेको हुन्छ ।  जिल्ला प्रहरी कार्यालयले चिठी पठाए बमोजिम पोस्ट्मोर्टम  गरी पठाउने दायित्व भनेको सरकारी अस्पातलमा वा स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरको हो ।  मानौ कुनै ब्यक्ति झुन्डिएर मरेको फेला परेमा प्रहरीलाई खबर हुन्छ ।  प्रहरी घटनास्थलमा पुग्छ ।  मुचुल्का उठाउछ  ।  शंका उपशंका , बयान ,घटना विवरण आदिका आधारमा आत्महत्या  वा कर्तब्य भनी निर्क्यौल  गर्छ ।  अनि पोस्ट्मोर्टम गर्न ल्याउँछ ।

डाक्टरले चिठी  बुझी पोस्ट्मोर्टम  गर्छ ।  अनि रिपोर्ट पठाउँछ  ।  कसैको उजुरी नभएमा वा घरपरिवारको  कुनै शंका  नरहेमा पोस्ट्मोर्टम गरेपछि लाश आफन्तले बुझ्छन् र यथोचित काजकृया गर्छन् ।  अनी कार्य समाप्त हुन्छ ।  साथसाथै आत्महत्या गर्नुको कारण जड शरीरले नबोल्ने हुनाले समाजमा बिद्यमान हुनसक्ने गुप्त समस्या  आँफैसाथ लुप्त हुन्छ ।  र घटनाको लहरो एउटै प्रकृतिमा दोहोरिरहन्छन् हरेक बर्ष ।  अनि  वार्षिक समिक्षामा तथ्यांक  सबै माझ राखेर समस्याको गाम्भिर्य हरेक साल ताजा त हुन्छ ।  तर क्षयरोग , न्यूमोनिया आदि जस्ता रोगहरुले ओझेलमा पर्छ । अनि फेरी अर्को बर्ष पनि उस्तै हुन्छ  ।  सरोकारवाला कुनै निकायको जिज्ञासु दृष्‍टि पर्दैन ।  सायद  आत्महत्याको दोषी त स्वयम् व्यक्ति हो भन्ने सुशुप्त मनसिकताले हो कि जस्तो लाग्छ ।  आत्महत्या भनी निर्क्यौल   भएका  पोस्ट्मोर्टमका   फाइलहरु अदालतमा कुनै मुद्दा  नचलेसम्म कतै कुनामा दराजमा आराम गरिरहेका हुन्छन ।  घटना  घट्ने देखि रिपोर्ट बनेर दराजमा पुग्ने सम्मका औपचारिक कार्य सधैंजसो हुने गरेकै हो । यो सधैं जानिएको र देखिएको नियमित कार्य नै हो ।  नदेखिएको त कसैको सरोकार र यी घटनाको लहरो पछ्याउँदै  जाँदा पत्ता लाग्न सक्ने बिसन्चो र त्यसको उपचार हो ।

कुरो के भने आत्महत्या  मानिएका कति घटनाहरु सायद जोगाउन सकिने खालका थिए कि भन्ने गम्भीर प्रश्न हो ।  पोस्त्मोर्टमको  औपचारिकता मात्रै पूरा गरेर कतै भयाबह समस्याको उपचार छुटेको  त छैन ?  कतै रोगको समयमा पहिचान गर्न घरपरिबार समाज र चिकित्सक असफल भएका त होइनौँ ?पुलिसको रिपोर्ट अनुसार गरिबी  ,प्रेममा धोका ,असाध्य रोग ,घरेलु झगडा ,अभिभाबकको हप्काइ मुख्य कारण रहेको बताएको छ ।  जुन कुरो सत्य पनि देखिन्छ  ।   सन् २०१५ को प्रतिवेदन  अनुसार नेपालमा दैनिक १२ जना आत्महत्या गरी मरेको उल्लेख छ ।   मुख्य माध्यम भनेको पासोमा झुन्डिएर  मरेको देखिन्छ ।  नेपालमा सरदर बर्षको  ४००० ले आत्महत्या   गर्ने तथ्यांक छ । जुन तथ्यांक दुर्घटना र एड्सले हुने मृत्‍युको संख्या  भन्दा बढी रहेको पाइन्छ  ।    आत्महत्या १५ -४९ बर्षको उमेरका महिलाहरुमा मृत्‍युको प्रमुख कारण  रहेको पनि राष्ट्रिय तथ्यांकले बताउँछ ।  करिब ३० प्रतिसत नेपालीहरुमा मनसिक समस्या रहेको पाइन्छ ।  ९० प्रतिसतलाई उपचारको पहुँच नरहेको देखिन्छ ।  एक लाख जनसंख्यालाई ०.२२ जना मनोरोग  बिशेषज्ञ र  ०.०६ जना मनोरोग परामर्शकर्ता उपलब्ध रहेको पाइन्छ ।  स्वास्थ्यकर्मीलाई हुने तालिममा मानसिक स्वास्थ्य सम्बन्धी तालिम २ % मात्र हुने गरेको छ ।  सरकारले स्वास्थ्यको कूल  बजेटको १ प्रतिसत पनि मानसिक स्वास्थ्यको क्षत्रमा खर्च गरेको छैन ।  एक जना बयस्क पुरुषको आत्महत्याको रिपोर्ट हुँदा २० जनाले जतिले कतै न कतै आत्महत्याको प्रयास गर्ने अनुमान छ ।   गएको भुकम्प पछि लगत्तै गरिएको तीन  महिनाको अध्ययनमा ४१ प्रतिसतले आत्महत्याको बृद्धि  भएको देखिएको छ ।

प्रतिवेदन  त एउटा ऐना हो जहाँ समस्याको गम्भीरता देखिन्छ ।  तर समस्या सतही मात्र देखिएको हुन सक्छ ।  समस्याको समाधानलाई  प्रतिवेदनले  बाटो बनाउँछ ।  सरोकारवाला निकायलाई झक्झक्याउँछ ।  सन् २०१० देखि सेप्टेबेर १० लाई विश्व आत्महत्या न्यूनीकरण दिवसको रुपमा मनाउन थालिएको  छ ।  पहिले भन्दा चेतना बढेको भनिए पनि मैले कार्यस्थलमा अनुभव गर्न सकेको छैन ।  सायद दिवस मनाउँदैमा नहुने हो कि ! किनकी आत्महत्या गरेकाको पोस्ट्मोर्टम अझै कम भएजस्तो लाग्दैन ।  सायद धेरै साथीहरुको पनि अनुभव यस्तै  नै होला ।

आत्महत्यासँग मानसिक स्वास्थ्यको अवस्था पनि नजिकबाट जोडिएको हुन्छ ।  करिब ७० प्रतिसतले डिप्रेसनका  लागि उपचार नै खोज्दैनन् ।  डिप्रेसनका  ८० प्रतिसत बिरामीमा सही  उपचारले उल्लेखनीय सुधार आउँछ  । त्यसैले डिप्रेसनका  लक्षण बारेमा जनचेतना बढाउनु आवस्यक छ ।  यो एउटा महामारी जस्तै फैलिँदो  क्रममा छ ।  आत्महत्या    गर्न सक्ने सम्भावना भएका ब्यक्तिहरुलाई समयमै पहिचान गर्नुपर्ने देखिन्छ ।  आत्महत्या   गरेको करिब २० देखि ५० प्रतिसतले कुनै समयमा  आत्महत्याको प्रयास गरेको तथ्यांकले  देखाउँछ  ।  कसैले आत्महत्या गर्ने खालको कुनै पनि मनसाय व्यक्त  गरेमा  गम्भीरताले  लिनुपर्ने हुन्छ ।  मानसिक स्वास्थ्यको स्क्रीनिङ पनि चाहिने टड्कारो देखिन्छ ।  जुन कुरा हामी अधिकांश   प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मीले  ध्यान नदिएको पाइन्छ  ।

मानसिक पीडा र गाथासो अरुलाई भन्न धेरैलाई  असहज हुन सक्छ। त्यसैले जाँच गर्दा सहज बातावरण सिर्जना नगरी कुराहरु स्वतस्फूर्त बाहिर पोखिँदैन  ।  मानसिक रोगको   औषधी सेवन गरिरहेको ब्यक्तिलाई हेर्ने नजर पनि सकारात्मक हुन नसक्नु पनि एउटा पक्ष  हो ।  बिरामीको चाप बढी हुने र सबैलाई हतार भए पनि आ-आफ्नो स्थानबाट प्रथमिकता दिएर  हामी स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे समस्या केही न्युनीकरण   हुने थियो भन्ने लाग्छ ।  यसको महत्व बुझेर मानसिक स्वास्थ्यको  कार्यक्रमले पनि अरु मोटो बजेटको  कार्यक्रमको जस्तै ग्राह्यता पाओस् ।  पोस्ट्मोर्टम गराएर र गरेर मात्र प्रशासन , प्रहरी ,स्वास्थ्यकर्मी ,चिकित्सक र समाजका बुद्धिजिवी पन्छिन मिल्दैन ।  सामाजिक रोग घुमिफिरी आफ्नै घर आँगनमा  एक दिन आइपुग्न सक्छ ।  आउनुपूर्व  समस्याको गहिरो बिस्तृत  पोस्ट्मोर्टम गर्नुपर्ने खाँचो छ ।

डा  शम्भु  खनाल
- [ ]

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा