के नेपालमा फिजिसियन छैनन् ?
के नेपालमा फिजिसियन छैनन् ?
ओपिडीको व्यस्त समयमा
मुगुबाट एक अधबैँसे महिलाको प्रवेश हुन्छ
साथमा छन् उमेर छिप्पिएका बूढा
२७ हजार खर्चिकन आएकी उनीसँग
दुई बात मार्ने प्रयास गर्छु ,
सुदूरका समस्या खोतल्ने प्रयास गर्छु ।
आज उनको हातमा बिमाको रेफेरल छ
टिकेट छन् ५-६ वटा विभागका
समस्या ५ ओटा हुन् कि टिकेट मात्रै ५ गोटा !!
काउन्टरले टिकेट काटिदिएछ
मुटुको , फोक्सोको , नशाको ,
सुगर तथा हर्मोनको
बाथको, रगतको , स्नायुको ।
पूरै ७ ओटा विभाग चाहर्छन् उनीहरु
तर कतै देखिन फिजिसियनको टिकेट ।
कहिले पहिलो तल्ला कहिले दोश्रो तल्ला
आज पुरानो भवनमा , भोलि नयाँ भवनमा ।
सेतो कोट लगाउने, टाइसुट लगाउने
घाँटीमा परिचयपत्रको माला भिर्ने
हेर्दा कर्मचारी देखिने , सुकिलामुकिला देखिने
सबैसँग सोधेर सात ओटै विभाग दर्शन गरेछन् ।
रोग त कतै पत्ता लागेनछ क्यार!
सोधे " मलाई के भाको, डाक्टरसाप ?"
इतिहास पुनः छाम्ने प्रयास गर्छु म
मनको समस्या गहिरो रहेछ उनको
कहाँबाट रिपोर्टहरुको भिडमा भेटियोस् !
मैले पनि रेफरल लेख्छु,
Referred to Psychiatry OPD !!
केही प्रश्न भने उठ्छन् ,
के नेपालमा फिजिसियन छैनन् र ?
कि फिजिसियन बन्दैनन् डाक्टर ?
वा फिजिसियन बन्ने वातावरण छैन ?
डा शम्भु खनाल
Comments
Post a Comment