फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।

फोक्सुन्डो यात्रा : गर्नैपर्ने यात्रा । 

(विशुद्ध यात्रा संस्मरण मात्रै!! नियमित ट्रेकरको लागि पढ्न मनाही छ) 


फोक्सुन्डो यात्राको सकसक 


      जीवन एकनासको भयो भने निरस हुन्छ । त्यसैले एकाएक यात्रामा जाने झोक चल्छ । नेपाल सरकारका कर्मचारी भेट्दा भेट्दै दिक्दार बनेकोले घुमेर केही समयलाई सबै कुरा बिर्सिने रहर हुन्छ । त्यसैले अति दुर्गम मानिने डोल्पामा स्थित शे फोक्सुन्डो ताल भ्रमण गर्ने इच्छा पलाउँछ । त्यसको केही आधार भनेको डोल्पा दुनैस्थित जिल्ला अस्पतालमा कार्यरत भाइहरु । उनीहरुसँग फोन सम्पर्क गर्छु ।  पहाडको काखमा बसेको एक महिना नबित्दै उनीहरुका खुट्टा चिलाउन थालिसकेका रहेछन् । संयोगले भन्नुपर्छ मलाई फोक्सुन्डो यात्रा





गर्ने रहर व्यक्त गरेको केही दिन अगाडि नै उनीहरुले प्लान बनाइसकेका रहेछन् । म त्यस प्लानमा थपिँदा कुनै भार हुने देखिन । आकर्षण र रिसब  टिचिङमा पढ्ने क्रममा चिनेका मिजासिला भाइहरु । अनुहारले चिनेको तर धेरै संगत नपरेकोले मैले नाम बिर्सिसकेका जिल्ला अस्पताल प्रमुख डा प्रसन्न भने तीन पटक फोक्सुन्डो पुगिसकेको सुनेर तीन छक परेको थिएँ । नेपालगन्जसम्मको टिकेट लिएर नेपाल्गन्ज बसेपछि अर्को दिन डोल्पाको जुफाल एयरपोर्ट पुगिने निस्चित थियो ।  तर अचानक घरमा बुवा बिरामी हुनाले नेपालगन्ज जाने फ्लाइटलाई जसोतसो आकस्मिक रुपमा भैरहवाको लागि सार्नु पर्यो । यसपटकको फोक्सुन्डो ट्रेकको प्लान पनि चौपट भएकोमा निरास भएको म घर पुगेपस्चात ढुक्क भएँ । बुवाको एकाएक राती बेस्मरी दुखेको पेट शान्त भइसकेको रहेछ । अस्पताल भर्ना गर्नुपर्ने केही देखिन । र निस्चिन्त भएँ । 

अब फोक्सुन्डो यात्रा नहुने निस्चितजस्तै भएको थियो । तर मनले भने उतै डोराइरहेको थियो । साँझ एक पटक फेरि कल गरेँ आकर्षणलाई ।  डोल्पाको मौसम पनि अँधेरो भएको रहेछ । त्यसैले फोक्सुन्डोको प्लान एक दुई दिन ढिलो पनि गर्न सकिने खबर सुन्दा फेरि आश पलायो । अनि अर्को बिहानै नेपालगन्जतर्फ हानिएँ । एयर्पोर्ट नजिकैको एउटा होटेलमा बसेँ । हात्तिका देखाउने दातजस्तै ए सि राखिएको कोठा रहेछ । शरद रितु लागिसकेकोले नेपाल्गन्जको गर्मिलाई पंखाले पनि धानिरहेको थियो । तर नयाँ ठाउँ हुनाले राम्रो निद्रा पर्न सकेन । ८ बजे उठ्ने बानी परेको मलाई प्लेनको टिकटको लागि  बिहानै ४ बजे उठ्नुपर्ने कुराले  मस्तिष्कमा एकाएक तनाव परेको थियो । आन्तरिक घडी धेरै नै आत्तिएछ । त्यसैले २ बजे नै निद्रा टुट्यो । 😐️

एयरलाइन्सलाई धन्यवाद । 


      टिकेटको बन्दोबस्त डा अखण्डकोमार्फत पहिले भइसकेको थियो । बिहानै ५ बजे एयरपोर्ट पुगेर टिकेट लिएँ । प्लेन त माइक्रोबसजस्तो रहेछ । टाउको निहुरिनुपर्ने । नभए त टाउकोमा टुटुल्को उठ्ने गरि ठोक्किने रहेछ । प्लेनको सिटको लागि पनि यात्रुहरु हान्थाप गर्दै थिए। अगाडिको सिट रोज्नलाई । म स्वत : अन्तिम सिटमा परें । विमान परिचारिकाले ढोका लगाइन् । हाम्रो पहाड घरको कोठाको ढोका लगाएजस्तै लक दायाँ बायाँ मात्रै गरे हुने रहेछ !! विमान उड्न थाल्यो । उड्दै जादा आकाशमा पहाडहरु, पहाडमा बल्लबल्ल अडिएर बसेजस्ता देखिने बस्तीहरुको दृश्य मनोरम देखिन्थ्यो । बादलभन्दा माथी उड्दा बादल कपासजस्तै देखिएको थियो । कल्पनामा म त्यही बादलमा दौडिरहेको थिएँ । विभिन्न पौराणिक पात्रहरुको चित्र कल्पना गर्दै थिएँ । कल्पना गर्दा नाक, मुख ,अँाखा सबै देखिएर आकृति बन्ने  रहेछ । साना विमानमा हल्लाउँदा निकै डर लाग्छ भन्ने सुनेको थिएँ। त्यो दिन भने विमान कत्ति हाल्लिएन । जे होस् विमानले गर्दा अति दुर्गम डोल्पा पनि धेरै सहज बनाएकोमा सम्पुर्ण एयरलाइन्सलाई धन्यवाद दिनै पर्छ ।   

पाँच साथीहरुको जमघट । 


       जुफाल एअरपोर्ट पुगेपछी अर्को यात्रा सुरु हुने रहेछ । जिपको यात्रा । १६ जनाको सिट हो भन्दै कोच्चाएर जिपको ड्राइभरले १ घण्टा कुरायो । बल्ल्बल्ल कोच्चिएर दुनै बजार पुगेँ । बाटो पानी नपरेकोले जिपलाई ठिकै थियो । आफ्नो भने मुटुले ठाउँ छोड्न मात्रै बाँकी थियो। 😦

दुनै बजार पुगेपछि आकर्षण र रिसबसँग भेट भयो । साथमा हाम्रो यात्राको अर्का पात्र सुरेन्द्र साह पनि भेट भयो । बाटोमा चाहिने सरसामान खरिद गर्न बजार आएका रहेछन् । अस्पताल क्वार्टर पुगेपछि यात्राको अर्को साथी डा शंकर राउतसँग पनि भेट भयो । यात्राको क्रममा उहाँ पछिसम्म साथमा रहनुभयो । हामी दुवैको गति उस्तै हुनाले धेरै गफ पनि भयो । बोल्न दुवैलाई मन पर्ने । लाग्दै थियो समयले नै हामी दुई जनालाई एकै साथ भेट गराउने तय गरेको रहेछ । दुई वर्षसम्म पनि उहाँको फोक्सुन्डो यात्राको समय जुरेको रहेनछ । अर्को संयोग के भयो भन्दा हामी सबै शाकाहारी रहेछौं ।😄 


फोक्सुन्डो यात्राको साइत 


         यात्रा प्रारम्भ हुन्छ । ११ बजेतिर निस्किने भनेको यात्रा २ बज्छ । सुलिगाड भन्ने ठाउँ पछि मेरो नयाँ जुत्ताले छेउछाउबाट हल्का मुख खोल्न थाल्छ । ट्रेकिङलाई भनेर भर्खर किनेको जुत्ताले धोका दिने संकेत गरेको देख्दा भने खुब रिस उठ्छ । त्यो बेच्ने मान्छेलाई सराप्न मन हुन्छ । जुत्ताको सोल उक्किन खोजेकोले राम्रो जुत्ता भनेर दिएकोमा म्याद गुज्रिएको परेछ जस्तो लाग्छ । कस्तो साइतमा किनिएछ त !! 😣 त्यो जुत्ताले फोक्सुन्डोसम्मको यात्रा तय गर्न सकिने कुरामा शंका थियो मलाई । ४ घण्टाजति हिँडेपछि स्याङ्टा भन्ने ठाउँ आइपुग्छ । त्यहाँ एउटा मात्र होटेल हुन्छ । छेप्का पुग्न अझै २ घण्टा लाग्ने हुनाले सोही स्थानमा बस्ने निर्णय गरियो । त्यो होटेलका मालिक भुतपुर्व इन्डियन आर्मी रहेछन् । सधैं राती ४ गिलास लोकल रक्सी पिउने रहेछन्  । उनलाई हेर्दा उनको कलेजोले हार मानिसकेको जस्तो लाग्छ मलाई । पेट फुलिएको मोटाएर भन्दापनि पानी जमेर जस्तो लाग्छ मलाई । तर सोध्ने आँट भने गरिन ।                                                                                     जाडोमा रुकुम जाने रहेछन् । त्यहाँ जेठी श्रीमती रहेछिन्।  रिसबको बुवा बाजेहरु रुकुममा पुरोहित हुनाले ती  भु पु बाजेले चिनिहाल्छन् । र रिसबलाई उपाध्याय बाहुन भन्दा जिब्रो लर्बरिएर " उपाध्यक्ष बाहुन" भनिरहन्छन् । हामीलाई मनमनै खुब हाँसो उठ्छ। मलाइ भने तिनले खाने रक्सी कस्तो रहेछ भनेर चाख्न मन लाग्छ । त्यस्तो गन्हाउने रक्सी कसरी तीन चार गिलास खान सक्ने रहेछन् भनेर अचम्म पर्छु । तर त्यो रक्सी त पानी जस्तै रहेछ । पोल्दै नपोल्ने । निकै कम गन्हाउने । त्यसैले होला पानीजस्तै खाने रहेछन् । स्याङ्टाको विशेषता भनेको खाना र तरकारी निकै मीठो हुने रहेछ । र उवाको रक्सी । मलाई जुत्ता सिलाउने सामग्री र मान्छेको आवस्यकता थियो ।  त्यहाँ जुत्ताको मर्मत भने हुँदैन । न त फोक्सुन्डोसम्म नयाँ जुत्ता नै किन्न पाइन्छ ।  सबेरै उठेर हामी यात्रा सुरु गर्छौँ । यात्रामा मलाई भने उकालो चढ्न निकै कठिन हुन्छ । त्यसमाथि जुत्ताले साथ छोड्ने पक्कापक्की भइसकेको हुन्छ। एक किसिमको सुक्ष्म तनावले गिजोलेको हुन्छ मलाई । 


सुपरग्लु महिमा । 


        फोक्सुन्डो नदीको किनरैकिनार हिड्नुपर्ने रहेछ । धेरै पटक उकालो चड्दै गएर ओरालो झरिन्छ । फेरि नदीको किनार पुगिने । उकालो ,ओरालो र  नदीको किनार । बाटो नै यस्तै हुन्छ । त्यो देख्दा त बाटो नदीको किनारमै बनाएको भए कति जाती हुन्थ्यो जस्तो लाग्छ मलाई । फोक्सुन्डो नदीको पानी भने निकै निर्मल हुन्छ । निलो हुन्छ। त्यो नदीको वहावबाट निस्केको ध्वनि पुरै यात्राभरी सुन्न सकिन्छ । नदीको  पानी ढुङ्गामा अनेक पटक ठोक्किन्छ । बहाव रोक्किन्छ । तर फेरि ढुङ्गा उछिनेर अगाडि बग्छ । त्यस्तै हामी पनि थकाइलाई जित्दै आगाडि बढिरहेका हुन्छौं ।                                                                                                                    ढुङ्गामा ठोक्किएर फर्केको पानी र माथिबाट आएको पानी मिस्सिँदा बन्ने पानीको लहरको दृश्य हेर्ने लायक हुन्छ ।  यात्रुहरुलाई शुभ यात्रा भनेको जस्तो लाग्छ ।  मलाई उकालो चढ्ने बेला निकै सास फुल्छ । समकालीन साथीहरुभन्दा बढी नै श्वास फुलेकोले यात्राबाट फर्केपछी मलाई आफ्नो PFT(pulmonary function test) गराउने इच्छा जाग्छ । शरीर पनि निकै कुन्जिएको महसुस हुन्छ । आफ्नो शारीरिक शक्ति बढाउन व्यायाम र प्रणायाम गर्नुपर्ने कुरा पनि महसुस हुन्छ । सायद त्यही प्रेरणा प्राप्तिको लागि यो यात्रा तय भएको रहेछ ।                                                                                  आकर्षण र रिसवलाई सुस्त सुस्त हिँड्दा पट्यार लाग्ने हुनाले अगाडि अगाडि हिड्छन्। मलाई त उनिहरु दौडिरहेको जस्तो लाग्छ । जे होस् डा शंकर भने यात्रामा मेरो साथी बन्नुहुन्छ । उहाँ ५० वर्षको उमेर हुँदा पनि मभन्दा बढी हिड्न सकेकोले  हिड्न सबैभन्दा कठिन हुने त मलाई  नै रहेछ भन्ने थाहा हुन्छ । साह सर भने न अगाडि दौडिन सक्ने न हाम्रो गतिमा हिड्ने धैर्यता राख्ने । जे होस् समयले एउटा राम्रो टिम जुराएकोमा कुनै शंका हुँदैन ।                                           
छेप्का २ घण्टा जतिमा पुगिन्छ ।  त्यहाँ पुग्दासम्म पनि मेरो जुत्ताले साथ दिन्छ। तर त्यसपछि साथ दिने कुरामा मलाई सन्देह हुन्छ । त्यहाँ होटेलमा जुत्ता मर्मत गर्ने डाक्टर कतै छन् कि भनेर सोध्छु म । तर कोहि नभएको कुरा थाहा हुन्छ । निराश हुनै लाग्छु । त्यही बेला  होटेलको बहिनीले सुपरग्लु देखेको बताउँछिन् । उनले आफै त्यो सुपरग्लु लगाइदिन्छिन् जुत्तामा । जुत्ता फेरि तगडा हुन्छ पुरै यात्राको लागि ।  त्यस्तै मेरो मनोवल पनि पुनः  जुरमुरिन्छ । साक्षात् भगवान नै त्यो सुपरग्लु दिने बहिनी बनेर आएको महसुस हुन्छ मलाई । ☺️


लौरोको माहत्म्य । 


        छेप्काबाट चिया खाइसकेपछि हामी हिँड्छौ ।  १.५ घण्टामा टि हाउस भन्ने स्थान आइपुग्छ । त्यहाँ केही मिनेट विश्राम गर्ने क्रममा जाजरकोटबाट घोडा बेच्न आएका एक जना बाजे भेटिन्छन् । चाउरी परिसकेको अनुहार, पुरानो च्यातिन लागेको कमिज  पाइन्ट  र  थोत्रो म्याजिक चप्पल लगाएका बाजे ले निगालोको लौरो बनाइदिएर ठूलो गुन लगाउँछन्। बदलामा हामीसँग मुस्कान र सिटामोल बाहेक केही पनि हुन्न । त्यो लौरोले निकै सजिलो गराउँछ त्यसपछिको यात्रा । लौरोले उकालोमा मलाई निकै साथ दिन्छ । फेरि भगवानले ती बाजेसँग  भेट गराइदिएको महसुस हुन्छ । 

म्याद गुज्रिएको स्निकर र खोलाको पानी । 


         टि हाउसबाट अर्को स्थान रेची १ घण्टा मात्रै लाग्ने भनेर हामी झुक्किन्छौँ । त्यसैले ११ बजे वरिपरिको समयमा खाना खाने हिसाबले हामी १० बजेतिर हिड्न थाल्छौँ टि हाउसबाट रेचि पुग्ने लक्ष्यले ।  तर जति हिँडेपनी त्यो रेचि भन्ने ठाउँ आइपुग्दैन । हिड्दै जाँदा दुइटा झुक्किने बाटो आउँछन् । भोक र प्यासले निकै आक्रान्त बनाइसकेको हुन्छ । फोन गर्न नेट्वर्क नै छैन । नेट्वर्क त सुलिगार्ड भन्ने ठाउँदेखी नहुने पहिले नै थाह थियो । भर्खरै मात्र हामीसँग  भएको स्निकरको म्याद दुई वर्ष अगाडि सकिएको थाहा पाएका हुन्छौं । खानै लागेको स्निकर पनि कस्तो कस्तो हुन्छ । तर भोकको अगाडि त्यो नाघेको म्यादले रोक्न सक्दैन । किन्ने बेला त्यो म्याद नपढेकोमा खुसी नै हुनुपर्ने अवस्था हुन्छ । म्याद पढ्ने बुद्धि साह सरलाई एकाएक आएर समयले भोकको महिमा देखाउन खोजेको प्रतीत हुन्छ । हुन त डोल्पामा म्याद गुज्रेका खाद्यान्न पाउनु कुनै नौलो कुरा हैन । सबै कुरा प्लेनबाट कि त खच्चरबाट बोकाउनुपर्ने अवस्था जगजाहेर नै छ ।                                                                     
पानी पनि सकिसकेकोले प्यास मेटाउन खोलाको पानी खान बाध्य हुन्छौं । मैले भने आफुलाई सकेसम्म रोकेर राख्छु। खोलाको पानी खाएर झाडा पखाला लाग्यो भने अर्को आपत निम्तिन्छ भनेर निकै सम्हालिन्छु। दुईवटा बाटोमा हामीले धेरै हिँडेको जस्तो देखिने बाटो रोज्छौँ । पछि थाह हुन्छ हामीले सही बाटो नै रोजेछौँ ।😃

बल्लबल्ल ३ घण्टामा रेची भन्ने ठाउँ आइपुगिन्छ । भाइहरु भने १ घण्टा अगाडि नै पुगिसकेका रहेछन् ।  पाहुनाघर नामको होटेलको चौरमा भाइहरुले पानी राखेका रहेछन् । सबैभन्दा पहिले पानीमै झम्टिन्छु म । अनि लखतरान परेर भुइमा पल्टिन्छु । जिउ दुखेको छ । पैतला पोलेका छन् । पसिनाले टि सर्ट पुरै भिजेको छ। भुइँमा पसारिन पाउँदा त ठूलो चयन हुन्छ । खाना खाइसकेपछी आधा घण्टा आराम गरेर फेरि यात्रा सुरु गर्न कर नै लाग्छ। २:३० बजेतिर जाँगर बटुलेर हिड्छौ ताप्रिचा भन्ने ठाउँको गन्तव्यमा ।                                                                                                                  भोक र प्यास दुवै शान्त भएकाले यात्रा मधुर नै हुन्छ । ५:३० तिर हामी तापृचा स्कुल पुग्छौं । त्यो स्कुल निकै ख्यातिप्राप्त रहेछ । २६० जना विद्यार्थीहरुलाई होस्टेलको व्यवस्था पनि रहेछ । त्यो स्कुल कात्तिकसम्म मात्रै लगातार खुल्ने रहेछ । शनिवार र सार्वजनिक विदाको दिनपनि । त्यसपछि हिउँ जम्ने हुनाले विदा हुने रहेछ। डोल्पाको दुख भन्ने कि सुख भन्ने हिउँद लागेपछी सबैजना तल सदरमुकाम दुनैतिर  बसाइ सर्ने रहेछन् । मलाई भने सधैँ यस्तै जागिरको इच्छा हुने गर्छ ।  काम पछि लामो विश्राम । 

सहरले नछोएका मनुष्य । 


        तापृचाको छेउमा झरना होटेल रहेछ । हामी त्यही होटेलमा बस्ने निश्चय पहिले नै गरेका  थियौँ । त्यो होटेलका साहु र साहुनी निकै मिजासिला हुन्छन् । मलाई लाग्छ उनीहरु विसुद्ध सेवा गर्न बसेका हुन् । बाटोमा यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउन मद्धत गर्न  भगवानबाट खटाइएका दुतहरुजस्ता लाग्छन्  । उनीहरुले पकाएको खानामा पुर्ण रुपमा आफ्नो मन दिएका हुन्छन् । पानी उमालेर दिन कत्ति कन्जुस्याइँ गर्दैनन् । सहरमा जस्तो मिनेरल वाटर किन्न बाध्य पनि गराउन सक्थे नि । तर यात्रुहरुको सन्तुष्टि नै उनीहरुको प्रमुख ध्येय रहेको आभास  हुन्छ ।                                                                                                                                          समुद्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको ताप्रिचासम्म खच्चरबाट बोकाएर खाद्ध्यान ल्याउन पर्ने हुनाले खानाको रेट तीन गुणा बढी हुनुपर्ने हो । तर त्यस्तो रहेनछ ।  😲त्यो खानाको रेट त सहर बजारमा आफ्नो मन नै नमिसाइ दिएको खानाको पनि हुन्छ ।  जस्तो कि मैले  नेपालगन्ज बस्दाको दिन महसुस गरेको थिएँ । देखाउने बेला ए सि कोठा , तरकारी दिने बेला पुग्दैन जस्तो गरी चम्चाले दिने किसिमको प्रवृत्ति त्यो अति दुर्गममा नदेख्दा मन हर्षित हुन्छ ।  त्यसैले मलाई लाग्छ सहरले नछोएका मानिस निकै सरल नरम र अच्छा हुन्छन् । र यो डोल्पामा फोक्सुन्डो यात्रा भरी नै महसुस गर्ने मौका मिल्छ । भगवानसँग मेरो प्रार्थना छ " मान्छे बस्ने ठाउँ सहरजस्तो होस् । तर मान्छेलाई सहरले कहिल्यै नछोओस् । "

उकालोको भय । 

       फोक्सुन्डो ताल पुग्न चढ्नुपर्ने  नाक ठोक्किने उकालो सुनेर नै मन त्रसित भएको थियो । ३२०० मिटरको उचाइमा रहेको ताप्रिचाबाट ठाडो उकालो चढेर ४ घन्टामा ३६०० मिटरको उचाइमा रहेको फोक्सुन्डो ताल पुगिने कुरा सुनेका थियौँ ।  तर होटेलको दाइले त बाटोको वर्णन गर्दा ६ लेनकै बाटो जस्तोगरी वर्णन गर्छन्। दाइले  हौसला दिन हो कि रक्सी लागेर हो त्यो वर्णन गरेको सुन्दा भने निकै उत्साहित हुन्छौं हामी ।  ।  उकालो तर फराकिलो बाटो भए त जसोतसो पुगिन्छ भन्ने आट आउँछ मनमा । सबेरै बिहान सुरु हुन्छ ६ लेनको उकालो बाटो ! !😉 होटेलको दाइले बनाइदिएको फापरको रोटिले चाहिने तागत दिने कुरामा विस्वास हुन्छ मलाई । उकालो सुरु हुन्छ। सुन्दा ६ लेनजस्तै भएपनि बाटो एक लाममा खच्चर सम्म हिँड्ने बाटो रहेछ । साँघुरो, फुस्रो माटोले भरिएको र उकालो बाटो । छेउमा हेर्दा पुरै ठाडो भिर । खसियो भने भेटाउन तीन जुग लाग्ला ! 😭झरनाको पानी हेर्दा पुरै रिँगाउने । कतिखेर खुट्टा चिप्लिने हो भन्ने डर व्याप्त हुन्छ । साँघुरो बाटोमा  खच्चर आउला भन्ने डर पनि हुन्छ । भित्तातिर आफू अडिने ठाउँ भएन भने त खच्चरले  सिधै तल भिरमा धकेल्छ । थेन्लेको जस्तो नियती नहोस् भनेर कामना मात्रै गर्न सकिन्छ।  मैले कल्पना  गरेको थिएँ, पूरै चार घण्टा उकालो चढेपछि पहाडको टुप्पोको पछाडि होला अनुपम फोक्सुन्डो ताल ।🤔  

अचम्मको बाटो । 


          करिब १.५ घन्टाको उकालो पश्चात्  एक्कासी बाटो फराकिलो र समथर हुन्छ । लाग्छ म पहाड उक्लिएर  तराईमा प्रवेश गरेको छु । एक पटक चिमोटेर हेर्छु । विपना नै रहेछ । सबै जना  खुसीले गदगद हुन्छौं । शंकर सर त त्यो बाटो देखेर निकै अचम्मित पर्नुहुन्छ ।  बाटो निकै सहज हुन्छ । त्यही सुरुको उकालो मात्रै रहेछ अलि डर लाग्ने । फोक्सुन्डो तालमा पुग्छौं । तालको दृश्य निकै मनोरम देखिन्छ । त्यो निलो पानीको दृश्य अनुपम हुन्छ ।  सबै थकाइ बिर्सिन्छ। अघिको उकालो, भिर, चिप्लिने माटो, भोक, प्यास सबै बिर्सिन्छ । क्यामरा त बाटोभरी सकृय नै थियो । फोक्सुन्डोको  दृश्य देखेपछि त १० गुणा बढि फोटो खिच्ने रहर हुन्छ । फोक्सुन्डो तालको निलो पानी निकै निर्मल देखिन्छ । शान्त देखिन्छ । लाग्छ प्रकृति अशान्त हुने त मनुष्यले प्रकृतिलाई दु:ख दिएर मात्रै  हो । प्रकृतिको अन्तर्निहित गुण त तालको पानीजस्तै शान्त रहुनु हो ।                                                                                            मैले त त्यही ताल नजिकै घर बनाएर बसेको सपना देख्न थाल्छु । त्यो कठिन यात्रा पछिको यो तालको निलो दृश्य, निलो आकाश, हरियो पहाड, उत्तरको हिमाल र आकाशमा बादलको लडिबुडी  खेल देखेर निकै आनन्द हुन्छ । एउटा प्राप्तिको आनन्द । एउटा कार्यसम्पादन पछिको आनन्द । हावा चिसो हुन्छ । तर सिरेटो हुँदैन । यो मौसममा प्रकृतिले नै घुम्नको लागि निम्तो दिएको जस्तो भान हुन्छ । सबैका फोटोको यात्रा सुरु हुन्छ । क्लिक क्लिक क्लिक । सिङल, ग्रुप , सेल्फी । ड्रेस परिवर्तन गरी गरी, हातखुट्टा आदिको पोज मिलाइ मिलाइ फोटो खिच्न क्यामराले त्यो दिन थकाइलाग्दो जागिर पाउँछ । तालको दृश्य हरेक फोटोमा कुनै स्टुडियोमा गएर खिचेको जस्तो देखिन्छ । 😍

फोक्सुन्डोमा एक रात 

         राती चिसो हुने रहेछ । सिरेटो नै त नचल्ने रहेछ यो मौसममा ।  त्यो दुर्गममा पनि होटेल स्तरीय बनाएका रहेछन् । होटेल थोरै नै रहेछन् ।  हिमालयन होटेलमा बसेकोले ईन्टरनेट चलाउन पाइने रहेछ । साथीहरु फेसबुकमा "स्टोरी" राख्न थाल्छन्। लाइक र लभ रियक्टको वर्षात् हुन थाल्छ । म सामाजिक सन्जालमा सकृय नहुनाले फोटो हेरेर चित्त बुझाउँछु । त्यो रात पुर्णिामाको रात परेको हुन्छ । मेरो तिथि अनुसारको जन्मदिन पनि हो । कस्तो संयोग । जन्मतिथिमा फोक्सुन्डो तालमा ।  त्यो होटेलको मालिक वडाको अध्यक्ष रहेछन् । त्यहाँको धर्म सस्कृती भाषा भुगोलको बारेमा उनले भन्छन् । माथिल्लो डोल्पाको यात्रा त मेरो कल्पनाभन्दा बहिरको हुन्छ । त्यस्तो स्थानमा बस्न सक्ने डोल्पालीहरुलाई सलाम गर्न मन हुन्छ ।   तिब्बतसँग मिल्दोज्दो खाम भाषा बोल्ने रहेछन् । र बोन धर्म मान्ने रहेछन् । सबैका घाँटीमा जन्तरमन्तरजस्तो बाँधिएको हुने रहेछ ।" शे गुम्बाबाट शे फोक्सुन्डोको नाम रहेको रहेछ । जे भएपनि त्यो दुर्गममा स्तरीय होटेल सन्चालन गरेकोमा उनलाई मनै देखि धन्यवाद दिनै पर्छ । उनलाई पनि सहरले छोएको रहेनछ। हामीसँग पैसा नपुग नपुग जस्तै हुन लागेको थियो ।  । उनलाई त्यो कुरा भन्दा सहजताका साथ पछि दिनु भनेर भन्छन् । र पहिलेका यात्रीहरुको कथा भन्न थाल्छन् । त्यहाँ पनि "फोन पे" गर्न मिल्ने व्यवस्था रहेछ । त्यसैले पैसाको समस्या भने नपर्ने हुन्छ । 

फोक्सुन्डोबाट फर्किँदा । 


        बिहान चिया खाएर हामी केही समय ताल नजिकै बिताएर फर्किने निधो गर्छौ । फर्किँदै गर्दा बाटोमा एक जना बुढी आमाले हामी हिँड्दै गरेको देखेर आँखामा राख्ने औषधि माग्छिन्।  उनको त्यो आशा लाग्दो र माया लाग्दो हेराइलाई मैले वेवास्ता गर्न सक्दिन । झट्ट याद हुन्छ । मेरो टियर ड्रप्स । उनलाई मोतीविन्दु भएको स्पष्ट हुन्छ मलाई। तर उनलाई अपरेसनको लागि अस्पतालसम्म जानको लागि आग्रह गर्छु । र त्यो टियर ड्रप्स उनलाई दिन्छु। लाग्छ मैले उनलाई आँसु मात्रै दिन सकेँ । दृष्टि दिन सकिन । उनको आशामा त्यान्द्रो झुन्ड्याइदिएकोमा मलाई गर्व भने लाग्दैन । हल्का मन भारी भए पनि हामी सबै आफ्नो बाटो लाग्छौँ ।    जस्तो उकालो छ, ओरालो पनि उस्तै हुन्छ भन्ने डर हुन्छ । तर ओरालो सोँचेभन्दा सजिलो हुन्छ हामीलाई । ओरालो झर्दा मेरो गति भने कछुवाभन्दा सुस्त देखेर भाइहरुले भिडियो सम्म खिच्न भ्याउँछन्। तर जोसैजोसमा त्यो ओरालोमा दौडिने दुस्साहस भने गर्न सक्दिन म ।ओरालो झर्ने क्रममा अलि अलि सिमसिम पानी पर्छ । ठुलै पानी पर्ने हो कि भनेर संकेत गरेको पनि हुन सक्छ । तर ठूलो पानी पर्दैन । बरु पानीको छिटा परेर धुले माटोको बाटो अलि आडिलो पो हुन्छ । फेरि परमात्माकै कृपा भन्ने कि प्रकृतिको कृपा !! भौगोलिक तथ्य मान्ने हो भने डोल्पा जिल्लामा ठूलो पानी पर्दैन रहेछ।  ओरालो झरेर पुनः त्यही झरना होटेलमा खाना खाने गरि पुग्छौं । पुनः उनीहरुको आतिथ्य भाव देखेर म प्रभावित हुन्छु ।                                                                                        छेप्कासम्मको गन्तव्य लिएर हामी हिँड्छौ । साँझ अँध्यारो नहुँदै छेप्का पुग्छौं । र त्यही फोक्सुन्डो जाँदा चिया खुवाएर आफ्नो मनको आयातन देखाउने न्यु वेल्कम होटेलमा बास बस्छौं । त्यसपछि सुरु हुन्छ यात्राको सबैभन्दा रमाइलो क्षण । होटेलको दिदी स्पष्ट बोल्ने, ठ्ट्टा गर्ने , मिजासिलो , टाठी र रमाइलो गर्ने रहिछिन्। लोग्नेलाई निकै जिस्काउने रहेछिन्। लोग्ने भने निकै शान्त बस्ने सहनशील नै रहेछन् । उनलाई ८ वर्ष पहिले टि बि भएको रहेछ । तिनलाई श्वास फेर्न कठिन हुने रहेछ । पहिलेका कागजहरु हेरेर केही औषधि लेखिदिन्छौँ।                                                                                                            ती दिदीले आफ्नी छोरीलाई टिचिङ अस्पतालमा केही वर्ष पहिले भर्ना गर्ने क्रममा भोगेका घटनाहरुलाई निकै सहजताका साथ जस्ताको तस्तै वर्णन गर्दा हाम्रो मानसपटलमा टिचिङ अस्पताल पुरै घुमिरहन्छ । उनको कथा सुनेर पनि लाग्छ कि टिचिङ अस्पतालमा भर्ना गर्नु फलामको चिउरा चपाउनु सरह हो । टिचिङ हस्पिटलको एमर्जेन्सीको वर्णन सुन्दा त आफू त्यहाँ काम गर्दाको क्षणहरु झल्झली याद आउँछन् । पढ्ने लेख्ने वातावरण पाएको भए ती दिदी पक्कै वकिल बन्थिन् भन्ने सदासयता प्रकट गर्छु मैले । उनको ठट्टा गर्ने स्वभावले वातावरणमा पुरै रौनक छाउँछ ।  धेरै बोलेको सुनेर श्रीमानले भन्छन् " मलाई सासू बुहारी धेरै कराएर डिप्रेसन भाको हो। " हामी गलल्ल हास्छौँ । 
उनले भोटे चिया पकाएर खुवाउँछिन्। हल्का गन्ध आउने भएर सबैलाई मीठो नलाग्न सक्छ । मलाई पनि मीठो लागेन । तर  उनको सम्मान गर्नलाई भएपनि त्यो सबै पिउँछु। 

यात्राको अन्तिममा सकस 

       धेरै नै जोशका साथ छेप्कासम्म आएर बास बसेका थियौं । बिहान हिडेर आरामले  ५ घण्टामा दुनै अस्पताल पुग्ने अनुमान हुन्छ । लौरोको साथ, यात्राको उपलब्धी, यथेष्ट आराम,  बिहानको समय सबैले गर्दा यात्रा सजिलै कट्ने अनुमान गर्छु। तर पहिलोदिनको बाटो सबै बिर्सेको रहेछु। बाटो त उकालो र ओरालोले भरिपुर्ण  हुन्छ । स्याङ्टासम्म मलाई केही समस्या हुँदैन । त्यसपछी हल्का घुडा दुख्न थाल्छ । काग्निमा पुगेर एउटा घरमा बस्छौं । डा शंकरले चिनेको हुनाले बडो आतिथ्यभावका साथ आदर गर्छन् । चाउचाउ, चिया, काक्रो, छुर्पी, स्याउ सबै खान्छौँ । चिया भने मलाई निकै स्पेसल लाग्छ । जडिबुटीको चिया एकदम मीठो हुने । त्यसलाई "घोडेताप्चा" भन्ने रहेछन् । त्यसपछि हामी हिँड्छौ। सुलिगाडबाट मेरो घुडा खुम्चाउन निकै गार्हो हुन्छ । मेरो गति कछुवाको भन्दा पनि कम हुन्छ । लौरोले टेक्दै खुट्टा सार्दै हिड्छु। म हिँडेको देखेर भाइहरुलाई निकै पट्यार लाग्छ । तर पनि छोड्न सक्दैनन् । कछुवाको गति चिप्लेकिराको गति भन्दा पनि कम हुँदा कसलाई पट्यार लाग्दैन र ! 😂 जे होस् उनीहरुको आत्मामा हरिको बास रहेछ भनेर बुझ्छु ।                                                                                                              म अलि गति लिन खोज्छु । तर घुँडाको भित्री भाग दुखेर गति कम गरिहाल्छ । १ बजे पुग्नुपर्ने दुनै अस्पतालमा । बल्लतल्ल ३ बजे पुगिन्छ । खाना खाइसकेपछि म लम्पसार पर्छु बेडमा ।  अर्को दिनको फ्लाइटलाई पर्सिको दिनलाई सार्नको लागि डा अखण्डलाई अनुरोध गर्छु । जिउ दुखेकाले दुईवटा सिटामोल खान्छु । त्यसपछि कुन बेला भुस हुन्छु पत्तो पाउन्न । आकर्षण र रिसब पर्सिको  बिहानै ३:४५ मा मलाई बसपार्क सम्म छोड्न हिँड्छन् । जिप चढेपछि मात्रै अस्पताल फर्किन्छन्। त्यसैले यात्राको सुरु देखि अन्त्यसम्म उनीहरु मेरा निम्ति विशेष धन्यवादका पात्र हुन् । 
जिपमा बस्छु । तर ६ जना नभएसम्म गाडी नहिँडाउने रहेछन् । भाग्यवश एक जना स्थानीयले बुवालाई काठमाडौ लैजान पर्ने हुनाले  पुरै गाडी नै रिजर्ब गरेर ड्राइभरलाई हिँड्न बाध्य गराउँछन्। । म पनि खुसी हुन्छु । तर मेरो खुसी केही क्षणमै डरमा परिणत हुन्छ । ड्राइभरले आफ्नो प्रेमिकासँग फोनमा कुरा गर्दै दुनैदेखि जुफालसम्म एक हातले जिप चलाउँदा मैले "शिवोहम्" धेरैपटक जप्छु ।🙃 बायाँ  हातले स्ट्यरिङ , त्यही हातले गियर चलाउँदै जिप रन्काउँदा त पुलिसलाई खबर गरुम् जस्तो पनि लाग्छ मलाई । जुफाल पुगेपछि भने बल्ल चयनको सास लिन्छु । ड्राइभरलाई पनि मेरो मुटु हल्लाउँदै ल्याएकोमा ठट्टा गर्दै भन्छु " भाइ । एक हातले अँध्यारोमा गाडी चलाएर खङ्रङै पार्यौ । आफ्नोभन्दा धेरै माया भएन र गर्ल्फ्रेन्डलाई !! " 🤣🤣               

लेक लाग्ने डर                                                                                                  फोक्सुन्डो यात्रामा जाँदा लेक लाग्न सक्ने सम्भावना त हुन्छ नै । छिटो गतिमा धेरै उचाइ उक्लियो भने लेक लाग्न सक्ने हुन्छ । कसलाई लेक लाग्छ भनेर भन्न सकिन्न । जस्तोसुकै मैँ हु भन्नेलाई पनि समस्याले छुन सक्छ । आक्रान्त बनाउन सक्छ। त्यस्तो दुर्गममा लेक लाग्यो भने कस्तो तनाव हुने होला ! कल्पना गर्दा नै कहालीलाग्दो हुन्छ । फेरि पनि उहि परमात्माको कृपा भनेर विस्वासले आगाडी बढ्ने त होला ।  नभन्दै हामी फोक्सुन्डोबाट फर्किएपछी अर्को टोली ट्रेक गर्न  हानिएको रहेछ । त्यसमध्येका एक जनालाई छेप्काबाटै लेक लाग्न सुरु गरिसकेको रहेछ । पछि बेस्मरी च्यापेछ । अक्सिजनको  मात्रा निकै कम भइसकेको रहेछ । होस हराउने विन्दुमा पुगेको थियो ।  उसलाई पहिले पनि लेक लाग्ने समस्या भएकोले सावधानी अप्नाउन पर्ने थियो । त्यसरी हावा तालमा हिँड्नु  पुर्ण हेलचेक्राँइ थियो । धन्न ज्यान जोगियो भनेर खुसी हुनुपर्ने भएछ । त्यो Acetazolamide भन्ने औषधी यात्रा प्रारम्भ गर्नु एक दिन अगावै लिएको खण्डमा लेक लाग्नबाट ७५ प्रतिशत व्यक्तिहरुलाई  जोगाउन सकिन्छ । वाक्वाकी लाग्नु, उल्टी हुनु, चक्कर लाग्नु, निद्रा बढी लाग्नु, श्वास फेर्न कठिन  हुनु सबै लेक लाग्नुका लक्षण हुन् । लक्षणहरु राम्रोसँग चिन्न नसकेमा भवितव्य निम्तिन सक्ने हुन्छ । त्यसैले घमण्ड नगरौँ, लेक लाग्नबाट होसियार होऔँ । 

धन्यवादका पात्रहरु 

यात्रामा साथ रहेका सबै साथीहरु विशेष धन्यवाद। अध्यात्मका गफले पकाउन खोजे पनि सुनिदिने शंकर सर , सुस्त हिँड्दा पट्यार लागेपनि साथमा हिँड्ने आकर्षण र रिसब, फोटोको महिमा सिकाउने साह सर सबैप्रति आभार छ । गफले चाटेर भएपनि हँसाउने "बोल्ड" स्वभावका प्रसन्न धन्यवादका पात्र हुन् । भनिन्छ यात्राको सुरु र अन्त्य ले यात्रा पुर्ण हुन्छ । त्यसैले यात्रालाई पुर्णता दिने  अविस्मरणीय  डा अखण्ड मुरीमुरी धन्यवादका पात्र हुनुहुन्छ । कामना छ एक दिन डोल्पा जिल्लाले उहाँलाई स्थायी चिकित्सकका रुपमा पाउने  सौभाग्य प्राप्त होओस् । डढेर कालो बनाएकोमा सुर्यलाई पनि धन्यवाद दिनै पर्छ । सन स्कृनको महत्व सिकाएकोमा । अन्त्यमा  मेरो  मनप्रिय साथीको  अस्तित्वको महसुस निरन्तर हुनाले यात्राभरी एउटा उर्जा निरन्तर भइरहन्छ । जीवन रंगिन हुन कसैको अस्तित्वको कल्पना  हुनु नै काफी हुन्छ भने वास्तविकतामा हुनु कति रमाइलो हुँदो हो । हामी फर्केको दिनबाट  हल्का सिमसिम पानी परेकोमा म घर फर्किएपछी अलि पानी धेरै परेकोले यात्रा सहि समयमा सुसम्पन्न भएकोमा परमात्माप्रति कृतज्ञता प्रकट गर्नैपर्छ ।   😊😊

Comments

  1. पैदल हिड्दा नयाँ यात्रीलाई यो सानो भए पनि जिवन्त स्मरण वास्तविक कथाले समय काट्न मद्दत गर्छ पक्कै, यस्तै डोरि बाट्तै जान हुन अनुरोध साथ कर्ता श्रोता सबैलाइ धेरै धन्यवाद ।जय होस।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......