उनको रिप्लाइ ।

शिष्टाचार र मनको खेल । 
कसैले आफुलाई वास्ता गरेको छैन भने कुरा गरिरहन मुनासिव हुँदैन । उनले पनि मलाई कत्ती वास्ता गरिनन्। फोन नम्बर सम्म दिन अप्ठ्यारो मान्नेसँग कुरा गर्ने मन त हुँदैन । सधैं आफै कुरा गर्ने प्रायास गर्नुले एकतर्फी प्रयासको विफलता जनाउँछ । त्यसैले म लागिरहन मन हुँदैन । उनको भाग्यमा अरु नै  कसैको स्थान लेखिएको  हुनपर्छ भनेर मेसेज गरिन। उनीसँग नबोल्ने निश्चय दृढ भयो  मेरो । दुई दिन बित्यो, उनको कुनै खबर आएन । समय मिलेन भनेर सोच्ने हो भने सानो मेसेज गर्न कति नै समय लाग्ने थियो र ! वास्तविकतामा भन्नुपर्दा म कुनै प्राथमिकतामा परिन । 

म पनि अब आफ्नो कामको सुरमा लागिसकेको थिएँ । मनमा विचार आयो । " कोही मान्छे किन हेर्दा मनले खान्छ तर व्यवहारमा मिल्दैन । व्यवहार कति राम्रो भएको मान्छे आकर्षक नहुने हुन सक्छ । मन नै वैरी हो । आकर्षण नभएसम्म मन पग्लिन्न ।  मनको आकर्षण हुन लामो समय साथमा संगत गर्नुपर्छ होला। त्यसपछि न कपाल न शरीर न अनुहार। वास्तवमा व्यवहारको मात्रै हिसाब हुन्छ । यो हिसाब गर्न दिमागले कहिल्यै नछोड्ने नै होला है  । " तर यहाँ उनको मनलाई कसरी वैरी भन्नू । चित्त नबुझे बुझेन । आफूलाई वास्ता नगर्ने केटीलाई धेरै फकाउने प्रयास  गर्नु खासमा बुद्धिमत्ता होइन। एक जना साथीले भनेको थियो " जीवनमा आफूलाई मन पर्ने साथी भएन भने आफूलाई मन पराउनेसँग जीवनको भविष्यको कल्पना गर्नु उत्तम हुन्छ। किनभने उसले आफूलाई कहिल्यै छोड्दैन । " हुन त यस्ता दर्शनका कुराले  जीवन  संतोषी बनाउने मात्रै त हो । 

 मैले फकाउने प्रयास गर्न चाहिन । त्यो म जान्दिन । र उनी पनि त्यस्तो क्रियाकलाप रुचाउने जस्तो लागेन मलाई । समयले इच्छा नगरेको कुरामा जोड गर्नु खास राम्रो कुरा होइन ।  आफ्ना विचारहरुलाई मन्थन गरेर चित्त शुद्ध गर्ने प्रयासमा लागेँ । अर्थात् उनका अवशेष मेटाउनमा लागेँ । 

मैले त उनीप्रति आफ्नो केही भावना राखेको थिएँ। त्यसलाई " Interest " अर्थात रुचि भन्छन् होला ।  मप्रती उनको रुचि नहुनाले मैले उनलाई सम्पर्क नगर्ने निश्चय गरेँ । मप्रती रुचि राख्ने कतै त हुनैपर्छ नि। कसैको जिवनमा धेरै ठोक्किन जानु Noise हो । म सधैँ music मात्रै हुने प्रयास गर्छु । कसैप्रति अनुराग हुनु नहुनु  व्यक्तिगत कुरा हो । उनको अनुरागको पात्र अझै समयले जुराइसकेको  छैन । पुनः समयलाई जिम्मामा छोड्छु ।  उनले सम्पर्क गर्न नखोज्नु मलाई " Noise" मानेकी हुनुपर्छ । यति विचार मन्थन गरेपछि मेरो मन हल्का भयो । फेरि चङ्गा भएँ । केही गुमेको महसुस भएन । "शिवोहम शिवोहम्" 
एक जना साथीलाई पनि आफ्नो कुरा सुनाएँ ।  ऊ सधैं यति सकारात्मक हुन्छ कि मन खुसी बनाउने उपाय खोज्न  उसलाई भेट्न पर्छ । नभन्दै उसले भन्यो " समय मिलेन होला। फोन नलाग्ने भएर पो हो कि । आशा राख्नुपर्छ । " 

मैले भनेँ " कुरा त सहि हो । तर आशा भनेको मनको भ्रम हो। भ्रम कुनै वेलामा सुखदायक पनि हुन्छ । र दु:खद पनि हुन सक्छ । " 

 हाम्रो कुरा नभएको तेस्रो दिन भयो। मलाई उनको आश थिएन । तर खै के अचम्म भएछ " तपाईं राम्रो लेख्नुहुँदो रहेछ भनेर मेसेज गरेकी रहेछिन्। "तपाइँको इन्स्टा स्टक गरेकी थिएँ । " भनेर ठट्यौली  भावमा पनि लेखेकी रहेछिन्। म बडो कन्फुजनमा परेँ । 

भर्सेला परोस् । एकतर्फी अनुरागलाई सफल पार्ने प्रयास गर्दिन । उनले यत्तिकै पठाएको मेसेज हो । म पुनः आफ्नै मनको खेलमा पर्दिन भनेर दृढ भएँ । तर त्यन्द्रोजतिको  खुशी नलागी पनि बस्न सकिन । उनको थोरै भएपनि भावना नमिसिएको मेसेज थियो ।  पठाइहालम् न भनेर पठाएको मेसेज थियो भनेर  थाहा हुँदाहुँदै पनि मलाई किन अलि अलि खुसी लागेको ? मनको खेलमा म हारेँ । केही खुसी,  केही शिष्टाचार, केही विस्वास आदि कुरालाई केलाउँदा शिष्टाचारलाई भएपनि धन्यवाद भनेर भन्ने निर्णय गरेँ । "Thank you". 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा