नाडी छाम्ने डाक्टर ।

नाडी छाम्ने डाक्टर ।

सल्यानको श्रीनगरबाट कारीब १ घण्टाजतिमा  केहि समय पूर्व नगरपालिका  घोषित गरिएको थारमारे  नाम गरेको ठाउँ छ ।  सानो थारमारे  नामको बजार पनि छ ।  त्यही सानो बजारबाट रूकुमको चौरजारी  जाने धुलाम्मे बाटो हुँदै १५ मिनेटको पैदलमा १५ वटा गाबिसलाई सेवा दिने थारमारे प्राथमिक स्वास्थ्य केन्द्र एउटा फराकिलो समथर जमिनमा  झोक्राइरहेको छ ।  समयको  रफ्तार सँगै आफ्नो हेरचाह हुन नसकेकोमा दु:ख मानेको जस्तो देखिन्छ ।  बिजुलीको क्षमता देखी संचारको नाममा टेलिफोनसम्म नहुँदा नगरपालिका भित्रै छु र भन्ने प्रश्न बातावरणमा गुन्जिराखेको हुन्छ ।  प्राथमिक स्वास्थ्य केन्द्रको आँगनबाट  चारैतिर  रहरलाग्दा पातला देखी  बाक्ला बस्तिहरु देखिन्छन् ।  बाँकी भाग पूरै सल्लाका रुखहरुले ढाकिएका छन् ।  उत्तरितर्फको सानो पहाडको टुप्पोमा प्राथमिक  स्वास्थ्य केन्द्रबाट ४० मिनेट जतिको पैदल हिंडे पछि सानो बस्ती रहेको छ ।  सधैंजसो बिहानिपखको ६:३० बजेको समयमा शरीरलाई कसरत पुग्ने मानेर त्यो सानो बस्ती सम्मको उकालो चडेर  चौतारीमा  बसिराखेको थिएँ ।

"बाबु नयाँ हौ  कि ? पैले देक्थेन त। " भनेर एक तिलक लगाएका अन्दाजी ७० बर्षका लौरोले टेकेर हिडिरहेका  बृद्धले सोधे ।  ति  बृद्धको मिजास देखेर बोल्न खेर नजाने देखेँ ।  दुई चार दिन घुम्दैफिर्दै आएको भनेर वास्तविक परिचय लुकाएर  कुरा प्राथमिक स्वास्थ्य केन्द्रमा मोड्न खोजेँ ।  छोटो  ईतिहास सुनाउँदै  बूढाले त्यहाँ  काम गरेका पुराना देखी हालका कर्मचारीका बारेमा भन्न थाले ।  धेरै कुराहरु सुनाएर "जस्तो जे भएपनि  हाम्रो अस्पातल त यहि हो बाबु ।  बिरामी हुन चाँही नपरोस् । त्यहाँ हाम्रो हेरचाह  गर्दैनन् बाबु । अंबुलेन्स नि  छुइन ।  "भने ।  अनी सोधे," त्यो अस्पातलअं एक्स रे छुइन ।  भिडियो छुइन ।  क्यारि थाहा पाउँछ हौ डाक्टरले  ? छक्क पर्छु ।  नाडी छामेर  अचेल क्यार्नी हौ  ?" ।  त्यो प्रश्नको  बाण सिधा आफैमाथि प्रहार  भएकोजस्तो लाग्यो ।  र मनमनै हाँसो  पनि लाग्यो ।  डाक्टरलाई  पठाएर मात्रै  नहुने  त बिचरा गाउँका सोझा दिमागले पनि आँकलन गरिसकेछन् भने म डाक्टरले नाडी  छामेर उपचार गरेर पत्याउलान् त ! ७० बर्षका गाउँका  बुढाको चेतना त बढिसकेछ  भने दिग्गजहरु बसेका सरकारको चेतना  साँचै नबढेको हो त ? यदि  सुशुप्त अवस्थामा भत्ता र घुमफिरमै रमाएको सरकार हो भने त दु:ख मान्नुपर्छ ।

स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रको सम्बेदना बाँडेर जनताको मन जित्न त सकिन्छ ।  तर वास्तविक प्रगति कदापि हुन सक्दैन ।
औषधी निशुल्क पाइने भनेर प्रचार गरे पनि जनतासँग सिधा ठक्कर खाने त हामी स्वास्थ्यकर्मी र चिकित्सक हो ।  न औषधी समयमा आउँछ न पर्याप्त हुन्छ ।  स्वास्थ्य केन्द्र रातारात स्तरोन्नती त हुन्छन् ।  तर ब्यबस्थापन र पूर्वधार पुगेको नपुगेको कसैले हेर्दैन ।  त्यसैले त जाजरकोट जिल्ला अस्पताल अहिले पनि उस्तै रहेको बेला बेलामा सुन्न पाइन्छ ।  यो प्राथमिक  स्वास्थ्य केन्द्र सबै कुराले जिल्ला अस्पताल सम्मको सेवा दिन सक्ने र दिनुपर्ने कुरामा दुईमत देखिन्न ।  जनसंख्या र स्थान हेर्दा उपयुक्त देखिन्छ ।  यसलाई पनि अस्पातलमा स्तरोन्नती गर्ने कुराहरु चलिरहेका रहेछन्  ।  जे होस् लोकप्रियताको खेतिपातिको लागि यो राम्रै खेत भएछ । टाठाबाठाको  लागि यो  जनतामा गफ लाउने कुरो त हुन्छ ! हैन त ।

प्रगति रातारात  त हुँदैन ।  तर क्रमिक बिकास हुनेक्रममा रहेका सम्भावना  बोकेका यस्ता स्वास्थ्य केन्द्रमा राज्यले थोरै ध्यान दिन सकेमा १० देखी ५ को सेवा लागू गर्ने ढिपीमा खर्च  हुने उर्जाले त बिकास द्रुत हुने थियो होला ।  तिनै बृद्धको प्रश्न म सरकारलाई तेर्स्याउन चाहन्छु ।  त्यो जनाताको प्रश्न हो ।  चित्त बुझ्दो उत्तर दिनसकेमा एक प्रती लिखित जबाफ मेरो मेलमा हाल्न सरकारलाई अनुरोध गर्दछु ।  सक्दो छिटो जनताले चाहिरहेको सेवाको बिस्तार सरकारले गरेको खन्डमा  सेवा दुरुस्त हुने थियो कि जस्तो लाग्छ ।
नभए एक पछि अर्को डाक्टर अाँउछन्  ।  नाडी  छामेर जान्छन् ।  त्यस्तै उकालोको दौड्पछि बिश्रामको बेला सबैले त्यस्तै आशा भरिएका बृद्ध भेट्नेछन् ।  सबै डाक्टरले आफूलाई नाडी   छाम्ने  डाक्टर भएको महसुस गर्नेछन् ।  त्यसपछि त एउटा ढ्यांग्रो  र जल लिएर बसे फरक पर्ला र ! म धेरै आशा त राख्दिन ।  त्यहि हो ,अभिभाबक जिल्ला स्वास्थ्य कार्यालयबाट भरपुर सहयोगको अपेक्षl राख्दछु ।  जुन धेरै ठाउँमा प्रभावकारी देखिन्न  ।  तर ति प्रतिनिधि पात्र ७० बर्षिय  बृद्धको आशालाई पूरा गर्ने हेतुले सरकारी निकाय (स्वास्थ्य सेवा बिभाग, स्वास्थ्य मन्त्रालय )को ढोका ढक्ढक्याउँदा पहुँच  ,राजनीति ,पार्टी  ,कमिसन ,चिनजानको आधारमा फिर्ता नपठाइयोस भन्ने आशा गर्दछु । कार्यालय देखि केन्द्रसम्मको असहयोगको राष्ट्रिय  समस्या हुँदा लक्ष्य पूरा  हुने झिनो आशा राखे मात्र मन शान्त हुने रहेछ ।  नभए त बर्षौको निस्कृयता र सुस्त प्रगति देखेर मन सधैं पिरोलिने भयो ।

उही
नाडी  छाम्ने  डाक्टर
२०७३ माघ २६ गते ;बिहान ८ बजे

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा