के मेरो बच्चा बाँच्दैन ?

के मेरो बच्चा बाँच्दैन ?


घामले कोठामा  प्रबेश गर्न नपाउँदै एकाबिहानै ७ बजे अस्पतालको इमेर्जेन्सिबाट फोन आयो ।  एउटा बच्चा सिकिस्त आएको छ भनेर बोलाएको हुँदा जुरुक्क उठेर हातमुख पनि नाधोइ चस्मा भिरेर द्रुत  गतिमा इमेर्जेन्सि पुगेँ ।  अन्दाजी १ बर्षको बच्चा शरीरमा पानी नपुगेर छाला पूरै सुकेको देखिने ,श्वास फेरेर छाती तलमाथि गरेको नदेखिएको बच्चा पछ्यौराले समाएर  ठूलो  आशाका साथ बसेकी महिलाको अवस्था  देखेर माया लाग्यो ।  बच्चा  जाँचेर  हेर्दा आँखाका नानी ठूला भैसकेको  श्वास प्रश्वास नदेखिएको तालु खोपिल्टिएको मुटुको धड्कन सुन्न नसकिएको र छाला तान्दा धेरै बिस्तारै फर्किएको थियो ।  त्यहिबेलामा " के मेरो बच्चा बाँच्दैन ? डाक्साप " भनेर आशाका साथ प्रश्न सुनियो ।

उसको बोलीमा कति आशा थियो भनूँ  कि सत्यता मान्न मनले नमानेको थियो भनूँ    ।  सत्य कुरा भन्न निकै   अप्ठेरो परेको थियो मलाइ ।  कालको अगाडि निरीह  उपस्थित थिएँ म ।  सक्ने भए त उडेर गएको प्राणवायु खिचेर फेरी शरीरमा तत्काल राखिदिन्थे ।  कुरो बुझ्दै जाँदा बच्चालाई पखाला लागेको २ दिन भएको रहेछ ।  तर पखाला लागेर जीवनजल खुवाउन भनेर कसैले भनेको रहेनछ र उनलाई पनि थाहा रहेनछ ।  उनको  श्रीमान  पनि त्यहिबेलामा घर नभएको  हुनाले अन्तिम अवस्थामा पुग्दा बल्ल श्रीमानले देखेर अस्पातल लिएर आएका रहेछन ।  तर बच्चाको प्राणवायुले अस्पतालमा आउनुपुर्ब नै साथ् छोडिसकेको थियो । उदेक लाग्दो कुरो त के भने बच्चालाई झाडा पखाला लाग्दा जीवनजल खुवाउनुपर्छ भन्ने ज्ञान सबै जनामा भैसकेको हुनुपर्ने हो ।  यदि नभएको भए आजसम्म  जनस्वास्थ्य अन्तर्गतका कार्यक्रमले गरेको काममा प्रश्नचिन्ह उठ्छ ।  बच्चा बिरामी हुँदा आँफैले अस्पताल ल्याउन नसकेको देखेर अझै पनि महिलाहरु स्वनिर्णय गर्ने अधिकार प्राप्त नगरेको देखाउँछ ।  चेतनाको स्तरले फड्को नमारेको मान्नुपर्छ ।

कुनै दबाइ खुवाएको वा नखुवाएको भनेर सोध्दा नजिकै कतै मेडिकलबाट लिएको दबाइ एउटा कालो प्लास्टिकको झोलाबाट बिर्कोमा च्याप्च्याप लागेका झोल दबाइका सिशी झिकेर बच्चाको बाउले देखाए ।  त्यसमा गाउघरतिर प्रचलित पखाला रोक्ने औषधी भनेर चिनिने "मेट्रोन " थियो ।  अरु केही गौण मानिने दबाइ थिए  ।  तर पुनर्जलिय झोल बनाउने पातो भने थिएन ।  अब पुन: सोध्दा उनलाई पुनर्जलिय झोलको बारेमा भनिएन भन्ने कुरो आयो ।  अब वास्तवमै जीवनजल नदिएको भए त्यो औषधी दिनेको कमजोरी थियो ।  कहिलेकसो जीवनजलका बारेमा भनिएको  भए पनि पखाला रोक्ने भनेर कहलिएको दबाइलाई प्राथमिकता दिएर जीवनजललाई गौण मानेर अभिभावकले गल्ति गर्ने गर्छन्  ।

मलाई सबैभन्दा  अचम्म लागेको कुरो के भने जनमानसमा पखाला रोक्ने दबाइ भनेर " मेट्रोन" कसरी ब्यापक भएछ भन्ने हो ।  सायद औषधि बेच्दा कुनै चिकित्सकको सल्लाहा बिना प्रयोग गरेको लामो ईतिहासले गर्दा हो कि भन्ने लाग्छ ।  तर भौगोलिक कठिनाइ, यात्राको जोखिम , कार्यब्यस्तताआदिले गर्दा छिटो डाक्टरको सल्लाह लिन असहज भएको हुन सक्छ ।  सजिलोको लागि औषधि पसलबाट किराना  पसल जस्तै दबाइ किन्ने पारीपाटी बसेको हुनुपर्छ ।  अनि औषधिको सामान्य ज्ञानको भरमा मेडिकलबाट  औषधि चाउचाउ बेचेजस्तै बेचिएको हो कि ! अनुगमन गर्ने निकाय त एक दशकमा एक पटक जागेछ भने धन्य हो ।  कुनै ठूलै घटना वा दुर्घटना नघटेसम्म कानमा तेल भरिएको हुन्छ , तन्द्रामा हुन्छ ।

औषधि बेच्ने अधिकार फार्मेशी पढेको व्यक्तिलाई हुन्छ ।  चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने तरिका आदिको बारेमा फार्मेसीमा बस्ने कर्मचारीले भन्ने दायित्व हुन्छ ।  अल्पज्ञानका  भरमा औषधि बितरण गर्नु घातक हो ।  बिरामीले पनि औषधि लिँदा किराना पसलमा चाउचाउ साबुन किनेजस्तो किन्नु हुँदैन भन्ने कुरो बुझ्नु पर्ने हुन्छ ।  अनुगमन गर्ने निकाय आगोलाग्दा मात्रै  दमकल गएजस्तो जाने भन्ने हुनुहुँदैन ।  सकृया रुपमा बराबर लागिरहनुपर्छ ।  औषधि  बेच्ने  पसलहरुको कडा निगरानी गर्नुपर्छ ।  त्यसमा कार्यरत कर्मचारीको ज्ञान  सिप क्षमताको समय समयमा  जाँच गरिनुपर्छ ।  औषधि  पसल खोल्ने लाइसेन्स बेचेर अरु ब्यक्तीबाट पसल चलाउने परिपाटी बन्द हुनुपर्छ ।  नभए पखाला रोक्ने दबाइ भनेर " मेट्रोन " भनेर चिनिने क्रम  रोकिँदैन ।  यो त केवल सानो उदाहरण   मात्र हो ।  कमसल दबाइको रजाइ हुनुमा आर्थिक प्रलोभन रहेको हुन्छ ।  जसको जति बोनस र कमिसन हुन्छ त्यति नै बढी लेखिने र बिक्रि हुने हुन्छ ।  सबै कुरामा डाक्टरको मात्रै दोष देख्ने हाम्रो समाजले यो पक्ष कहिले बुझ्ने होला ? जती ढिला भयो त्यती भ्रमित  मनोविज्ञानले  जनमानसमा डेरा जमाउनेछ ।  समयमा  नै बिचार पुर्याउनु जरुरि देखिन्छ ।  त्यसो नगरिएमा " के मेरो बच्चा बाँच्दैन ? " भन्ने जस्ता प्रस्नहरु सुनिरहनुपर्ने हुन्छ ।

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा