Training to healthworkers : skill learning or money distribution?

गाडीमा पोलियो थोपाका गफ ।

स्वास्थ्यसँग सम्बन्धित कुरा गाडीहरुमा यात्रा गर्दा धेरै सुन्न पाइन्छ  । फलानो अस्पातल , फलानो डाक्टर, फलानो मेडिकल, फलानो ठाउँ आदिका तीता  मिठा कुरा यात्रुहरुले गरिरहेका हुन्छन्। ति सबै कुराहरु ब्यक्तिगत अनुभबले पारीपोषित हुने हुँदा त्यति महत्व राख्दैनन् ।  एकपटक  नेपालगन्जबाट बुटवल जाँदै गरेको गाडीमा चडेपछि गाडीमा सुनेको पोलियो थोपाको गफ भने राष्ट्रिय स्तरमै हुने कार्यक्रमसँग जोडीएको हुँदा  कलममा मसी नभरी चित्त बुझेन ।

" ट्रैनिङ  त ठिकै थियो ।  अरुभन्दा  भत्ता पनि राम्रै रहेछ ।  पोलियो  थोपा अब २ पटक दिए पुग्ने भयो। " भन्दै एक जना मेरो सिट पछाडि बसेका ब्यक्तिले अर्को साथीलाई भन्दै थिए ।  गाडी भित्रको भिडमा पनि स्वास्थ्यसँग सम्बन्धित कुरा भएर होला ।  मेरा कानले त्यो कुरोकानी टिपिहाल्यो र मस्तिस्कमा नयाँ जानकारीले हलचल गरायो ।  त्यो २ मात्रा पोलियो थोपा दिने कुरा मलाई अस्वभाबिक लागेर अझै चासो दिएर सुन्न मन लाग्यो  ।

३ मात्रा खुवाइने पोलियो थोपा २ पटकमात्र  खुवाउने कुरोमा ति ब्यक्ति धेरै नै विस्वस्त भएको देखेर मलाई त्यसको कारण सोध्न मन लागेर पछाडि फर्केर सोधिहालेँ ।  अनायास एक्कासी नचिनेको ब्यक्तिबाट प्रश्न सुन्दा अप्ठेरो मानेर हच्किए पनि उत्तर भने आयो ।  उनको बुझाइमा पोलियो थोपाको दोश्रो मात्राले प्यारालाइसिस गराउने देखिएको हुँदा अब देखी नदिने  भनेर ट्रैनिङमा बुझेर आएको कुरा निस्कियो । त्यसपछि  भने उनको  बुझाइ  पूरै गलत थियो भन्ने मलाई एकीन भयो । र त्यसको बारेमा मैले जानेको कुरा बुझाउने प्रयास गरेँ  ।

  ट्रैनिङमा नेपाल सरकारले  मनग्गै पैसा खर्च गरेको पाइन्छ  ।  हुन सक्छ त्यो पैसा कुनै दात्री निकायको होला ।  जे भए पनि कर्मचारीको सिप विकास  गर्नका निम्ती ट्रैनिङले उल्लेखनिय  भूमिका खेलेको हुन्छ ।  तर पनि ट्रैनिङलाई भत्ता सँग  जोडेर हेर्दा वास्तविक तत्व र उद्देस्य ओझेलमा परेको कुरो असत्य भने हैन ।  किनभने रुची बिनाको सिकाइ अधुरो र काँचो हुन्छ ।  ट्रैनिङको बिषय बस्तु कुन स्तरसम्म्को लागि तयार गरिएको हो र सहभागिको ज्ञानको मापन गरेर सरल भाषामा बिषयबस्तु सम्प्रेषन  गर्न सकेमा मात्रै  त्यसको उपयोगिता हुन सक्छ ।  बुझ्ने क्षमता ,बुझाउने क्षमता र ग्रहण गर्ने क्षमता फरक कुरो रहेछन् ।  सबैको तालमेल नमिलेमा सहभागीको  बुझाइ फरक पर्न गएर यस्तै पोलियो थोपाको जस्तै बुझाइले दुर्घटना निम्त्याउन सक्छ ।

सबैको लागि गौरबको विषय् हो पूर्ण खोप ।  पूर्ण खोप अभियानलाई सफल पार्न  जोड्तोडका साथ जिल्ला स्वास्थ्य  कार्यालय  लगायतका बिभिन्न सरोकारवाला निकाय खटिएका हुन्छन्। हरेक बच्चाले  खोप पाउनु उसको अधिकार हो ।  आज म पोलियो थोपाको घटनालाई लिएर यहाँ लेख्दा सानो लागेको हुन सक्छ ।  तर घटना सानो भए पनि ठूलो   पारीमाणमा असर नपर्ला भन्न सकिन्न ।  आगो लाग्न आगोको सानो झिल्का नै काफी हुन्छ ।  सबैलाई थाहा भएको कुरो हो ।  जन्मिसकेपछि एक बर्ष भित्र दिनुपर्ने खोपहरुमा पोलियो थोपा ६ १० र १४  हप्ताको उमेरमा खुवाइने गरिन्छ ।  हाल लगभग एक बर्ष यता विश्व स्वास्थ्य संघठनले पोलियो थोपामा हुने तीन थरीका (strain १ २ र ३ ) पोलियो भाईरसको ठाउँमा स्ट्रैन (strain  ) २ लाई हटाएर बाइभालेन्ट भ्याक्सिन (bOPV)  अर्थात् १ र ३ strain भएको  सिफारिस गरेको छ ।  र तीन वटा strain  भएको भ्याक्सिनलाई (tOPV ) बाइभ्यालेन्ट भ्याक्सिनले  (bOPV)  बिस्थापित पनि भइसकेको  अवस्था छ ।  त्यसो गर्नुको कारण  पोलियोको केसहरु नेपालमा  न्यून हुँदै गएको र strain  २ ले गर्दा भ्याक्सिनले हुनसक्ने एकाध पक्षघातका घटना पनि नहोस् भन्ने हेतुले हो । पोलियोलाई पूर्ण  रुपले उन्मुलन गर्ने नीतिले त्यसरी पोलियोको  बाइभ्यालेन्ट भ्याक्सिन उत्पादन र बितरण  गरिएको हो ।   तर यहाँ strain २  ले पक्षघात गर्ने भनिएकोमा दोश्रो मात्राको पोलियो थोपाले पक्षघात गराउने भन्ने बुझाइले बच्चा जन्मिसकेपछि  १० हप्तामा दिaनुपर्ने दोश्रो मात्राको पोलियो थोपा नै बच्चाले नपाउने सम्भावना  भयो ।  जुन कुरा मुनासिब मान्न कदापि सकिन्न ।

पोलियो थोपा दुई पटक मात्र खुवाउने भनेर बुझेको ब्यक्तिले आफ्नो ठाउँमा गएर दुई पटक मात्र खुवाएर बिचको दोश्रो मात्रा नै नदिए के असर नपर्ला र ? जिल्ला स्वास्थ्य कार्यालय  चनाखो रहेछ भने त मासिक रिपोर्टमा त्रुटी देखिएर छिट्टै सच्चिएला ।  तर रिपोर्ट जती सबै दराजमा थन्क्याउने र बर्षको  एक पटक खोजिनिती गर्दा मात्र फाइल पल्टाउँदा पत्ता लाग्ने भयो भने धेरै समय नबित्ला  भन्न सकिन्न ।  कर्मचारीको ज्ञान र सीप अभिबृद्धी गर्नका निम्ती समय सापेक्ष ट्रैनिङ  हुनु आवश्यक छ ।  तर ट्रैनिङको बिषयवस्तु सहभागीले के कसरी बुझेका छन् भनेर हेर्नु उचित हुन्छ ।  पूर्व परिक्षा  भन्दा उत्तर परिक्षाको परिणामको  प्रगति लिएर मात्रै  ट्रैनिङको सफलता  मापन गर्दा त्रुटी हुन सक्छ ।  अर्को कुरो के भन्दा भत्ताका  उद्देस्यले मात्रै  सन्चालन हुने ट्रैनिङको प्रभावकारीता  न्यून  हुन्छ ।  सबैको बुझाइ उस्तै नहुन  सक्छ  ।  सहभागीको प्रकृति हेरी ट्रैनिङका बिषयवस्तु नमिलाउँदा गलत तथा उल्टो कुरा सम्प्रेषण हुन सक्छ ।  दोष  बुझाउनेको पनि हुन सक्छ र बुझ्नेको पनि हुन सक्छ ।  कसैलाई दोष  दिनुभन्दा पनि कुनै कुरो गलत बुझ्न गएमा दिर्घकालिन असर  पर्न सक्छ भनेर सम्बेदनशील हुनु जरुरी हुन्छ ।  ट्रैनिङलाई जमघट हुने भन्दा  सीप र ज्ञानको माध्यमको रुपमा बिकास गरौँ भन्ने मेरो आशय हो ।  साथै  ट्रैनिङको प्रभावकारीता मापन गर्ने सशक्त उपाय प्रतिपादन गर्न सके कार्यक्रमहरु स्वत: प्रभावकारी  हुन्छन् ।


Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा