सलामी पानीको कथा :अनि यसरी भएँ म जनताको प्यारो डाक्टर !

जनताको  प्यारो डाक्टर ।

मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ ।  बेखुसी ब्याप्त देखिन्छ ।  हिडाइमा सुस्तपन  छ । अनुहार मात्रै  देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्याउराले सजाएर कुर्सिमा बस्छिन् एक अन्दाजी ३० बर्षिय  महिला ।  पटुकाले  पूरै  पेट बेरेको छ ।  श्वास नै फेर्न गार्हो भए जस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ ।  त्यही सुस्केरामा उनको सलामी पानीको (सलाइन ) आशा लुकेको छ ।

" डाक्टर बाबु ।  हाड्ज्वरो आम्च ।  गरम हुन्छ ।  केही गरी सितल गर्नुपर्‍यो "  उनी आफ्नो ब्यथा पोख्छिन् ।   " पोहोर साल यहि बेला सलामी चडाएर  सितल भाको । शरीरबाट पानी सकिएछ ।  सलामी  चडाउनुपर्छ भन्थे डाक्टरले ।  "  यस्तो कथा सुन्ने बानी परेको त पत्तै भएनछ मलाई ।  पहिले जस्तो प्रतिक्रिया नै आउन छाडिसकेछ ।  फेरी अर्को सलामिको गहिरो जरो बसेको बिरामी आयो भनेर जांगर नलाई नलाई फर्किएर उनको नाडी छाम्छु ।  आफ्ना  शब्दहरु खर्चिन मन लाग्दैन मलाई ।  खै किन हो जांगर  नै लोप भइसकेछ  ।  पहिले यस्ता   कथा सुन्दा सुन्दा र सल्लाहा दिँदा दिँदा  जाङर भन्ने कुरा लोपोन्मुख थियो ।  अब पुरै लोप भएछ भनेर आश्चर्य लागेन मलाई ।  आफ्नै बसाइ पनि त्यती सहज नभएकोमा सलामिको सितलताको कथा सुनेर बेलाबखतमा  सोचमग्न  हुने गर्छु म ।

 पूरानो काठको कुर्सी छ ।  अढेस लाउँदा ढाडमा बिजाउँछ ।  बस्दा बस्दा पुठा दुख्छन् ।  हात राख्दा कुर्सिको घेरबारमा ठोक्किन्छ ।  बिरामी बस्छन् टुलमा ।  यसो फर्केर जाँच्न लाग्दा शरीर नै बाँगो हुन्छ ।  अनी घर्याक्क् पारेर लतार्छु र मोड्छु कुर्सिलाई ।  के गर्नु ? घुम्ने कुर्सी त मेडिकल अधिक्रितको सुबिधामा पर्दो रहेनछ ।  किनकी कसैले ठट्टा गरेर हो कि साँचै हो बत्तीस दाँत ङिच देखाउँदै भनेका   थिए  " डाक्साप निदाउनुन्छ कि भनेर तपाईंलाई घुम्ने कुर्सी भन्दा काठको कुर्सी बेस हुन्छ भनेर त्यस्तो राखेको हो ।  "  यस पटक भने मैले कुर्सी मोडिन  ।  टाउकोमात्र घुमाएर कुरो सुनेजस्तो गरेँ  ।  काठकै कुर्सिमा पनि हाइ आउन लाग्यो
 ।  यो देखेको भए त त्यहि कुर्सी पनि हटाएर टुल राख्थे होला ति सज्जनले ! यो कुरा मनमा खेल्दै गर्दा सलामिको महिमा सुनाउँदै गरेकी महिलातिर ध्यान मोडिन्छ ।   कती कुरा त छुटी सकेछन् ।  " ........  हरेक बर्ष शरीरबाट पानी सकिन्छ ।  हाम्ची रेचार्ज गर्नुपर्छ ।  भित्री ज्वरो पनि सितल हुन्छ ।  सलामी चडाएपछि तागत लाग्छ ।  शरीर तंग्रिन्छ ।  जाङर बड्छ ।  ......."  त्यो महिमा सुन्दै गर्दा कमी थियो त शेष नागको मात्र ।

" शरीरबाट पानी सकिन त पखाला  ,बमन ,धपडी आदि हुनपर्‍यो ।  पानी कम पिएर हो ।  सलामि भन्दा पानी पिउनु नाम्रो हो ।  प्रेस्सर नाडीको गति सबै राम्रो छ ।  ..... । " भनेर एक बचन बोली फुट्नै आँटेको थियो ।  बिचमै रोकियो ।  बिगतका अनुभवहरु स्‍मृतिमा आउन लागे ।  त्यो भन्यो भने त बेखुस अनुहारमा कता कता बाँकी रहेको कान्ति पनि उडेर गएको धेरैपटक  देखेको छु ।  नैराश्यता छाएको देखेको छु ।  असन्तुस्ट सेवाग्राहीको सँख्या  बढ्दै गएर संस्थामा उपचार गर्न अाउनै छाडेको अनुभव गरेको छु ।   " कस्तो डाक्टर आएछन् ।  पहिलेकोले त चडाइदिन्थ्यो ।  कस्तो गतिला थिए तिनी ।  हाम्ची पैसा पनि खोज्दैनथे ।  ........ " आदि जस्ता सेवाग्राहिका प्रतिक्रिया स्मरणमा  तुफानसरी आउँछ ।  आफ्नै इज्जत राख्न सकिने सलामीको आग्रहलाई नकारेर लामो समयदेखि आफु जनसमाजको आँखाको तारो भएको भान हुन  थाल्यो ।  गाउँमा त सबैलाई सलामि चाडाइदिए चुनाव पनि जितिन्छ कि जस्तो लाग्यो ।

मेरा सहकर्मि साथी  भर्खरै नियुक्ती भएर गाउँतिर धकेलिएर अाइपुगेका छन्।   उनी र म सँगै   बिरामी हेर्छौँ ।  अरु बेला धेरै शब्द बक्ने मैले ति महिलामा मितब्यायिता  अप्नाएको देखेर उनी छक्क पर्छन् ।  उनलाई पनि बिरामीको यो सलामिको आग्रह चित्त नबुझेको प्रस्ट देखिन्छ ।  त्यस्तो किसिमको आग्रहलाई अनेक तरिकाले बुझाउने जमर्कोमा हुन्छन् ।  यस्तो मानसिकता केही परिवर्तन नै गर्छु भन्ने जोस छ उसमा ।  कुन दिन जोश सेलाएर म जस्तै  प्रतिकृयाशून्य  हुने हो भन्ने एकिन छैन ।  कुनै बेला यो निश्फल प्रयास नगर्ने सुझाब दिन मन लाग्छ ।  तर आँफैले निचोड निकालेको अझै राम्रो होला भनेर रोकतोक गर्दिन ।  नगरपालिकामा पोस्टिङ् परेछ भनेर खुशीले बत्तिदै आएको केही दिनमै दुर्गम नगरपालिका भोगेर निराश भएका थिए ।  जुनाकिरीजस्तो झिप्पझिप्प बत्ती ,खोलामा नित्य शावर , डाँडामा उक्लेपछि मात्रै तंग्रिने नेट्वोर्क भोगेर निराश मेरा  साथी बिरामीको उपचारमा  पनि निराश  हुन्छन्  कि भन्ने गहिरो पीर  छ मलाई ।

धेरै समय सलामीको  बिरामीमा  नअल्मलिने निधो गरेर पर्चामा  सलामी  चडाउने आग्रहलाई उतारी  सलामीको  लागि मेरा अर्का कर्मचारी साथीलाई भनेँ ।  त्यति  सुन्दा बित्तिकै उनको अनुहारमा  निभ्नै लागेको कान्ति फेरी जागेर आयो ।  अनुहारमा  खुशीका रेखाहरु दौडिन  लागे ।  ओठले दबिएको मुस्कान फिजार्यो ।   ।   जाङर बढेर होला टुलमा अलि चनाखो भएर बसिन् ।  अनि जुरुक्क उठेर सलामी चडाउने  एमेर्जन्सी कोठातिर लागिन् ।  सायद सलामीले गर्दा  म उनको आँखाको नानी भएँ ।  आहा ! कहिलेकाँहि त सही सल्लाह नदिएर नै प्यारो भइने !

सलामी सकिएपछि उनी सिस्टाचार निभाउन अाइन् ।  बिदाबारी मागेर फेरि  तीन महिनामा आउने बचन दिएर निस्किन् ।  कस्तो अचम्म ! यो सलामी पनि तीन महिने सुइजस्तो रहेछ उनको लागि ।  मेरो मौन स्विकृति पाएर उनी हर्षित थिइन्  ।  एउटा अर्को ब्यक्तिको नजरमा म प्यारो  साबित भएँ ।  मौन स्विकृति नदिएर पनि उपाय छैन ।  एक्लै बिचारको युद्ध  जित्न सकिन्न ।   ।  सलामीको आग्रह मैले नमाने पनि  च्याउजस्ता हुर्किएका मेडिकलमा गएर चडाइहाल्छन् ।  कमाइ खाने उपायमा ग्रामीण भेगमा सलामीको हौवाले राम्रो काम गरेको छ ।  मेडिकल चलाउनेहरु मुख खोलेर बसेका हुन्छन्  कर्लप्पै खान्छु भनेर ।  उनीहरुको मुख खुलुन्जेल यो सलामीको  गाथा  चलिरहनेमा दुबिधा छैन ।  दुबिधा त केबल मैले जनभ्रमको निरन्तरतालाई टेवा दिएँ कि सेवाग्राहीको सेवा गरेँ  भन्ने कुरामा छ ।  जे भए पनि म यसरी धेरैका दिलदिमागमा बस्दै गएको र बस्ने कुरामा भने बिस्वस्त छु ! ! शायद चुनाव जित्ने दाउ पनि यस्तै हुँदो हो भन्ने लाग्छ ।






Comments

  1. So funny Article. And Liked the style of writing.

    ReplyDelete
  2. सलामी पानीको कथा चाहिँ लास्टै राम्रो रहेछ। रमाइलो लाग्यो। धन्यवाद डाक्टर साप्लाइ। - कति हास्नु है।haha

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा