अस्पतालको ध्वनिशास्त्रमा पि एच् डि ।



अस्पतालको ध्वनिशास्त्रमा पि एच् डि । 

कडा ओछ्यान अर्ध कडा सिरानी
कुर्दै छु म निद्राको सवारी
पल्टिँदै गर्दा आफ्नो मन भित्र
जीवनको खाली गाग्री बज्छ
बाहिर कता हो सिलिन्डर ट्याङ ट्याङ बज्छ
मान्छेको कर्कश स्वर सुनिन्छ
बेड सार्छन्  घर्याक्क घर्याक्क
ढोका छोड्छन्  ड्ड्याम्म डड्याम्म
कता सुदुरमा मोटरको घररर
एकाएक मनिटरको टुँ टुँ टुँ
खोक्दै गरेको ख्याक्क ख्यक्क आवाज ।
बाल्टीन सार्दा प्लास्टिकको चरचर
व्हिल चेयर( wheel chair) धकेल्दा पाङ्राको च्वाइँच्वाइँ
बेला बेला मान्छेको झ्याइँ झ्याइँ
ट्रली गुडाउँदा खट्याङ खट्याङ
एकाएक फोनको घन्टि टिरिङ  टिरिङ ।
यस्सो सुस्ताउनै लाग्दा
माइकिङमा आकाशवाणी हुन्छ,
अन ड्युटी डाक्टर वार्डमा सम्पर्क गर्नुहोला ।

यस्ता मीठा प्रकृतिका आवाजमा
के पाउलान् त मेरा नयनले एक क्षण विश्राम ?
ध्वनि र आवाजको खानी मेरो अस्पताल
यो जुनीमा केही क्षण शान्त होला र ?
थाह भएन हातमा के पर्छ डिग्रीको कागज
ध्वनिशास्त्रमा  पि एच् डि त अवश्य होइन्छ ।
विश्राम मेरो प्रभु !  विश्राम !
खै किन हो
अस्पताल प्रभुले प्रार्थना  सुन्नुहुन्छ
एकाध घण्टा नयन लोलाउँदै
विश्राम गर्छन् ।
अवचेतन मस्तिष्कले सवेरै झसङ्ग उठाउँछ ।
नित्यकर्म आदि गर्न आङ तन्काउँछु,
शरीर रन्काउँछु  , हलुका बनाउँछु ।
अहो । धारामा पानी सुकेको रहेछ ।
तर बालुवाटारकै आँखा परेको रहेछ ।
एउटा अट्टहास सुन्छु म
फर्केर हेर्दा वीर शम्शेर देख्छु म ।

उहि अवाजप्रेमी डाक्टर ।
प्रतिनिधि पात्र: मेडिकल अधिकृत / रेजिडेन्ट
समय: रातको १ बजे
स्थान: वीर अस्पताल ।
प्रेरणा : नेपाल सरकार ।





Comments

Popular posts from this blog

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

हस्ताक्षर मनोवाद ।