मेरो त गाडी छुट्यो डाक्साप ।

मेरो त गाडी छुट्यो डाक्साप   ।

आज आईतवार प्राय जसो OPD  मा धेरै भिड लाग्ने दिन हुँदा अलिकति बढी खट्नुपर्ने पूर्व अनुमान हरेक आईतवार जस्तै आज पनि सबेरै भयो ।  एउटै काम बारम्बार गर्दा जाँगर बिस्तारै सेलाउँदै  जानु स्वाभाबिक नै हो जस्तो लाग्छ। त्यस्ता आईतवार त कती आए र कती गए । आजको आईतवार भने बिहानै  देखि जाँगर भन्ने कुरो कताकता बिलिन भएजस्तो भएको थियो ।  त्यसैले घडीले कार्यालय समयमा २० मिनेट बढी बजाइसक्दा बल्ल औपचारिक पहिरनमा OPD  कक्ष पुगेर आफ्नो कुर्सिमा बसेँ ।  र   बिरामी पालैपालो भित्र पठाइदिन सहयोगी दाइलाई भनेँ ।  सबै बिरामी एकै प्रकारको रोगले नआउने हुँदा बराबर समय सबै जनालाई दिन नपर्ने र नसकिने हुन्छ ।  कसैलाई अली बढी समय लाग्ने हुन्छ त कसैलाई थोरै ।  बिस्तारै बिरामी हेरिरहँदा घडीले १२ बजाएछ ।  धेरै बिरामी हेरेर भिड त खुम्चिए होला भनेर ढोकाबाट बाहिर चियाएको त अझै खचाखच भिड्ले भरिएको थियो ।  बिरामी त कत्ती पनि कम भएजस्तो लागेन ।  तैपनी म आफ्नै अनुकूलताले  राम्रोसँग समय लिएर नै गर्छु भनेर पानी घुटुक्क तानेर मुख भिजाए ।  "मलाई हतार छैन ।  दिनभरि  त बाँकी नै छ "   भनेर फेरी सुरु गरेँ ।

एक बज्नै लाग्दा कार्यालय सहयोगी दाई आएर भन्नुभयो   " डाक्साप ।  आज अली ढिला   भएजस्तो छ ।  बिरामी चार मुरी बाँकी नै छन ।  सबै जना कराउन थाले ।  "  नभन्दै एक जना अरुलाई उछिन्दै भित्र छिरेर भने " डाक्साप ।  टाढाबाट आया हो ।  मेरो त गाडी छुट्छ ।  छिटो गर्दिनु न ।  "  हात खुट्टाका नशा प्रस्टै देखिएका  ,चाउरी परेर उमेरले जिस्काइसकेको अनुहार, केही ठाउँमा टालिएको कमिज  र काटेर बनाइएको "हाफ पैन्ट " लगाएका धुलाम्मे पूरानो चप्पलले प्याट्ट प्याट्ट पार्दै लौरो टेकेर आएका अन्दाजी ७० बर्षका बृद्ध पुरुष आफ्नो निरीहता प्रस्तुत गर्दै थिए ।  ती बृद्ध  पुरुषको लवज र स्थिती देखेर पक्कै टाढाको बिरामी हुनुपर्छ र बृद्ध भएको हुँदा नियम मिचेर भएपनि  उनलाई हेर्न अन्तरात्माले घच्घचायो ।  उनलाई जाचेर छ्यरोगको संका लागेर छातीको फोटो खिच्न र रगत जाँच गर्न भनी पठाएँ ।  त्यही समयमा हवल्दार पोस्ट्मोर्टेम  गर्न भनि लिन आइपुगे । जिल्लामा सबैजनालाई चटारोको बिषय पोस्टमोर्टेम ।  अघिदेखि  बिरामीको भिड हल्का कम भएपछि गरौँला भन्दै पन्छाइरहेको  थिएँ ।  तर पोस्त्मोर्टेम  गर्दिएपस्चात् छिटो काजकृया गरेर घर फर्किन सके त्यो दुखी परिवारको भलो  हुने लागेर पोस्ट्मोर्टेम्  गर्न गएँ र एक घण्टा जतिमा फर्किएँ ।  फर्किँदा त OPD  त कुनै मेला लागे भन्दा कम थिएन ।  कोहि हातमा ठूलो खाम भित्र शरीरका अंग खिचेका फोटा बोकेर लाम्बद्ध ,कोहि हरियो पर्चा  हातमा समाइरहेका , कोहि बच्चा  रोएर फकाउन तल्लिन ।  बिचरो  कानमा यन्त्र लगाएर मात्रै   सुन्न सक्ने र जागिरको अबधी पुग्न लागेका का.स  दाइ त भिड थम्थम्याउन नसकेर  मैदान  छाडेर पोस्त्मोर्टेम  भवन पुगिसकेका थिए ।  अरु बिरामी हेर्ने रफ्तार नदौडाएसम्म सबै जना आत्तिने र आफ्नै टाउको खाने देखि  चित्त नबुझेपनी छिटो छिटो हेर्न थालेँ ।  बिरामी  जाँचे भन्ने कि शिबिरमा जस्तो अनुहार मात्र हेरेँ भन्ने कुरो बिरामीले  नै महसुस गरे होलान्   ।

बिरामी छिटो हेर्न पनि आउँछ र अारामले राम्रोसँग हेर्न पनि आउँछ ।  तर परिस्थितीले गर्दा गुणस्तरीय रुपले हेर्न भने धौ धौ नै पर्छ ।   । आफ्नो बिरामी चाँही बिस्तारै हेर्दियोस भन्ने इच्छा गर्नेले अरुलाई बिस्तारै हेर्दा कुर्न भने निकै सास्ती मान्छन् । सबैलाई राम्रोसँग  हेर्नुपनि  पर्ने र छिटो पनि हेर्नुपर्ने हुँदा म भने अन्योलमा परिरहन्छु धेरैजसो ।  घडीमा ३ बज्दा गाउँतिर जाने लग्भग सबै अन्तिम गाडीले हर्न बजाउन थाल्छन् ।  त्यसैले छिटोभन्दा छिटो दबाइ लिएर गाडी समाउने ध्याउन्नमा सबैजसो बिरामी हुने हुँदा दिनखोजेको आधा सल्लाहा  त कानमै पस्दैन  ।  पसेको आधा पनि गाडी छुट्ने चिन्ताले  बिस्थापन गर्छ कि जस्तो लाग्छ ।  रिपोर्ट एकै पटक देखाउन तछड्माछाड हुने र त्यतिबेला नियन्त्रण गर्न हम्मे हम्मे हुन्छ ।  नियन्त्रण गर्ने चक्करमा झडप नै होला जस्तो बातावरण हुन्छ। त्यसैले सबलाई हेर्दै  पठाउँदै गर्दा जित हुन्छ ।  एउटाको रिपोर्ट हेर्दा अर्कोले त्यसमाथि राखिदिने हुँदा कहिलेकसो रिपोर्ट एउटाको र बिरामी अर्को पर्ने नहोला भन्न सकिन्न ।  हतार हतार रिपोर्ट र कार्ड हेर्दै दबाइ लेख्दै पठाउँदै  गर्दा तिनै बृद्ध पुरुष पनि हतार गर्दै आए ।  उनको रिपोर्ट नजर लगाइ औषधी लेखेर आफूले छिटो गर्दिन सक्ने काम गरेर मद्दत गरेजस्तो लाग्यो ।गाडी नछुटोस् भन्ने जो थियो। 

सायद ४ बजेको थियो होला ।  अस्पातलको प्राङणमा अरु स्टाफसँग बसेर भलाकुसारी गरिराखेको थिएँ ।  त्यहीबेला तिनै बृद्ध  पुरुष फेरी देखेँ ।  अनि जिज्ञासाले सोधेँ  " बा ।  घर फर्किनुभएन ।  " " मेरो त गाडी छुट्यो  डाक्साप " उनले अप्रसन्न मुद्रामा भने । अनि   मैले उनलाई भर्ना गर्ने बिचार गरेँ ।  गाडीको भाडा त जोगाइदिनुपर्ला भन्ने मनमा आयो ।  बाहिर होटेलमा बढी खर्च लाग्ने हुँदा बिरामीको कल्याण नै होला भनेर कहिलेकसो  यस्तो अवस्थामा भर्ना गर्ने गरेको छु ।  भर्ना गर्नलाई एसो कागज मागेर हेर्दा त उनको सुगरको  रिपोर्ट देखेर बिस्मयमा परे ।  अघि हेर्दा मैले ख्याल नगरेको हो कि अर्कैको रिपोर्ट हेरेछु ।  त्यसमा त सुगर ३६० पो रहेछ ।  अनि पो म झस्यांग भए ।कहिलेकाँही  त गाडी छुटेर नि कल्याण नै हुने जस्तो लाग्यो र हतारमा बिरामी हेर्नु भनेको घातक हुने कुरा सिद्ध भयो ।  बिरामीले पनि यो कुरो बुझेर सहयोग गर्दिने र प्रशासनले बिरामीको भूगोलको कठिनाई बुझेर यातायात सुबिधा सुधारिदिने भए सेवा दुरुस्त हुनेथियो कि भन्ने लाग्छ ।

उही
देशको सेवक
२०७३ कात्तिक ७ गते , बेलुका ६ बजे , आईतवार

Comments

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।