समाजका भलादमीको लिङ्ग पहिचान ।
अस्ति कहिले हो अस्पतालमा घुम्दै थिए एक जना
बडो समाजसेवी र गुणवान बन्दै र भन्दै
दीन दुखी र गरिबको आँसु पुछ्ने मसिहा बन्दै
हेर्दा निकै भलाद्मी देखिन्थे चस्मा र कोटले
हरेक लाइन मिच्दै हिँड्थे ठाँटबाटले
ओ पि डिको लाइन, फार्मेसीको लाइन, प्रशासनको लाइन ।
अपांग , बृद्द, बेसाहरा भन्दै साहारा दिन खोज्ने
ध्येय भने आफ्नो पनि बिमाबाट औषधी लेखाउने ।
हिजो कता हो भिडियो एक्स रे वर पर घुम्दै थिए भ्रुणहत्या गर्नु पाप हो भन्दै कुर्लँदै थिए
लिङ्ग पहिचान अपराध हो भन्दै उर्लँदै थिए
भ्रुणलिङ्गको भेद भन्ने चिकित्सकलाई
चुट्नुपर्छ भन्दै मच्चिने भलादमी बन्दै थिए ।
आज पुन: अस्पताल परिसरमा देख्छु
एउटी लजालु अबोध कन्याको साथमा ।
नजिक आएर सानो स्वरमा साउती गर्छन्
" डाक्साप डाक्साप ..... .........."
१६ वर्षे जवानीमा १४ हप्ताको वयस्क भ्रुण
भलादमीपनको राप र तापमा
फुटवलजस्तै खेल्न आतुर त्यो निर्दोष भ्रुण
भलादमीपनको आहालमा तुहाइन खोजिँदै छ ।
हिजोका लिङ्गभेद खोल्ने पापी चिकित्सकलाई
आफ्नो इज्जतको उद्दार गर्न गुणवान बनाइँदै छ
आज लिङ्गभेदको अपराध ओझेलमा छ
कानून बेखबर छ
केवल इज्जत र चरित्र रक्षा कथामा छ ।
सोच्दै छु " भलदमीपनको लिङ्ग चाहिँ के होला ? "
(नोट: भ्रुणको लिङ्ग पहिचान सर्वथा सर्वथा अपराध हो )
Comments
Post a Comment